Incident Reports

किशोरी बलात्कारको आरोपमा अटो चालक पक्राउ

2023-03-31

सुर्खेत । सुर्खेत प्रहरीले जबर्जस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–८ का २८ वर्षीय विवश घर्तीमगर छन् । इलाका प्रहरी कार्यालय छिन्चुले मंगलबार परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको हो । भेरीगंगा नगरपालिका–८ की एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी प्रमुख रमेश राईले रातोपाटीसँग भने, ‘विवश घर्तीलाई हामीले मंगलबार नै पक्राउ गरेका छौँ, घटनामा संलग्न अर्को एक जनाको नाम, ठेगाना थाह नभएपछि पक्राउ गर्न समस्या भएको छ । पीडित किशोरीले समेत अर्को व्यक्तिलाई नचिन्ने भएकाले समस्या भएको हो ।’ पक्राउ परेका घर्ती अटो चालक हुन् । घर्ती र उनीसँगै रहेका अर्का एक जनाले ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

घटना गत शुक्रबारको हो । भेरिगंगा–८ निवासी ती किशोरी बिहीबार अर्थात् १६ चैतमा वीरेन्द्रनगरमा एक जना साथीको घरमा आएकी थिइन् । त्यो दिन उनी त्यहीँ बसिन् र १७ गते गाडी चढेर उनी भेरीगंगाकै जहरे बजार पुगिन् । त्यहाँबाट उनको घरसम्मको दुरी करिब साढे ३ किलोमिटर छ । बेलुका ५ बजेतिर जहरे बजार पुगेकी उनी घरसम्म पुग्नका लागि अटो खोजिरहेकी थिइन् । त्यहीबेला चिनेकै अटो चालक विवश घर्ती भेटिए । उनले घरसम्म पुर्याइदिने भनेपछि आफू अटोमा चढेको पीडित किशोरीको भनाइ उद्धृत गर्दै उनका दाइले रातोपाटीलाई जानकारी दिए । अटोमा विवशसँगै एक जना अर्को व्यक्ति पनि थिए, जसलाई पीडित किशोरी चिन्दिनन् ।

बाटोमा अटो चालक विवशले किशोरीलाई चकलेट खान दिए । किशोरीले नखाने बताए पनि धेरै कर गरेपछि उनले खाइन् । चकलेट खाएपछि उनलाई रिंगटा लागेजस्तो अनुभव भयो । उनी बेहोस हुँदै गइरहेकी थिइन् । त्यही बेला चालकले भेरी नदीको किनारतर्फ अटोलाई मोडे । जहरे भेरी किनारसँग जोडिएको बजार हो । नदी किनार पुगेपछि अटो चालक विवश र उनको साथीले मुख खोलेर झोलजस्तो औषधि खुवाएको पीडित किशोरीले बताएकी छन् । त्यसपछि उनी पूर्ण रुपमा बेहोस् भइन् । होस् गुमेपछि बलात्कार गरेर आधार शरीर पानीमा र आधार शरीर किनारामा हुने गरी फालिएको बताइएको छ ।

किशोरीको साथमा मोबाइल फोन थियो । उनले लगाएको ज्याकेट पानीमा भिजिरहेको थियो । ‘शुक्रबार साँझ ८ बजेतिर हुनुपर्छ, घरमा आमालाई फोन गरेकी थिइ,’ उनका दाइले रातोपाटीसँग भने, ‘पछि गाउँमा मान्छेहरु खोज्न गए । त्यहाँ पुग्दा भेरी नदीको किनारमा पूरै शरीर भिजेर पल्टिरहेको अवस्थामा उनी भेटिएकी थिइन् ।’ त्यहाँसम्म परिवारलाई घटनाबारे कुनै जानकारी नै थिएन । चिसोले पनि हुनसक्छ भनेर नदी किनारमै आगो बालेर तताउने काम भयो । बेहोस अवस्थामै घरमा ल्याइएकी ती किशोरी अचेत अवस्थामै कराउने, चिच्याउने गरिरहेकी थिइन् । तेलले सेकेर बेहोस् अवस्थामै उनलाई सुताइयो ।

‘हामीले त केही डराएर पो हो कि भनेर सुतायौँ,’ उनका दाइले भने, ‘भोलिपल्ट बिहानसम्म पनि होस आएन । अनि मैले बिहान ९ बजेतिर जहरेको मेडिकलमा लगेँ । तर त्यहाँ हामीले यस्तो केस हेर्दैनौँ भनेपछि मेहलकुना अस्पतालमा लग्यौँ ।’ डाक्टरले उपचार सुरु गर्दासम्म पनि उनको होस आएन । मेलकुना अस्पतालका डाक्टरहरुले प्रदेश अस्पताल लैजान सुझाएपछि सोही अस्पतालकै एम्बुलेन्समार्फत किशोरीलाई वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालमा ल्याइएको उनले बताए । मंगलबारमात्र उनी ‘रिकभर’ भइन् । त्यसपछि उनले घटनाबारे परिवारका सदस्यलाई बताइन् र मंगलबार नै प्रहरी कहाँ जाहेरी दिइएको किशोरीका दाइले बताए ।

पीडित किशोरीको बायाँ हातमा चोटसमेत लागेको छ । यद्यपि अहिले त्यो ठिक भइसकेको छ । पक्राउ परेका अटो चालक विवश घर्ती मगरमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख राईले बताए । यद्यपि प्रारम्भिक अनुसन्धानका क्रममा भने विवशले किशोरीको आरोप इन्कार गरेको उनको भनाइ छ । घर्तीको भनाइ उद्धृत गर्दै उनले भने, ‘मलाई केही पनि थाहा छैन । म हुँदै होइन ।’ साथै घर्तीले अर्को व्यक्तिको नामसमेत भन्न इन्कार गरिरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि घर्तीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ । पीडित किशोरीका आफन्त यतिबेला जिल्ला प्रहरी कार्यालयमा पुगिसकेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घटनाबारे आफू जानकार भएको र अनुसन्धानपछि मात्र यसबारे थप भन्न मिल्ने बताए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments