Incident Reports

एक वर्षमा ५३ जना महिला तथा बालिका बलात्कृत

2021-12-25

बर्दियामा एक वर्षमा ५३ जना बालिका तथा महिलाहरू बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म ५३ जना बालिका तथा महिला बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बर्दियाले नेपाल मानवअधिकार वर्ष पुस्तकको सम्पादनपूर्व समीक्षा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो । बर्दिया जिल्लामा एक वर्षमा ३५ जना १८ वर्षमुनिका बालिकामा बलात्कार र बलात्कारको प्रयास भएको तथ्यांकमा उल्लेखित छ । त्यसैगरी, १८ वर्षभन्दा माथिका १८ जना महिलाहरूमाथि बलात्कार भएको इन्सेक बर्दियाले जनाएको छ । गत वर्ष (सन् २०२०) को तुलनामा बलात्कारका घटनामा वृद्धि भएको हो । गत वर्षको तथ्यांकमा २६ जना बालिकामाथि बलात्कार भएको थियो । भने १५ जना महिला बलात्कारको सिकार भएका थिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानवबहादुर चौधरीले सन २०२१ जनवरीदेखि डिसेम्बरसम्म बर्दिया जिल्लामा घटेका मानवअधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरेका थिए । प्रस्तुत घटनाहरूमा महिलामाथि दुर्व्यवहार तीन, बालविवाह तीन, बहुविवाह १५, जातीय छुवाछुत तीन, बोक्सीको आरोप तीन, आत्महत्या दुरुत्साहन दुई, बालिका बेपत्ता एक गरी ८२ वटा घटनाको विवरण सार्वजनिक गरेका थिए । गत वर्ष (सन् २०२०मा ) ७० ओटा मानवअधिकार उल्लंघनका घटना सार्वजनिक गरीएको थियो । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लंघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तकको रूपमा पुस्तक प्रकाशन गर्दै आएको छ ।

कार्यक्रमका सहभागीहरूले प्रहरीमा मुद्दा दर्ता नभएका घटनाहरूको पनि इन्सेकले खोजबिन गरी अभिलेखीकरण गर्नुपर्ने सुझाव दिएका छन् । अझै पनि समाजमा जघन्य अपराधलाई ढाकछोप गर्ने र समुदाय मै मिलाउने गरिएको भेटिने गरेको उनीहरूको भनाइ छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी रहेको बताउँदै सोहीअनुसार काम गर्दै आएको बताएका छन् ।

0 Comments