Incident Reports

बालाजुमा जातीय छुवाछुत गरेको उजुरी, आरोपी पक्रन गोरखा प्रहरीलाई पत्र  

2023-04-05

Bagmati, Kathmandu, Kathmandu, Ward 15

गत चैत ९ गते कास्कीको पोखरा महानगरपालिका-२ का ३७ वर्षीय आयुष परियार व्रतबन्धमा बाजा बजाउन गएका थिए। काठमाडौं महानगरपालिका-१६ का नवराज अमगाईले छोराको व्रतबन्धमा पन्चेबाजा मगाएका थिए। बाजा बजाउन आयुषसहितको टोली उनको घर पुगेका थियो। बाजा बजाइरहेका बेला तीर्खा लागेपछि आयुष नजिकै पानीको जार राखेको ठाउँमा पुगे। जारबाट पानी निकाल्न नपाउँदै कपिल अमगाईले आयुषलाई रोके। आयुषले त्यसलाई सामान्य रूपमा लिए।

केही समय भोज सुरू भयो। उनी पनि लाइनमा बसे। त्यहाँ पनि कपिलले गाउँबाट पण्डित आएका छन् भन्दै आयुषलाई छुट्टै बस्न भने। शौचालय जान खोज्दा घरभित्रको शौचालय जान नदिएपछि आयुषले आफूमाथि जातीय विभेद भएको महसुस गरे। ‘सुरूमा सामान्य रूपमा लिएको थिएँ, विभेद गरेको महसुस भएपछि विरोध गरेको हुँ,’ आयुषले भने। आयुषले तत्काल प्रहरीलाई खबर गरे। त्यहाँ प्रहरी पुगे। प्रहरीले त्यसलाई सामान्य रूपमा लिएर मिलाउन खोजे।

चैत १० गते आयुषलगायत बाजा बजाउने टिमले कपिल र नवराजविरूद्ध महानगरीय प्रहरी वृत्त बालाजुमा जातीय छुवाछुत गरेको भन्दै उजुरी दिए। प्रहरीले १० दिनसम्म उनीहरूको उजुरी दर्ता गरेन। सोमबार (चैत २०) जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसरबाट पत्र पठाएपछि उजुरी दर्ता भयो। महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवर भन्छन्, ‘कपिल गोरखाका स्थानीय रहेछन्, त्यसकारण गोरखा जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न आदेश दिइसकेका छौं।’ उनका अनुसार, कपिललाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार उजुरी छ। भेदभाव गरेको प्रमाणित भए कानुन बमोजिम सजाय हुने डिएसपी कुँवर बताउँछन्।

जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ मा विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ। नवराज अमगाई भने आफूले जातीय विभेद नगरेको दाबी गर्छन्। ‘कपिलले सहजताको लागि बसेकै ठाउँमै खाना-पानी पुर्‍याइदिएको हो, विभेद गरेको होइन्,’ नवराजले भने, ‘हामीले कसैलाई पनि जातका आधारमा छुट्टै बस्ने व्यवस्था गरेको थिएनौं।’ आफूलाई योजनाबद्ध ढंगले फसाउन खोजिएको उनको बुझाइ छ। पाँच सय जनाभन्दा बढी पाहुना हुँदा घरभित्रको शौचालय प्रयोग गर्न नपाउँदैमा जातीय विभेद गरेको ठहर नहुने उनको तर्क छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments