Incident Reports

बारपाक सडक कालोपत्र गर्न माग गर्दै सांसदकै नेतृत्वमा आन्दोलन

2020-02-29

Gandaki, Gorkha, Ajirkot

सडक कालोपत्र गर्न माग गर्दै गोरखामा गण्डकी प्रदेशका सांसदकै नेतृत्वमा सडक बन्द गरिएको छ। बाह्रकिलो-भालुस्वाँरा-बारपाक सडकखण्ड लामो समयदेखि कालोपत्र नगरी ठेकेदारले अलपत्र छाडेपछि सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा स्थानीय बासिन्दाले शनिबार सडक अवरूद्ध गरेका हुन्।

यो सडक तीन वर्षदेखि अलपत्र छ। २०७२ सालमा भूकम्प गएपछि बारपाक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र सडक कालोपत्र गरिने प्रतिवद्धता जनाएका थिए। तर अहिलेसम्म बारपाक सडक कालोपत्र भइसकेको छैन। तीन वर्षदेखि सडक अलपत्र भएपछि आन्दोलन गर्नुपरेको दवाडीले बताए।

सांसद दवाडी नेपाली कांग्रेसबाट विजयी भएका थिए। उनकै क्षेत्रमा सडक अलपत्र भएपछि आन्दोलन भएको हो। सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुमा सडक बन्द गरी आन्दोलन गरिएको दवाडीले जानकारी दिए।

‘शनिबार विहान तीन घण्टा स्थानीय बासिन्दाको सहयोगमा सडक बन्द गरेका थियौं,’ उनले भने। एघारकिलो-बारपाक सडकखण्ड अन्तर्गत पालुङटार नगरपालिका खोप्लाङको मसानेठाँटीदेखि गाँखुस्थित खहरेसम्म सडक अलपत्र छ।

स्थानीय बासिन्दाले सडक कालोपत्र गर्न दवाव दिन कञ्चन श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति पनि गठन गरेका छन्। सांसद दवाडीले स्थानीय बासिन्दाले गर्ने जायज आन्दोलनमा आफू सहभागी हुने बताए।

यो सडक कालोपत्र गर्ने जिम्मा तीन वर्ष पहिले नागार्जुन त्रिशुली जेभीले पाए पनि काम नगरेपछि ठेक्का रद्द गरेर मध्यपहाडी सडक आयोजनालाई दिइएको थियो।

मध्यपहाडी आयोजनाले पनि काम सुरू नगर्दा स्थानीय बासिन्दा र सांसद नै आन्दोलनमा उत्रिएका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments