Incident Reports

मल नपाएपछि विराटनगरमा कृषक आन्दोलित

2020-09-02

Province 1, Morang, Biratnagar

विराटनगर : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगरमा मल लिन आएका कृषकहरु नपाएपछि आन्दोलित बनेका छन्। सबैतिर कोरोनाले त्रसित बनाइरहेका बेला मल नपाएका कृषक भने त्यसको प्रवाह नगरि आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले बुधबार कोशी राजमार्ग अन्तर्गत विराटनगरको भाटभटेनी सुपर मार्केट नजिक सडक अवरुद्ध बनाए। धेरै दिनदेखि धाइरहे पनि मल नपाएको गुनासो गर्दै कृषकले सडक जाम गरेका हुन्।

कोरोनाले गाँजेको विराटनगरमा कृषकहरु दैनिक ठेलमठेल र भीडभाड गर्दै मल लिनलाई लाइनमा बस्ने गरेका थिए। जसका कारण मल नपाउने समस्यासँगै कृषक कोरोनाको जोखिममा पनि परेका छन्। मोरङको लखन्तरीबाट मल लिन आएका रामचन्द्र पालले मल वितरण गर्छु भनेर बचन दिएका वितरकनै सम्पर्कविहीन बनेपछि आन्दोलनमा उत्रनु परेको बताए। उनले गाउँबाट लगातार चार दिन धाउँदा पनि मल नपाएको गुनासो गरे। ‘चार दिनदेखि भात न पानी भएर विराटनगर धाइरहेको छु,’ पालले भने, ‘तर विराटनगर आउँदा वितरकनै सम्पर्कमा आएनन्।'

उनी जस्तै मोरङ र सुनसरीका अरु कृषकलाई पनि वितरकले मल दिने भनेर बोलाएका थिए। दिउँसो १२ बजे भेला भएका कृषकको भीडले वितरणस्थल भरिएको थियो। तर वितरक भने पसल बन्द गरेर सम्पर्कविहीन बनेको पालले बताए। उनले १० बिघा क्षेत्रफलमा लगाएको धान बिग्रने अवस्थामा पुगेको गुनासो गरे। ‘कोरोनाको यत्रो महामारीमा खेतमा बिग्रन लागेको धान सम्झिएर केही दिनदेखि दिनभर लाइनमा बसिरहेको छु,’ पालले भने, ‘साँझ परेपछि रित्तो हात फर्कनु परिरहेको छ।’

विराटनगर–११ का कृषक कृष्णप्रसाद अधिकारीले पनि मलका लागि धाएको धेरै दिन भइसक्यो। भारतबाट लुकाईछिपाई चोर बाटो हुँदै ल्याएको एक बोरा युरिया मल प्रयोग गर्दा धान बिग्रिएको सुनाउँदै उनले समयमा सरकारले मल उपलब्ध नगराउँदा थप समस्या भइरहेको सुनाए। उनले साढे तीन बिघा क्षेत्रफलमा धान लगाएका छन्। 

‘भारतबाट चोर बाटो हुँदै ल्याएको मल प्रयोग गरेपछि धान डढ्न थाल्यो। मल दिन्छौँ भनेर बोलाए पनि नदिइकन फर्काउँछन् ,’ उनले भने, ‘सबै किसानको यस्तै हरिबिजोग भएको छ। यो देशमा किसान र गरिबलाई हेर्ने कोही पनि रहेनछन्।’

सुनसरीको बर्जु गाउँपालिका–४ सीतागञ्जका राम चौधरीले पनि विराटनगर धाएको बुधबार चौथो दिन हो। ‘मल बाँड्ने आश्वासन दिन्छन्। त्यही भएर दिनभर टनटलापुर घाममा टट्टिएर बस्छौँ,’ उनले भने, ‘आज दिन सकेनौँ भन्छन्। साँझ परेपछि खाली हात फर्कनु पर्छ।’ चौधरीले पनि कृषि प्रधान मुलुक भनिएको नेपालमा कृषकको समस्या सरकारले सम्बोधन गर्न नसकेको बताए।

साल्ट ड्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले कोरोना भाइरसको महामारीका कारण गरिएको निषेधाज्ञा र लकडाउनले मल आयातमा समस्या भइरहेको बताए। ‘मल आयातनै गर्न सकिएको छैन,’ उनले भने, ‘त्यही भएर वितरणमा समस्या भइरहेको छ।’ चौधरीले पाँच हजार छ सय मेट्रिकटन मल माग गरेको भए पनि माग गरेजति आयात हुन नसकेको बताए।

मल थोरै आएका कारण कृषकलाई दामासाही हिसाबले वितरण गर्नुको विकल्प नभएको उनको भनाइ छ। प्रदेश १ मा कुल खपतको ३० प्रतिशत साल्ट ट्रेडिङको वितरण गर्ने कोटा हो। ७० प्रतिशत नेशनल टे«ड लिंकले वितरण गर्छ। ट्रेडिङले पनि मलनै नआएका कारण वितरण गर्न सकेका छैन। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments