Incident Reports

बोक्सी आरोपमा परिवारै मिलेर वृद्धामाथि निर्घात कुटपिट

2021-03-12

Province 1, Morang, Ratuwamai, Ward 2

विराटनगर / बोक्सीको आरोप लगाउँदै परिवारै मिलेर मोरङको रतुवामाईकी एक जना ६० वर्षीया वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ ।

एउटै परिवारका पाँच जना सदस्य मिलेर सामूहिक आक्रमण गर्दा रतुवामाई नगरपालिका–२ घर भएकी वृद्धाको अवस्था जटिल बनेको छ । गाईबस्तु बाँध्ने थाममा डोरीले बाँधेर अमानवीय हिसाबले आक्रमण गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनीमाथि लात्ती, मुक्का र लाठीले आक्रमण भएको प्रहरीको भनाइ छ ।

शुक्रबार राति १० बजेतिर भएको घटनामा घाइते भएकी उनलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको छ । गम्भीर अवस्थाकी उनी बोल्न र घटनाका बारेमा बताउन सक्ने अवस्थामा नरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

कुटपिटपछि विभिन्न अङ्गबाट निस्किएको रगत वृद्धाले लगाएका कपडामा समेत लागेको छ । उठ्न र बोल्नसमेत नसकेर थला परेकी उनलाई अर्कैले उठाइदिनु पर्छ ।

कुटपिट र आक्रमणबाट वृद्धा बेहोस बनेको देखेपछि श्रीमानले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएका हुन् । उनीमाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्नेमध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका भतिज र हैरानी भीमलालकी छोरी हुन् ।

हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ । राति घरमा सुतिरहेका बेला गनगाईं परिवारका सदस्य वृद्धालाई लिन घरमै पुगेका थिए । उठाएर लग्दै जितनलालको घरनजिकको गाई बाँध्ने गोठ (पाली)मा पुर्‍याएर थाममा बाँध्दै निर्घात कुटपिट गरेर बेहोस बनाई छाडिदिएको वृद्धाका श्रीमानले प्रहरीलाई बताएका छन् ।

उनका अनुसार बोक्सी रहेको र टुनामुना लगाइदिएर बिरामी बनाउने गरेको भन्दै श्रीमतीमाथि गनगाईं परिवारका सदस्यले पटकपटक दुव्र्यवहार गर्ने गर्थे । श्रीमानले घटनामा संलग्नविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउन अनुसन्धानका लागि अदालतबाट आइतबार म्याद थप गरिएको डिएसपी राईले बताए । घटनामा संलग्न अन्य तीन जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको उनको भनाइ छ ।

तर जनप्रतिनिधिले भने घटनाको बचाउ गरेका छन् । वडाअध्यक्ष किरणसिंह गनगाईंले बोक्सीको आरोपमा नभई जग्गाको सिमानालाई लिएर बढेको विवादमा वृद्धामाथि कुटपिट भएको बताए । जग्गा विवादमा कुटपिट भए पनि घटनालाई मोडेर बोक्सी आरोपमा परिणत गरिएको उनको दाबी छ । घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएकाले निको भएर वृद्धा घर फर्किएपछि गाउँमै राखेर घटनालाई मिलाइने वडाअध्यक्ष गनगाईंको भनाइ छ । उनले वृद्धामा पहिल्यैदेखि रहेको मानसिक समस्याका कारण यस्तो घटना निम्तिएको दाबी गरे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments