Incident Reports

कालो झन्डा गाडेर जलविद्युतकाे काममा अवरोध

2020-10-18

Province 1, Ilam, Sandakpur

सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सीमास्थित माइखोलामा निर्माणाधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको काम स्थानीयले ठप्प पारेका छन्। आफूहरूलाई सोध्दै नसोधी दुई खोला जलविद्युत् आयोजनाले प्रयोग गरेको भन्दै स्थानीयले निर्माणस्थलमा कालो झन्डा गाडेका हुन्।

आयोजनाले पर्यावरणमा असर पर्नेगरी समाहा र इङ्ला खोलाको पानी माइखोलामा मिसाउन लागेको भन्दै साउनयता स्थानीय आक्रोशित छन्। उनीहरूले केही साताअघि आयोजनाको काम रोक्न चेतावनी दिएका थिए। तर, निर्माणक्रम जारी नै रहेपछि आफूहरू आयोजनास्थल नै पुगेर कालो झन्डा गाडेको संघर्ष समितिका प्रकाश भट्टराईले बताए। ‘आयोजनाले स्थानीयलाई हेपेर कानुनी प्रक्रिया नै नपुर्‍याइ काम गरिरहेको छ,’ उनले भने, ‘हामी यो आयोजना अघि बढ्न दिँदैनौं।’  

सन्दकपुर र माइजोगमाई गाउँपालिकाका वडाहरूले पनि कसैलाई थाहै नदिई आयोजना निर्माणका लागि खोला प्रयोग गर्न अनुमति दिएको उनीहरूले आरोप लगाएका छन्। समाहा र इङ्ला खोला प्रयोग गर्ने प्रारम्भिक वातावरणीय परीक्षण नै नगरिएको र आयोजनाको विद्युत् खरिद सम्झौतासमेत आफूहरूलाई नदेखाइएको संघर्ष समितिले जनाएको छ। ‘हामीले पटक–पटक आयोजनाबारे सूचना माग्दा पनि नदिने भनेर टारिएको छ,’ समितिका कुशबहादुर थेबेले भने, ‘स्थानीयलाई थाहै नदिई र वातावरणमा असर पुग्नेगरी कुनै आयोजना बनाउन मिल्छ?’

स्थानीयले आयोजनाले सामाजिक उत्तरदायित्वका कामबारे पनि कसैलाई स्पष्ट रूपमा जानकारी नदिएको बताइरहेका छन्। उनीहरूले सर्वसाधारणलाई पाखा लगाएर केही ‘टाठाबाठा’लाई आफ्नो कब्जामा लिइ आयोजना निर्माण गरिएको आरोप लगाएका छन्।   

सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गाउँपालिकाका कुनैपनि वडाले सुपरमाई–ए जलविद्युत् आयोजनालाई कुनै अनुमति नदिएको बताए। ‘हामी चुनिएर आउनुअघि नै तत्कालीन गाउँ विकास समितिले दिएको अनुमतिअनुसार आयोजनाले काम गरिरहेको रहेछ,’ उनले भने, ‘हामीले नगरेको कामको आरोप खेप्नुपरेको छ।’

स्थानीय तहमा आफूहरू आएपछि आयोजनाले गरेको सार्वजनिक सुनुवाईमा पहिले नै पाएको अनुमतिबारे भने जनप्रतिनिधिलगायत स्थानीयलाई जानकारीमात्र गराइएको अध्यक्ष राईले बताए। ‘आयोजना निर्माणका लागि निर्माण कम्पनीले पाएको अनुमतिका कागजात मैले काठमाडौंबाटसमेत मगाएर हेर्दा नयाँ जनप्रतिनिधिले कुनै अनुमति दिएको देखिँदैन,’ अध्यक्ष राईले भने, ‘हामी आउनुभन्दा अघि दिइएको अनुमतिबारे हामीलाई सार्वजनिक सुनुवाईमा जानकारी चाहिँ दिइएको थियो।’

९.६ मेघावाटको सुपरमाई–ए आयोजनाले केही महिनाअघि उत्पादन थालिसकेको छ। त्यही आयोजनामा समाहा र इङ्ला खोला मिसाउन लागिएपछि स्थानीय आक्रोशित भएका हुन्। सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने १ करोड २७ लाख रुपैयाँ स्थानीय सरकारमार्फत् वितरण गरेको आयोजनाले जनाएको छ। आयोजना प्रवद्र्धक सगरमाथा हाइड्रो पावर प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले आयोजनाको जिम्मेवारीमा परेको रकम स्थानीय जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रका लागि खर्चको बाँडफाँटसमेत गरी काम गरेको बताए।

आयोजनास्थलसँग इलाम नगरपालिकाको वडा २, माइजोगमाई गाउँपालिकाको वडा ६ तथा सन्दकपुर गाउँपालिकाका ३ र ५ वडा जोडिएका छन् । १ अर्ब ७९ करोड रुपैयाँ लागतको आयोजनाबाट वार्षिक ५६.४६ गिगावाट/आवर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments