Incident Reports

हिमपातले मुस्ताङको जनजीवन प्रभावित

2015-02-18

Gandaki, Mustang, Barhagaun Muktikhsetra

हिमाली जिल्ला मुस्ताङमा मङ्गलबार रातिदेखि हिमपात भएको छ । वर्षासँगै हिउँ परेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम जोमसोम बजार पूर्णरुपमा बन्द भएको छ । सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । हिउँ परेका कारण पोखरा–जोमसोम हवाई उडानसमेत प्रभावित बनेको जोमसोम विमानस्थलले जनाएको छ । जिल्ला विकास समिति मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले भन्नुभयो, “आज बिहान ७ बजेदेखि हिउँ पर्न रोकिएको छ, मौसम पूरै खुलेको छैन, अझै हिउँ पर्ने सम्भावना छ ।” उहाँका अनुसार सदरमुकाम जोमसोममा एक फिटसम्म हिउँ जमेको छ । माथिल्लो गाविस मुक्तिनाथ, कागबेनी, लोमान्थाङ, छोसेर, छोण्हुपलगायतका क्षेत्रमा बढी हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्लाको तल्लो क्षेत्र मार्फा, कुञ्जो, लेतेलगायतका क्षेत्रमा भने हिमपात भएको छैन । त्यस क्षेत्रमा रातभर पानी परेपनि हिउँ नपरेको स्थानीयले बताएका छन् । हिमपातसँगै चिसो बढेपछि जिल्लाका सरकारी कार्यालयमा न्यून मात्रामा सेवाग्राही आउने गरेका छन् । मुस्ताङमा यो याममा छ पटकभन्दा बढी हिउँ परिसकेको छ । रासस

0 Comments