Incident Reports

मेडिकल कलेजका विद्यार्थी थुनेरै कुटिए, कलेजबाटै ज्यान मार्ने धम्की !

2019-10-24

Madhes, Parsa, Birgunj

सरकारले तोकेको भन्दा बढी अशुलेको शुल्क फिर्ताको माग गरेका नेशनल मेकिडल कलेज एण्ड शिक्षण अस्पतालको एमबिबिएस तहमा अध्ययनरत विधार्थीलाई कलेज व्यवस्थापनले कुटपिट गरेको छ ।

व्यवस्थापनकै निर्देशनमा कलेज बाहिरका मान्छेले कुटपिट गरेको विद्यार्थीहरुको आरोप छ । साथै ज्यान मार्ने धम्की समेत दिएको उनीहरुले बताएका छन् । शुल्क फिर्ताको माग गर्दै बिहीबार विद्यार्थीहरु कलेज परिसरमा भेला भएका थिए । तर कलेज व्यवस्थापन पक्षले बोलाएका बाहिरका मान्छेहरुले बियरको बोत्तल र इट्टाले समेत प्रहार गरेको उनीहरुको भनाइ छ ।

केही विधार्थीलाई नियन्त्रणमा लिएर कुटपिट गरेको पहिलो वर्षमा अध्ययनरत अक्षय साहले बताए । ‘अतिरिक्त शुल्क फिर्ता गर्नुपर्यो भनेर हामी कलेजको गेटमा भेला भएका बेला बाहिरका गुण्डा लगाएर हामीमाथि इट्टा र बियरको बेत्तल प्रहार गरियो,’ पहिलो वर्ष अध्ययनरत अमित यादवले भने । उनका अनुसार एकजनालाई जबर्जस्ती नियन्त्रणमा लिएर कलेजभित्रै थुनेर कुटपिट पनि गरिएको छ ।

नेशनल मेडिकल कलेजका विधार्थीको समर्थन गर्न चितवन मेडिकल कलेजबाट आएका विद्यार्थी आशुतोष झालाई कलेजमा थुनेर कुटपिट गरिएको विद्यार्थीले बताएका छन् ।

‘कलेजको गेट बाहिरको पसलमा रिचार्ज कार्ड किन्दै गरेका बेला दुई÷तीन जनाले जबर्जस्ती घिच्याउँदै कलेजभित्र लगेर आधा घण्टा नियन्त्रणमा राखे,’ त्रसित मुद्रामा झाले भने, ‘भित्र लगेर मलाई आधा घण्टा राखे, मेरो अभिभावकको नाम र फोन नम्बर मागे, त्यही बेला प्रहरी पुगेपछि मलाइ छाडियो ।’

कलेजभित्र थुनेर कुटपिट गरिएका झाको घाँटीमा रातो डाम बसेको र उनले लगाएको टिसर्ट पनि च्यातिएको देखिन्छ ।

विद्यार्थी सडकमा

कलेज व्यवस्थापनबाटै कुटपिट भएपछि विरोधमा विधार्थीले बिहीबार वीरगन्जमा नारा जुलुश लगाउँदै प्रदर्शन गरेका छन् । कलेज परिसरबाट निस्किएको विरोध जुलुशमा सहभागी कलेजका विधार्थीले बसपार्क, लिंकरोड, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु चोक, विर्ता, घडीअर्वाको परिक्रमा गरेर घण्टाघर चोकमा पुगि कोणसभा पनि गरे ।

जुलुशमा सहभागी विधार्थीले ‘शिक्षा माफिया मुर्दावाद’, ‘अतिरिक्त शुल्क फिर्ता गर’, ‘विद्यार्थी कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए । विरोध प्रदर्शनमा चितवन मेडिकल कलेजबाट आएका विद्यार्थीले पनि ऐकवद्धता जनाएका थिए ।

प्रदर्शनमा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा एवं चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द, प्रवक्ता नरेश भट्ट, सदस्य मान्यता थापा सहित चितवन मेडिकल कलेजमा अध्ययनरत १५ विद्यार्थी पनि सहभागी थिए ।

विद्यार्थीलाई ज्यान मार्ने धम्की !

कोणसभामा समितिका संयोजक प्रकाश चन्दले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले नै ‘गुण्डाहरु’ बोलाएर विधार्थीलाई कुट्न लगाएको बताए ।

मेडिकल कलेजका सञ्चालक समेत रहेका बसरुद्धिन अन्सारीलाई मेडिकल माफिया र गुण्डाको संज्ञा दिँदै प्रकाशले भने, ‘वीरगन्जको नेशनल मेडिकल कलेजमा गुण्डा पालिएको छ, त्यहाँ गुण्डाराज नै छ, जायज माग राख्दा बसरुद्धिन आफैँले विधार्थीलाई हात हाले, त्यसपछि उनका गुण्डाहरुले कुटे ।’

बसरुद्धिन अन्सारीले विद्यार्थीलाई ज्यान मार्ने धम्की पनि दिएको प्रकाशले बताएका थिए । प्रकाशले भने, ‘बसरुद्धिनले ज्यान मार्ने धम्की दिएका छन्, अब यसको जवाफ सरकारले दिनुपर्छ । बसरुद्धिन सत्तारुढ दल नेकपाका नेता समेत हुन् ।’

बसरुद्धिनकै कारण विद्यार्थीको ज्यान जोखिममा परेको उनले बताए । नेशनल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्क बाहेक १३ लाख ३५ हजार रुपैयाँ अतिरिक्त शुल्क लिँदैआएको छ ।

२०७५ असोज २८ गतेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस तहका कार्यक्रमका लागि काठमाडौं उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Parsa

0 Comments