Incident Reports

छ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर गर्दैनः विज्ञ

2015-04-30

Bagmati, Kathmandu, Kathmandu, Ward 10

आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको १०७ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि हिजो राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो । अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो । भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् ।ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताए । भूकम्पको कम्पन कम भएसँगै पानी परेपछि सर्वसाधारणमा थप आशङ्का बढिरहेका बेला उनले पानी र भूकम्पको कुनै सम्बन्ध नहुने भएकाले यसबाट नअतालिन सर्वसाधारणलाई आग्रह गरे ।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र अब ६ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बताए। "तुलनात्मकरुपमा भूकम्पको दुरी कम हुँदै गएको छ । एक हप्तासम्म दिनमा दुई÷चार वटा जान सक्छ, अब यो हप्तामा एउटा, महिनामा एउटा तथा चार महिनामा एउटा हुँदै जान्छ, ठूलो कम्पन आउँदैन र छ रेक्टरमुनिकाले खासै असर पनि गर्दैन,"–उनले भने। रासस

0 Comments