Incident Reports

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित | Nagarik News - Nepal Republic Media

2021-07-19

Lumbini, Banke, Nepalgunj

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलन स्वरुप उनीहरुले कलेजका प्रबन्ध निर्देशकको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका छन्।

कलेज प्रशासनले अधिकांस कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विगत ३/४ महिनाको तलब, भत्ता नदिएको आन्दोलनरत कर्मचारीको गुनासो छ। कर्मचारीको आन्दोलनका कारण मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरको सेवा प्रभावित भएको छ। कलेजका कर्मचारीहरु दिनहुँजसो आन्दोलन गरिरहेका छन्।

आन्दोलनरत कर्मचारीले आफूहरुले विगत ३/४ महिनादेखि तलब, भत्ता कत्तिपनि नपाएको गुनासो गरे। ‘पहिला नियमित रुपमा तलब खुवाउँदै आएको मेडिकल कलेजले तलब दिन छाडेको तीन महिनाभन्दा बढी भईसक्यो,’ आन्दोलनरत एक स्वास्थ्यकर्मीले भनिन्, ‘त्यत्रो कोरोना महामारीमा ज्यानको बाजी थापेर काम गरियो, न जोखिम भत्ता पाईयो, न त आफ्नो मासिक तलब।’
मेडिकल कलेज प्रशासनले कर्मचारीलाई तलब नदिएर ठूलो अन्याय गरेको उनको दुखेसो छ। नेपालगन्ज मेडिकल कलेजका प्लाष्टिक सर्जन डा. विनोद कर्णले तलब, भत्ता नपाएर आफूहरु अन्यायमा परेको बताए। ‘मैले पनि ३/४ महिनाको तलब पाएको छैन, तलब नपाएपनि बिरामीको उपचार गरिराखेका छौं,’ उनले भने। नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष समेत रहेका डा. कर्णले मेडिकल कलेजका कर्मचारीको आन्दोलनलाई संघको पनि साथ रहेको बताए। उनले अगाडि थपे, ‘आफ्नो ज्यान जोखिममा राखेर कोभिडको समयमा दिनरात काम गर्‍यौं, तर पाउनुपर्ने पारिश्रमिक नै पाएनौं।’

नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा. दिनेश श्रेष्ठले कर्मचारीको आन्दोलन चलिरहेको बताए। ‘तलब नपाएपछि कर्मचारीको आन्दोलन चलिरहेको छ, सबै कर्मचारीको समस्या एउटै हो,’ उनले भने, ‘धेरैजसो कर्मचारीले वैशाख महिनादेखि तलब पाएका छैनन्।’
आफूले पनि विगत चार महिनादेखि तलब, भत्ता नपाएको उपनिर्देशक श्रेष्ठले सुनाए। कर्मचारीको आन्दोलनको विषयमा मेडिकल कलेज कर्मचारी युनियनले भने प्रतिक्रिया दिएका छैनन्। मेडिकल कलेज बिक्रीको प्रक्रिया अगाडि बढिसकेको हल्ला चलिरहेका बेला लामो समयदेखि तलब नपाएपछि कर्मचारी थप सशंकित भएका हुन्। यस विषयमा प्रतिक्रिया लिन कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियालाई सम्पर्क गर्दा उनले फोन उठाएनन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments