Incident Reports

प्रहरीकाे कुटाइबाट आफन्तकाे ज्यान गएकाे भन्दै प्रदर्शन, डाेटीकाे गैरा बजार तनावग्रस्त

2019-11-27

डोटी – डोटीको घण्टेश्वर प्रहरी चौकीका रहेका आफ्नो मान्छेको प्रहरीको कुटाइबाट ज्यान गएको आरोप लगाउँदै स्थानीवासीले अवरोध गर्दा गैरा बजार तनावग्रस्त भएको छ । 

मृतकका आफन्तहरुले अहिले गैरा बजारको बीच सडकमा टायर बालेर यातायात सेवा अवरोध गरेका छन् । अवरोधका कारण अहिले गैरा बजारमा पहाडी जिल्लाबाट तराई जाने तथा तराईबाट पहाड आउने दर्जनौँ सवारीसाधन अलपत्रमा परेका छन् । 

मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा घण्टेश्वर प्रहरी चौकीका प्रहरीले जोरायल गाउँपालिका १ गैराका २१ वर्षीय जीप चालक गणेश पालीलाई आइतबार नियन्त्रणमा लिएको थियो । 

प्रहरी नियन्त्रणमा रहेका मृतक पाली शौचालय गएका र त्यहाँ उनले नाम नखुलेको दुई वटा क्याप्सुल (औषधि) सेवन गरेको प्रहरीले जनाएको थियो । उनलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेलधुरा लैजाने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रहरीले गणेशलाई मार्नुपर्ने कुनै कारण छैन, उनी आफ्नै कारणले मरेका हुन्, उनको पोस्टमर्टम रिपोर्टबाट सबै प्रमाणित हुन्छ ।’ 

मृतकका बुवा तेजबहादुर पालीले प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरु शंकर खड्का तथा दीपक सान्तको कुटाइबाट आफ्नो छोराको ज्यान गएको आरोप लगाउनु भएको छ । 

प्रहरी चौकीमा चालकको ज्यान गएको विषयमा एउटा छानबिन समिति पनि गठन भएको छ । मृतकका घरपरिवारले प्रहरीको कुटाइबाट गणेशको ज्यान गएको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कर्णबहादुर बोहराको नेतृत्वमा तीन सदस्यीय छानबिनसमिति गठन भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार समितिमा प्रहरी निरीक्षक कर्णबहादुर बोहरा, मुद्दा फाँटका प्रहरी नायब निरीक्षक (सई) देबहादुर कुँवर तथा राष्ट्रिय अनुसन्धानका अनुसन्धान सहायक शेरबहादुर बोगटी रहेका छन् । 

गणेशलाई कुटपिट गरेको आरोप लागेका प्रहरी जवानहरु शंकर खड्का तथा दीपक सान्तकाविरुद्ध मंगलबार मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी दिएका छन् । 

मृतक पालीको शव पोस्टमर्टमका लागि अहिले पनि उपक्षेत्रीय अस्पताल डडेलधुरामा राखिएको छ । मृतकका आफन्तहरु पोस्टमर्टमका लागि अस्पताल नगएका कारण पालीको पोस्टमर्टम हुन नसकेको हो । 

गैरा बजारमा तनाव देखिएपछि थप प्रहरी खटाइएको डोटी प्रहरीले जानकारी दिएको छ । स्थानीयले किटानी जाहेरी गरिएका प्रहरी जवानविरुद्ध कारबाही नगरिए बिहीबारदेखि अनिश्चितकालीन डोटी बन्द गर्ने चेतावनी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments