Incident Reports

महामारी थप ४ गाविसमा फैलियो, मृतकको संख्या १६ पुग्यो

2015-04-15

Karnali, Jajarkot, Kuse

जाजरकोटका विभिन्न गाउँमा दुई सातादेखि फैलिएको महामारीबाट बुधबार थप एक जनाको मृत्यु भएको छ। दुई दिनदेखि टाउको दुख्ने, ज्वरो आउने र रुघाखोकी लागेर बिरामी भएका टालेगाउँ ७ नं वडाका दलबहादुर शाहीको आज बिहान मृत्यु भएको हो। शाहीको मृत्युसंगै उक्त गाविसमा मर्नेको संख्या ६ र जिल्ला भरी मर्नेको संख्या १६ पुगेको छ। यसअघि ६ वटा गाविसमा फैलिएको प्रकोप थप ४ वटा गाविसमा पनि देखिएको छ। पैंक, पजारु टालेगाउँ, सक्ला, नायकवाटडा र अर्छानीमा गत दु्ईहप्ता अघिदेखि फैलिएको प्रकोप थप रोकायगाउँ, मजकोट, कोर्ताङ र लहँ गाविसमा फैलिएको स्थानीले बताएका छन्। यसैबीच पैंकमा उपचारका लागि खटिएका स्वास्थ्यकर्मी रामकृष्ण गिरी प्रकोपका कारण बिरामी भएर सदरमुकाम फर्किएका छन्। प्रकोपवाट अति प्रभावित पैंकमा गत डेढ हप्तादेखि व्यस्त रहेका गिरी बिरामी भएर खलंगा फर्किएको कार्यालयले जनाएको छ। जिल्लामा फैलिएको प्रकोपका बारेमा आज प्रमुख जिल्ला अधिकारीको संयोजनमा आकस्मीक बैठक बस्ने र उक्त बैठकले रोग नियन्त्रण तथा यसको प्रकोपबाट सर्वसाधारणलाई सचेत कसरी बनाउने भन्नेबारे छलफल र निर्णय गर्ने बताइएको छ। रोगको प्रकोप नियन्त्रण गर्न आफूहरुले पूरै संयन्त्र परिचालन गरेर अघि बढेको र अब केहि सर्तक भएर लाग्नुपर्ने मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डा.राजेन्द्र पन्तले बताए।

0 Comments