Incident Reports

विद्युत प्राधिकरण कार्यालय वीरगञ्जमा जसपाको धर्ना

2020-09-29

Madhes, Parsa, Birgunj

१३ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर समितिले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा मंगलबार धर्ना दिएको छ । प्राधिकरणले लकडाउन अवधिको विद्युत महसुलमा समेत २५ प्रतिशत जरीवना लिएको भन्दै जसपाले विरोध जनाउँदै प्राधिकरण कार्यालयको मुल गेटमा १० बजेदेखि १ घण्टा धर्ना दिएको हो ।

धर्नामा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य मञ्जुर आलम लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । धर्नामा सहभागीहरुले अनावश्यक लोडसेडिङ अन्त्य गर, लकडाउन अवधिको विद्युत महसुलमा अनावश्यक जरीवना लिन पाईंदैन, पार्किङको व्यवस्था गर लगायतको नारा लेखिएको प्लेकार्ड बोक्नुको साथै नाराबाजी समेत गरेका थिए ।

विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनमै २५ प्रतिशत जरीवना लिन थालेको र अनावश्यक विद्युत कटौती गर्न लागेकोले त्यसको विरोधमा धर्ना दिएको सांसद यादवले बताए ।

‘सर्वोच्च अदालतले लकडाउनलाई जिरो आवर मानेको छ । तर विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनबाटै विद्युत महसुलमा २५ प्रतिशत जरीवना लिएर पर्साबासीलाई अनावश्यक दुःख दिइरहेको छ,’ सांसद यादवले भने, ‘विद्युत प्राधिकरणबाट कुलमान घिसिङ हट्ने वित्तिकै विद्युत कटौति सुरु हुने किन ? अनावश्यक जरीवना किन लिएको ? प्राधिकरणको नियत के हो ?’

पैसा बुझाउन एक महिना समय दिनुपर्ने, २५ प्रतिशत जरीवना अर्को बिलमा मिलान गर्नुपर्ने उनको माग छ । अन्यथा विद्युत प्राधिकरण बिलिङ शाखामा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी उनले दिए ।

वितरण केन्द्रका प्रमुख शम्भु कुशेत यादवले भने बिलिङ सिस्टम सेन्ट्रल नै भएकोले आफूले बढी लिने वा कम लिने, जरीवना लिन सक्ने अवस्था नरहेको बताए ।

भदौ २३ गतेबाट निषेधाज्ञा खुकुलो भएपछि भदौ २५ गतेदेखि नै विद्युत महसुल काउन्टर सञ्चालनमा ल्याएको, असोज ७ गतेभित्र महसुल बुझाउँदा नियम अनुसार रिवेट दिएको र असोज १५ गतेसम्म महसुल भुक्तानीमा जरीवना नलाग्नुपर्नेमा विलिङ सिस्टममा प्राविधिक त्रुटि हुन गई जरीवना लिइएको दाबी उनको छ ।

असोज १५ गतेभित्र विद्युत महसुल भुक्तानी गरेका ग्राहकसँग लिइएको जरीवना रकम अर्को महिनामा मिलान गरिने प्रमुख यादव बताउँछन् ।

निषेधाज्ञापछि ७ दिनभित्र महसुल बुझाउन सूचना निकालेका हौं । त्यसपछि ग्रहकको सुविधाका लागि बिहान ७ बजेबाटै काउन्टर खोल्यौं, शनिबार पनि काउन्टर बन्द गरेनौं । छुट सुविधा लिएर ७० प्रतिशत जति सेवाग्राहीले महसुल तिर्नुभयो,’ उनले भने, ‘प्राविधिक समस्याका कारणले मात्रै २५ प्रतिशत जरीवना लिइएको हो । वीरगञ्ज, सिमरा लगायतका तीन वटा काउन्टरमा मात्रै समस्या देखिएको छ । जसले तिरिसक्नुभएको छ, ढुक्क हुनुस्, अर्को महिनामा मिलान हुन्छ । ’

मौसम परिवर्तनका कारणले सिस्टममा समस्या आएकोले विद्युत कटौति हुने गरेको उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments