Incident Reports

विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी, विद्यार्थीद्वारा विरोध

2020-09-28

Province 1, Morang, Biratnagar

१२ असोज, विराटनगर । कोरोना भाइरस (कोभिड १९) को हटस्पट बनेको प्रदेश १ को विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी भएको छ । विराटनगरमा पछिल्लो सयम कोरोना संक्रमणको दर पनि बढ्दै गइरहेको छ । तर पनि उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको दबावमा विराटनगर महानगरपालिकाले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका समेत सार्वजनिक गरिसकेको छ ।

महामारीको केन्द्र विन्दुमा परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थीहरुले भने सो कार्यको विरोध जनाएका छन् । कोरोना महामारीका कारण खान लाउनै समस्या भएका अभिभावकबाट दशैंको मुखमा शूल्क असुल्नेगरी परीक्षाको तालिका सार्वजनिक गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका हुन् ।

सोमबार विद्यार्थीले विराटनगर महानगरपालिकाको कार्यालय अगाडि घेराउ गरेका छन् ।

‘दशैंको मुखमा एक्कासी परीक्षा तालिका सार्वजनिक भएको छ,’ विद्यार्थी संरक्षण देवकोटाले भने, ‘शूल्क उठाउन परीक्षा तालिका सार्वजनिक गरेको देखिन्छ, यस्तो वेलामा परीक्षा सञ्चालन गर्दा कोरोना जोखिम बढ्ने सम्भावना हुन्छ ।’

विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालय छन् । जसमा २६ वटा निजी स्तरका छन् । ती विद्यायलमा प्रदेश १ र २ का करिब ८ हजार विद्यार्थी छन् । कोरोना हटस्पटमा एक्कासी ८ हजार विद्यार्थी भेला हुँदा संक्रमण गाउँगाउँ पुग्ने विद्यार्थीहरुको तर्क छ । ‘कोरोनाले खाना लउनै समस्या छ,’ देवकोटा भने, ‘यस्तो महामारीको समयमा शूल्क तिर्न नसकेर कुनै विद्यार्थीले आत्महत्या गर्याे भने त्यसको जिम्मेवारी कसले लिन्छ ?’

एक्कासी परीक्षा तालिका सार्वजनिक भएपछि आफूहरु समस्यामा परेको अर्का विद्यार्थी शशांक पाठक बताउँछन् । ‘हाम्रो घरको पनि त समस्या बुझिदिनुप¥यो नि, शूल्क कसरी तिर्नु ?,’ उनले भने, ‘यस्तो वेला परीक्षा भयो भने हामीलाई कोरोना सर्दैन् र ?’

हिसान अध्यक्ष भन्छन् – ‘विद्यार्थीलाई रिस्क कम हुन्छ’

उच्च माध्यकि विद्यालय सञ्चालकहरुको संगठन हिसान मोरङका अध्यक्ष राजेश कार्की विद्यार्थीबाटै शूल्क उठाएर शिक्षकलाई तलब खुवाउने बाध्यता रहेको बताउँछन् ।

सुरक्षा सतर्कतासहित परीक्षा सञ्चालन गर्ने बताउँदै उनले भने, ‘परीक्षामा सहभागी हुँदैमा कोरोना सर्छ भन्ने छैन्, डब्ल्यूएचओले पनि १८–२० वर्षका युवालाई कम जोखिमको सूचीमा राखेको छ ।’

उनले अभिभावकसँग शूल्क तिर्न नसक्ने अवस्था रहे केही समय होल्ड गर्न सकिने बताए । ‘समस्या परेको अवस्थामा हामी पनि बुझ्छौं, पछि शूल्क तिर्न पनि सकिन्छ,’ उनले भने, ‘अभिभावक र विद्यार्थीको सहजताकै लागि परीक्षा सञ्चालन गर्न लागिएको हो ।’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । विराटनगरबाहेक अन्य स्थानीय तहले परीक्षा सञ्चालनका लागि सूचना निकालेका छैनन् ।

कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले समन्वय मात्र गरेको महानगरको शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताए । विद्यालयलले स्वास्थ्य सतर्कतासहित परीक्षा सञ्चालन गर्ने बताएपछि महानगरपालिकाले सहजीकरण गरिदिएको उनको भनाइ छ ।

विराटनगरमा अहिलेसमम्म दुई हजार १८६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कोरोनाकै कारण २३ जनाले ज्यान गुमाइसकेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments