Incident Reports

चितवनतर्फको नारायणी किनारमा संरचना निर्माणको काम रोक्न माग गर्दै गैंडाकोटमा प्रदर्शन

2023-04-06

नारायणी नदीको भरतपुरतर्फको किनारमा तटबन्धलगातका संरचना निर्माण कार्य रोक्न माग गर्दै गैंडाकोटबासीले आन्दोलन सुरू गरेका छन्। भरतपुर महानगरपालिकातर्फ एकतर्फी रूपमा ठूला संरचनाहरू बनाइँदा नदीले गैंडाकोटलाई असर पार्ने भन्दै स्थानीयबासीले विरोध गरेका हुन्। विरोधस्वरूप उनीहरूले बिहीबार केहीबेर पूर्व–पश्चिम अवरूद्ध पारेर प्रदर्शन गरेका थिए। भरतपुर महानगरको नारायणढदेखि गोलाघाटसम्म तटबन्ध निर्माण गर्न यसै वर्ष ठेक्का लागेको छ। ठेकेदारले निर्माणको काम सुरू गरेको छ। चितवनतर्फ तटबन्ध निर्माणका लागिमात्रै सरकारले करिब ५ अर्ब रुपैयाँ खर्च गर्दैछ।

पूर्व–पश्चिम राजमार्गको नारायणी पुलभन्दा माथिल्लो किनारमा सि बीच मोडलमा संरचना बन्दैछ। यसलाई भरतपुर महानगरपालिकाले गौरवको आयोजना मानेको छ। नवलपुरतर्फ भने तटबन्धको सामान्य योजनामात्रै छ। गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिका संयोजक गोकुल सापकोटाले किनारमा एकतर्फी रूपमा संरचना बन्दा वर्षायाममा नदीले अर्कोतर्फ असर पुर्‍याउने भएकाले विरोधमा उत्रनुपरेको बताए। समितिले बुधबार भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो। हाल नारायणगढतर्फ एकतर्फी रूपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै समितिले २४ घण्टे अल्टिमेटम दिइएको थियो।

माग पूरा नभएपछि सडक अवरूद्ध गरेर विरोध गर्नुपरेको संयोजक सापकोटाले बताए। उनले गैंडाकोटबासीको माग नसुने नारायणी नदी व्यवस्थापन कार्यालयमा तालाबन्दी गर्ने बताए। ‘आउँदो वर्षायाममै गैंडाकोटतर्फ ठूलो डुबान हुन र धनजनको क्षति हुने गरी एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिंगो गैंडाकोटबासीहरू आन्दोलनमा उत्रनुपर्छ,’ उनले भने। नेकपा एमाले गैंडाकोटका अध्यक्ष षडानन्द लामिछानेले तटबन्ध निर्माणको योजना ल्याउनका लागि गैंडाकोट नगरपालिकाले कुनै जिम्मेवारी निभाउन नसकेको बताए।

‘भरतपुर महानगरपालिकाले संघीय सरकारलाई ताकेता गरेर आफ्नोतर्फ ठूलो योजना ल्यायो तर गैंडाकोटले आउन लागेको योजनालाई पनि ल्याउन सकेन,’ उनले भने, ‘जिम्मेवारी पूरा गर्न नगरपालिकालाई दबाब दिन्छौं।’ लामिछानेले चितवन र नवलपुर दुवै क्षेत्रमा एकसाथ तटबन्ध हुनुपर्ने बताए। ‘उतामात्रै संरचना बन्दा त नदीले हाम्रोतर्फ ठूलो क्षति पुर्‍याउनेवाला छ। यहाँका ठूला बस्ती, व्यावसायिक प्रतिष्ठानहरू, खेत डुबाउँछ,’ उनले भने, ‘दुबैतर्फ एकैसाथ काम सुरू हुनुपर्छ भन्ने हाम्रो माग छ।’ भरतपुर महानगरले सी बिच मोडलमा विकास गर्ने भनिएको नदी किनारमा करिब १७ करोड रुपैयाँको लागतमा धमाधम तटबन्ध निर्माणको काम भइरहेको छ। गैंडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरूका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनु पर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्ने सहमति गरेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments