Incident Reports

आफ्नाबाटै असुरक्षित : नेपालमा किन बढ्दैछ हाडनाता करणी ? | Ratopati

2021-11-07

काठमाडौं । नेपालमा पछिल्लो समय हाडनाताभित्र जबरजस्ती करणीका घटना बढ्दै गएको छ । हाडनाता करणीमा कलिला किशोरी समेत सुरक्षित छैनन् । कतिपयले त परिवारको इज्जत जाने डरले पनि यस्ता अपराधलाई दबाएर बस्ने गरेका छन् ।

पर्वतमा करिब ६ महिना अघि आफ्नै छोरीलाई बाध्य बनाएर बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परे । ६० वर्षीय दामन सार्कीले एक वर्षदेखि किशोरी छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए । श्रीमान्को हर्कत थाहा पाएकी उनकी आमाले समेत समाजमा इज्जत जाने डरले जरजस्ती करणीबारे लुकाउन दबाब दिँदै आएकी थिइन् । तर, बाबुको दानवीय शैली पटकपटक दोहोरिन थालेपछि पीडित किशोरीले आफ्नै बुबाविरुद्ध उजुरी दिएकी हुन् ।

यस्तै, काठमाडौंंको एक परिवारभित्र माया गर्ने बाहनामा बुबाले बारम्बार छोरीका समवेदनशील अङ्गमा छुन थाले । छोरीले करिब डेढ महिनापछि बुबाको हर्कत आमालाई सुनाइन् तर ती पुरुषले उल्टै धक्की दिन थाले । उल्टै छोरीलाई यौनसम्बन्ध राख्न कोठामा पठाइदे भनेर श्रीमतीलाई समेत दबाब दिन थाले ।

आमाछोरीले नै समाजमा इज्जत जाने डरले यो घटना प्रकाश ल्याउन सकेनन् । तर, छोरी टोलाउने, नबोल्ने गर्न थालेपछि आमाले तीनकुनेस्थित एक मनोपरामर्श केन्द्रमा लगिन् । बुबाबाट यौन हिंसा खेपेकी ती पीडित लामो समयको मनोपरार्मशपछि हाल अध्ययनका लागि विदेश जाने तयारीमा छन् । यस्ता अमानवीय क्रियाकलापले घर भित्र छोरीहरू के सुरक्षित छन् त ? भन्ने प्रश्न उब्जाइरहन्छ ।

हाडनाता करणी भन्ने बित्तिकै बाबु र आमातर्फ नाताभित्र पर्नेबीचको करणीलाई बुझिन्छ । हाडनाता करणीमा नाबालिका, किशोरीलाई निशाना बनाउनेमा बुबामात्रै नभएर परिवारका अन्य सदस्यसमेत रहेको पाइएको छ ।

नेपाल प्रहरीका एसएसपी तथा प्रवक्ता बसन्त कुँवरका अनुसार हाडनाता करणीमा हजुरबुबा, बुबा र झड्केलो बुबा, काका, मामा, ठुलो बुबा, दाजुभाइ, मामा, ठूलो बुबाको छोरा, देवर, जेठाजुसमेत संलग्न रहेको पाइएको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार हाडनाता करणीका घटना पछिल्लो समय तुलनात्मक रुपमा बढेको छ । आर्थिक वर्ष ०७५/०७६ मा हाडनाता करणीमा १६९ जना संलग्न गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा हाडनाता करणीमै १९० मुद्दा परेको थियो । यस्तै, आर्थिक वर्ष ०७७/०७८ मा हाडनाता करणीका ३२३ जना संलग्न थिए ।

यस्तै, काठमाडौं उपत्यकामा आर्थिक वर्ष ०७५/०७६ मा हाडनाता करणीका २९ मुद्धा परेका थिए । आर्थिक वर्ष ०७६/०७७ मा २५ र ०७७/०७८ मा २६ मुद्दा परेको थियो । चालु आर्थिक वर्षको भदौ महिनासम्म ६ वटा यस्ता मुद्दा परेको छ ।

मन्जुरी बगेर गरिने करणी नै जबरजस्ती करणी हो । नेपालमा मात्रै नभएर विश्वभर नै हाडनाता करणीको घटना लुकाउने प्रवृत्ति रहेको काठमाडौ स्कुल अफ लका प्राध्यापक अधिवक्ता सुरज बस्नेतको भनाइ छ ।

हाडनाता करणीमा लामो समयसम्म पीडित भएपछि मात्रै राष्ट्रिय महिला आयोगमा उजुरी लिएर अभिभावक वा पीडित पक्ष पुग्ने गर्छन् । पुरुषभित्रको यौन उत्तेजना पूरा गर्न कतिपय अवस्थामा हाडनाता करणी हुने गरेको र परिवारले थाहा पाएर पनि लुकाउँदा कलिला बालिकासँगै छोरी, बुहारी, आमा, हजुरआमा समेत पीडित हुने गरेको पाइन्छ । नेपालको कानुनले हाडनाता करणीलाई अपराधको रुपमा लिएको छ ।

कानुनले बर्जित गरेको जबरजस्ती करणी र घरभित्रकै सदस्यबाट हुने करणीबारे बालबालिकालाई सानैबाट बुुझाउन आवश्यक हुन्छ । छोराछोरीलाई बालयौन दुरुपयोगबारे घर अनि स्कुलबाटै बुझाउनुपर्ने राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडा पौडेलले बताइन् ।

जबरजस्तीकरणीसँगै हाडनाता करणीमा पर्ने संकेत पाएमा तत्काल प्रतिकार गर्र्ने र यस्तो जघन्य अपराधमा परेको खण्डमा पीडित भइ नबस्ने र पीडकलाई सजाय दिलाउन संघर्षमा उत्रिनुपर्ने उनको भनाइ छ । देशका हरेका क्षेत्रमा जबरजस्ती करणी, हाडनाता करणी सम्बन्धमा कार्यक्रम नै बनाएर जनचेतना फैलाउन तीनै तहका सरकार अग्रसर हुनुपर्ने उनले बताइन् ।

–    बालबालिकालाई कसैले अस्वाभाविक रुपमा एकान्तमा लैजान खोजेमा जान हुँदैन भनेर बुझाउनुपर्छ ।

–    नचिनेको मानिसले दिएको खाने कुरा खान हुँदैन भनेर बुझाउनुपर्छ ।

–    घरकै सदस्य वा जो कोहीले पनि यौनसम्बन्धी अङ्ग तथा छातीमा छोए वा समातेमा, पटकपटक माया गरेको बाहनामा म्वाई खाएमा बालबालिकालाई प्रतिकार गर्न र अभिभावकलाई त्यसबारे जानकारी दिनुपर्छ भनेर बुझाउनुपर्छ ।

–    बालबालिकालाई कसैले आफ्नो यौन सम्बन्धी अङ्ग छुन वा समाउन लगाएमा छुन हुँदैन भनेर बुझाउनुपर्छ ।

–    अश्लील, कुनै प्रकारकको शब्द बोेलेर, लेखेर, साङ्केतिक तरिकाले वा विद्युतीय माध्यबाट अश्लील चित्र देखाएमा तत्काल स्कुलका सर, मिस तथा घरमा अन्य सदस्यहरुलाई भन्नुपर्छ भनेर बुझाउनु पर्छ ।

–    बालबालिकालाई मात्रै नभएर जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा किशोर छोराछोरीसँगै घरका सबै सदस्यलाई बर्जित कार्यको प्रतिकारका लागि सम्झाउन आवश्यक हुन्छ ।

कलिला नानीहरुलाई हेरचाह अनि माया गर्ने बहानामा हजुरबुबा, बुबा तथा आमा र बुबातिरका नजिकैका आफन्तबाट बढी सङ्ख्यामा करणीमा पर्ने गरेको प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । यस्ता हाडनाता करणीका उजुरी ग्रामीण भेगबाट भन्दा सहरी तथा सहरउन्मुख क्षेत्रबाट बढी आउने उनले सुनाए ।

मनोविश्लेषक बासु आचार्यका अनुसार हाडनाता करणी कसैले जबरजस्ती गर्छन् भने कसैले जबरजस्ती रुपमा स्वीकार गर्न बाध्य बनाएर गरेको पाइन्छ । नातासम्बन्ध, परिवार, इज्जतलाई बेवास्ता गर्दै करणीपछिको आनन्द बाहेक केही पनि नसोच्ने विकृत मनोविज्ञान भएका व्यक्ति यस्ता घटनामा संलग्न हुने मनोविद् आचार्य सुनाउँछन् ।

यस्तो मनोविज्ञान भएका व्यक्तिले यौनका लागि प्रस्ताव पनि गर्न सक्दैनन्, त्यसपछि नजिकैका साना नानीहरुलाई करणी गर्ने गरेको उनको बुझाइ छ । ‘कामावृत्त’ अर्थात् यौन घेरा बढ्न थालेपछि सामाजिक विषयवस्तुसँग लड्न र घुलमिल हुन सक्दैन् र त्यसपछि आफ्नै इच्छा पूरा गर्नतिर लाग्छन् भन्ने मनोविश्लेषक आचार्यको बुझाइ छ ।

घरभित्रकै सदस्य तथा नजिकैका आफन्तले जबरजस्ती करणी गरेमा वा बाध्य बनाएका कारण जिन्दगीदेखि हार खाएर वा यसबाट मुक्त कसरी हुने भन्दै परामर्शका लागि आइपुग्नेहरु धेरै रहेको उनले सुनाए ।

मुलुकी अपराध संहिता २०७४ अनुसार जन्माउने आमाछोरा बीच वा बाबुछोरीका बीच करणी भएमा जन्मकैदको सजाय हुनेछ । यस्तै, सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीचको करणीमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

यस्तै, एकै हाँगाको तीन पुस्तासम्मको बज्यैनाति वा पनाति, एकै हाँगाको ठूलोबाबु वा काकाभतिजी, एकै हाँगाको भतिजो र ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजीबुहारी, साख्यै मामाभाञ्जी वा भानिजमाइजु, आमातर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाँइबीच करणी भएमा तीन वर्षदेखि ६ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिवाना कानुनमा तोकिएको छ ।

यीबाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्तासमेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुने करणी सम्बन्धी कसूरमा उल्लेख छ ।



National/Online Media

0 Comments