Incident Reports

खुकुरी प्रहार गरेर श्रीमान फरार

2020-01-07

Madhes, Saptari, Rajbiraj, Ward 12

नागरिकता र जन्मदर्ता माग गर्दा सप्तरीको राजविराज नगरपालिका-१२ सिग्यौन दमावतीका ३२ वर्षीय महिनारायण यादवले श्रीमतीलाई खुकुरी प्रहार गरेका छन्।

खुकरी प्रहारले ३० वर्षीया लक्ष्मीदेबी यादव घाइते भइकी छन्। उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइराखेको छ। घाइतेको टाउको र घाँटीमा गरी ३६ ओटा टाँका लगाइएको उपचारमा संलग्न डा. प्रमोदकुमार यादवले बताए। पीडितको स्थिती गम्भिर बन्दै गएपछि तत्कालै सघन उपचारका लागि सुविधासम्पन्न अस्पताल रेफर गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए।

प्रहरीमा जागिरे हुँदा इलामकी मुना खातीसँग दोस्रो विवाह गरेका आरोपितले जेठी पत्नी लक्ष्मीबाट जन्मिएका नौ वर्षीय र सात वर्षीय छोराको आमाको नाममा कान्छी पत्नी मुनाको नाम राखी जन्मदर्ता बनाएको विषयमा विवाद थियो।

आफ्ना छोराहरुको आमाको नाममा कान्छी श्रीमति मुनाको नाम राखेर जन्मदर्ता बनाएको थाहा पाएपछि लक्ष्मीले मातृत्वको अधिकारबाट बञ्चित गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुस ४ गते उजुरी दिएकी थिइन्।

राजविराज नगरपालिका वडा नम्बर १२ को कार्यालयमा २०७४ फागुन २० गते जन्मदर्ता बनाएका सूचक स्वयम् महिनारायण भएकाले उनले लेखाएको भरमा आमाको नाम इलामकी मुना खाती यादव भनेर प्रमाणित गरि दिएको तत्कालिन स्थानीय पञ्जिकाधिकारी तरुणकुमार यादवले स्विकारेका छन्।

पीडितका बुवा अग्नीसाइर कृष्णसवरण गाउँपालिका-४ बनौलीका शिवराम यादवका अनुसार पीडितले प्रहरी, प्रशासनमा उजुरी दिए पश्चात राजविराज नगरपालिका-१२ नम्बर वडा कार्यालयले झुक्याएर आरोपितले बनाएको गलत जन्मदर्ता सच्याउन तयार रहेको जनाउँदै पीडितको नाताकायम र विवाह दर्ता बनाइ दिएको थियो।

आफ्नो नागरिकता र छोराको जन्मदर्ता सच्याउन राजविराज नगरपालिका- १२ नम्बर वडा कार्यालय पुगेर फर्किरहेका बेला आरोपितले एक्कासी खुकुरी प्रहार गरेको पीडितले बताइन्। मोटरसाईकल चढी आएका आरोपितले ‘तलाइँ नागरिकता चाहियो, मलाई तनाव मात्रै दिन्छस’ भन्दै एक्कासी खुकुरी प्रहार गरेको र लक्ष्मी ढलेपछि मृत्यु भएको ठानी नजिकैको नहरमा खुकुरी फ्याँकी फरार भएको घटनाका बेला सँगै रहेका लक्ष्मीका हजुरबुवा शिवनारायणले सुनाए।

गर्दनमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएका आरोपितको खोजी भइरहेको डिएसपी तिलक भारतीले बताए। पीडितलाई थप उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल लगिएको उनका मामा बैद्यनाथ यादवले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments