Incident Reports

वडाध्यक्षको हत्या अनुसन्धानमा ढिलाइ भएको भन्दै अछाममा आन्दोलन सुरु

2020-02-05

Sudurpashchim, Achham, Panchadewal Binayak

२२ माघ, कैलाली । वडाध्यक्षको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि अछाममा आन्दोलन सुरु भएको छ ।

अछामको पन्चदेवल विनायक नगरपालिका-२ का अध्यक्ष पदमबहादुर धामीको शव मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो ।

धामीको हत्या भएको दाबी गरिएको छ । उनका आफन्तहरूले बुधबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । विनायक बजार पनि बन्द छ । आफन्त तथा स्थानीयवासीले नगर क्षेत्रका सबै शैक्षिक संस्था र सरकारी कार्यालयहरू पनि बन्द गराएका छन् ।

पन्चदेवल बजारमा बिहानैदेखि टायर बालिएको छ । सवारी आवतजावत् बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् ।

अनुसन्धानमा प्रहरीले ढिलाइ र लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेको आफन्तहरूले बताएका छन् । ‘चित्त बुझ्दो अनुसन्धान नहुँदा हामी आन्दोलित भएका हौं,’ मृतक वडाध्यक्षका भतिजा दीपेन्द्र धामीले भने ।

उनले प्रहरीकै लापरबाहीका कारण घटनाका संलग्नहरू उम्किन सक्ने आरोप लगाए । ‘३ दिन पहिले हत्या गरिएको शवमा अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको टोलीले आज मात्रै पुगेको छ,’ उनले भने, ‘हिजोसम्म पनि त्यो टोली आएको भए सत्य तथ्य बाहिर आउन सक्ने थियो ।’

मङ्गलबार १० बजे धनगढीबाट हिँडेको टोली मङ्गलवार राती घटना स्थलमा नपुग्नु प्रहरीको लापरबाही रहेको उनले बताए । ‘त्यो टोली हिजो राति मंगलसेनमा बस्यो,’ उनले भने, ‘आज बल्ल घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’

अछाम सदरमुकाम मंगलसेनबाट १ घण्टाको यात्रामा घटनास्थलमा पुग्न सकिने भए पनि प्रहरी बिहान पुगेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

तालिम प्राप्त कुकुरसहितको टोली बिहानैदेखि अनुसन्धान सुरु गरे पनि अहिले सम्म कुनै प्रमाण भेट्न नसेको उनले बताए । उक्त टोली आउन ढिलाइ भएका कारण अनुसन्धानमा प्रभाव पर्न सक्ने उनको भनाइ थियो ।

घटनाको सत्य तथ्य छानबिन भएर दोषी पक्राउ नपर्दासम्म आफूहरुले शव नउठाउने र आन्दोलन पनि जारी राख्ने उनले बताए । ‘यति ठूलो घटना भएको छ । तर, कोही गम्भीर भएनन्,’ उनले भने, ‘दोषी पक्राउ नपर्दासम्म हामी शव पनि उठाउँदैनौ । आन्दोलन पनि अझै सशक्त बनाउँछौँ ।’

प्रहरीले भने अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालीमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको बताए ।

मङ्गलवार धनगढीबाट पठाइएको तालिम प्राप्त कुकुरसहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । ‘तालिम प्राप्त कुकुर सहितको टोलीले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘तालिमप्राप्त टोली छ । घटनाको सत्य तथ्य चाँडै बाहिर आउँछ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Secondary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Kailali

0 Comments