Incident Reports

विद्युतीकरण विस्तारको माग गर्दै प्राधिकरण अगाडि जुम्लाबासीको प्रदर्शन

2021-12-07

काठमाडौं । जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच विस्तार गर्न माग गर्दै जुम्लाबासीले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् । नेकपा माओबादी केन्द्रका संघीय सांसद गजेन्द्रबहादुर महतको नेतृत्वमा प्राधिकरण पुगेका जुम्लाबासीले बाजा–गाजासहित प्रदर्शन गरेका हुन् । जिल्लाबासीको टोलीले ध्यानाकर्ष पत्रमार्फत जिल्लामा विद्युतीकरण विस्तार तथा जलविद्युत आयोजनाको विकासमा लगानी गर्न माग गरेको छ । ध्यानाकर्षण पत्र बुझ्न कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यालयमा नभेटिएपछि टोलीले भित्तामा टाँसेको थियो ।

विकासका सबै पूर्वाधारबाट बन्चित जिल्लामा विद्युतीकरण विस्तारका लागि पटक–पटक माग गर्दा पनि सुनुवाई नभएपछि बाजा–गाजा लिएर प्राधिकरणको ध्यानाकर्षण गराउन गएको महतले बताए । ‘जिल्लामा विद्युतीकरण विस्तारको गति बढाउनु पर्यो भन्ने माग धेरै पटक राख्यौं,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यसको सुनुवाई भएन । कार्यकारी निर्देशक ज्यू सुगम जिल्लामा पुगेर समस्या समाधान गर्न तत्पर देखिनु हुन्छ । तर, जुम्लाबासीको कुरा सुन्नु हुन्न । यही कारण पनि आज बाजा–गाजा लिएर हामी प्राधिकरण कार्यालय पुगेका हौं ।’

६ बुँदे लिखित माग राखेको बताए । जिल्लाका सबै स्थानीय तहमा प्रसारण तथा वितरण लाइनको विस्तार हुनुपर्ने माग ध्यानाकर्ष पत्रमार्फत टोलीले राखेको छ ।

जुम्ला जलस्रोतमा धनी भएको हुँदा जलविद्युत सम्भाव्यताको अध्ययन हुनु पर्ने तथा पहिले नै अध्ययन भइसकेका जलविद्युत आयोजनाको निर्माण अघि बढाउनु पर्ने उनीहरूको लिखित माग छ । जुम्लामा २०७८ साउनमा पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको हो । प्राधिकरणले ७५ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी जिल्लामा विद्युत पहुँच पुर्याएको थियो ।

जिल्लाका केही स्थानीय तहमा लघुजलविद्युतको विद्युतबाट बत्ती बालिए पनि यो वर्ष बर्खामा आएको बाढीले अधिकांश लघुजलविद्युत आयोजनाको संरचना बगाउँदा जिल्लाबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments