Incident Reports

पार्कमा डम्पिङ साइट ! स्थानीयद्वारा चर्को विरोध

2019-12-11

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 9

भक्तपुर : धार्मिक स्थल नीलबाराही मन्दिर परिसरमा इको पार्क भन्दै डम्पिङ साइट बनाउन लागेपछि मध्यपुर थिमि नगरपालिका–९ टिगनीका बासिन्दा विरोधमा उत्रिएका छन्।

मध्यपुर थिमि नगरपालिकाले सुरुमा नीलबाराही मन्दिर परिसरमा इको पार्क बनाउने योजना अघि सारेको थियो। रोटरी क्लब अफ मध्यपुरमार्फत जापानको रोटरी क्लब अफ फुकुवका साउथ इस्टले उक्त पार्क बनाउन आर्थिक तथा प्राविधिक सहयोग गरेको छ।

सुरुमा इको पार्क बन्ने भएपछि खुसी भएका स्थानीय अहिले डम्पिङ साइट बनाउन थालेपछि विरोधमा उत्रिएका हुन्। मध्यपुर थिमि नपाले जापानस्थित रोटरी क्लबको एक करोड आठ लाख र आफ्नो एक करोड लागतमा करिब पाँच टन क्षमताको डम्पिङ साइट बनाउन लागेको हो। उक्त साइट निर्माणसम्बन्धी मंगलबार भक्तपुर नपा–३ बाराहीस्थानस्थित होटल हेरिटेजमा छलफल कार्यक्रमसमेत गरिएको थियो। नपाले निर्वाचित जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि र नपाका प्रवुद्ध व्यक्तिहरूको उपस्थितिमा उक्त योजनाबारे छलफल चलिरहेकै बेला होटल बाहिर स्थानीयले विरोध प्रदर्शन गरे।

उनीहरूले नीलबाराही क्षेत्रको वन तथा वातावरणलाई प्रभाव पार्ने गरी डम्पिङ साइट बनाउन नदिने चेतावनी दिए।

मध्यपुर थिमि नपाले डम्पिङ साइट बनाउन लागेको क्षेत्र काठमाडौं उपत्यकावासीले खानेपानी प्रयोग गर्दै आएको मुहान क्षेत्रसमेत हो। उक्त योजना निर्माण गर्ने क्षेत्रबाट करिब २० मिटरको दूरीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका इनार छन्। त्यस्तै एकसय मिटर दूरीमा खानेपानी प्रशोधन केन्द्र छ।

नीलबाराही क्षेत्रमा फोहर व्यवस्थापन गर्दा त्यसले उपत्यकावासीले उपभोग गर्दै आएको खानेपानी नै दूषित हुनसक्ने स्थानीय सानुकाजी राजवाहकले जानकारी दिए।

डम्पिङ साइट निर्माण गर्ने प्रसंग उठेदेखि स्थानीयले विरोध गर्दागर्दै पनि नपाले जबरजस्ती योजना लाद्न खोजिरहेको अर्का स्थानीय विष्णु खड्काले गुनासो गरे।

उनले स्थानीयको सहमतिबिना नीलबाराही मन्दिर परिसरमा डम्पिङ साइट बनाउन नदिने जिकिर गरे। त्यस्तै नीलबाराही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नीलबबहादुर खड्काले समितिलाई जानकारी नै नदिई नपाले वन क्षेत्रमा डम्पिङ साइट बनाउन लागेको भन्दै आपत्ति जनाए।

सरकारले घोषणा गरेको एकसय पर्यटकीय गन्तव्यमा नीलबाराही मन्दिर परिसरलाई पनि समेटेको छ।

सिसडोलजस्तै हुँदैन : प्रमुख श्रेष्ठ

नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भने नीलबाराही मन्दिर क्षेत्रमा समस्याको रुपमा रहेको भूक्षय नियन्त्रण गर्दै इको पार्क बनाउन सुरुमा फोहरलाई व्यवस्थापन गरिने स्पष्ट पारे। ‘फोहरलाई माटोले पुरेर उक्सेको ठाउँमा इको पार्क बनाउने हो’, उनले भने, ‘यहाँ नुवाकोटको सिसडोलमा जस्तो अव्यवस्थित रूपमा फोहर फालिँदैन।’

उनले स्थानीयको सहमतिमै डम्पिङ साइटपछि इको पार्क बनाइने बताए। स्थानीयको विरोध भएकै कारण अहिल्यै योजना स्थगित नगरिने उनले सुनाए।

जापानस्थित रोटरी क्लवले उक्त योजना कार्यान्वयनको लागि छिटोभन्दा छिटो नगरपालिकासँग सम्झौता गर्न चाहिरहेको छ। उसले आउँदो फेब्रुअरीदेखि काम थाल्न सहज हुने बताउँदै आएको छ।

सहयोगी संस्थाले सम्झौताको लागि दबाब दिएपछि नगरका बुद्धिजीवी, जनप्रतिनिधि तथा पूर्वजनप्रतिनिधिहरुको सहमति लिन मंगलबार नगर प्रमुख श्रेष्ठले छलफल कार्यक्रम राखेका थिए।

योजना नलाद्न सुझाव

कार्यक्रमका सहभागीले स्थानीयको सहमतिविना योजना अघि नबढाउन नगर प्रमुख श्रेष्ठलाई सुझाव दिए। स्थानीय समुदायको विरोधका बीच योजना अघि बढाइए कुनै हालतमा कार्यान्वयन नहुने उनीहरूको जोड थियो।

छलफलमा सहभागी प्रदेश ३ सांसद राजेन्द्रमान श्रेष्ठले पनि जनताको सहमतिविना जबरजस्ती योजना लाद्न पाइने बताए।

त्यस्तै दलका प्रतिनिधिहरु सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, कांग्रेसका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, नेमकिपाका पूर्वजिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, कांग्रेस मध्यपुर थिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले नीलबाराही मन्दिर क्षेत्रको संरक्षणको लागि योजना उपयुक्त भए पनि स्थानीयको विरोधलाई सम्बोधन नगरी कार्यान्वयन नगर्न सचेत गरे।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments