Incident Reports

वुहानबाट ल्याउने नेपाली राख्न नदिन भक्तपुरमा प्रदर्शन, इचंगुनारायणबाट प्रधानमन्त्री कार्यालयलाई पत्र

2020-02-05

Bagmati, Bhaktapur, Changunarayan

सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपाली फिर्ता ल्याउने निर्णय गरेको चार दिन बितेको छ। अझै पनि उनीहरूलाई कहिले नेपाल ल्याइन्छ टुंगो छैन।  सरकार चीनबाट ल्याएकालाई राख्ने ठाउँ खोज्दैछ। एक-दुई ठाउँमा अध्ययन पनि गरेको छ।

मानिसहरूमा कोरोनाभाइरसको डर र सरकारी तयारीप्रति यति अविश्वास छ कि उनीहरू चीनबाट ल्याइनेलाई आफ्नो ठाउँनजिक राख्नु हुँदैन भनेर सडकमा उत्रिन थालेका छन्।

केहीदिनअघि सरकारले चीनबाट ल्याइनेलाई इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्टमा राख्ने प्रस्ताव गरेको थियो।

नागार्जुन नगरपालिकाले उक्त अपार्टमेन्टमा चीनबाट ल्याइएकालाई नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेको छ।

‘अपार्टमेन्ट छेउछाउ घनाबस्ती छ, सम्भावित संक्रमण फैलने डर बढेपछि स्थानीय बासिन्दाले विरोध गर्न सक्ने भएकोले त्यो अपार्टमेन्टमा उद्धार गरिनेहरू नराख्न स्वास्थ्य मन्त्रालयमा पत्र र प्रधानमन्त्री कार्यालयमा बोधार्थ बुझाइसकेका छौं,’ नगरपालिकाका प्रवक्ता थुमराज केसीले सेतोपाटीसँग भने।

बागमती किनारमा झुप्रा बनाएर बसेका सुकुम्बासी राख्न बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ सालमा १२ करोड रूपैंयाँ खर्चेर अपार्टमेन्ट बनाए पनि अहिलेसम्म खाली नै छ।

उता आफ्नो क्षेत्रभित्र सरकारले चीनबाट उद्धार गरिने नेपाली राख्न लागेपछि नेपाली कांग्रेस भक्तपुरले बैठक राखेर विरोध नै गरेको छ। भक्तपुरको कुनै पनि ठाउँमा चीनबाट उद्धार गरिएकालाई राख्न नदिने कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ क्षेत्रीय समितिको निर्णय छ।

भक्तपुरको कृषि तालिम केन्द्र तथा खरिपाटीमा रहेको विद्युत प्राधिकरण तालिम केन्द्रमा उद्धार गरिएका नेपाली राख्न सकिने भन्दै अवलोकन भएपछि विरोध गरिएको हो। सरूवा रोगको जोखिम हुन सक्ने भन्दै कांग्रेसले विरोध गरेको हो।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार क्षेत्रीय समिति बैठकले दुई निर्णय गरेको छ।

‘नगरकोट सडक चाँडो बनाउनुपर्‍यो भनेर दबाब दिन अनसन बस्ने र संक्रमण फैलन सक्ने डर भएकोले उद्धार गरिएकालाई राख्न नदिने भन्ने निर्णय भएको छ,’ उनले सेतोपाटीसँग भने।

सरकारले चीनबाट उद्धार गरिएकालाई राख्ने ठाउँ प्रस्तावित गरेको भन्दै स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका र विद्युत प्राधिकरणमा कालो झण्डा देखाएर विरोध गरेका हुन्।

‘कोरोनाभाइरस चाहिँदैन। स्वास्थ्य जाँचका लागि सुरक्षित ठाउँमा व्यवस्थित गर,’ नारा पनि लगाएर स्थानीय बासिन्दाले विरोध गरेका हुन्। उनीहरूले समुदायभन्दा टाढा सुरक्षित ठाउँमा उद्धार गरिएकाहरूलाई राख्न माग गरेका छन्।

चीनको वुहानबाट सुरू भई संसारभर फैलिरहेको कोरोनाभाइरसले मंगलबारसम्म चार सय ९० जनाको मृत्यु भइसकेको छ भने २४ हजार तीन सय २४ जना संक्रमित छन्।

वुहान पढेर नेपाल फर्किएका एक जनामा पहिले कोरोनाभाइरस देखिए पनि अहिले निको भइसकेको छ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने अरू नाकाहरूमा विशेष हेल्प डेस्क राखेर भाइरस संक्रमितलाई भित्रिन नदिएको दाबी गरिरहेको छ।

संसदमा बोल्दै मंगलबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपाल आउन चाहेका एक सय ८० जनाको आवेदन आइसकेको जानकारी गराएका थिए।

एक सातादेखि ठाउँ खोजिरहे पनि निर्णय हुन नसकेको भन्दै संसदमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद भवन वा हायात होटल खाली गरेर राख्न सुझावसमेत दिएका थिए।

सरकारले चीनबाट उद्धार गरिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर कोरोनाभाइरस नभएको पुष्टी भएपछि मात्रै परिवारको सम्पर्कमा पठाउने बताएको छ।

घर फर्कन चाहेका वुहानका नेपाली विद्यार्थीले प्रधानमन्त्रीलाई सम्बोधन गरेको पत्र ट्वीटरमा राखेका छन्।

‘त्यो सहरमा हामी अट्ने ठाउँ खोज्न चीनमा अस्पताल बनाउनेभन्दा धेरै समय लगाउनुभयो। त्यो सोचेर आफैंलाई चिथोर्न मन लाग्छ,’ उक्त पत्रमा भनिएको छ, ‘हाम्रा अर्का रातहरू आशमा अतासिएर बाँच्न नपरोस्। हाम्रा बाजस्तै प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस्।’

सँगै पढ्ने अरू देशका साथीहरू आफ्नो देश फर्किसकेको उल्लेख गर्दै नेपालीहरूले पनि स्वदेश आउन हतार गरेका हुन्।

नेपालस्थित चिनियाँ दूतावासले भने अहिले वुहानमा रहेका नेपाली सुरक्षित रहेको भन्दै नेपाल ल्याउने भए आवश्यक तयारी पूरा गर्नपर्ने बताएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments