Incident Reports

कालीगण्डकी थुनिँदा पाल्पा र स्याङ्जामा त्रास

2015-05-24

Gandaki, Myagdi, Raghuganga, Ward 3

म्याग्दीको भगवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिँदा पाल्पा र स्याङ्जा जिल्लाका बासिन्दासमेत त्रसित बनेका छन् । पाल्पा जिल्लाको अर्गली, बौघागुम्हा, खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, हुँगी, हेक्लाङ्, रामपुर नगरपालिका (गेझा, खालीवन, रामपुर, दर्छा, गाँडाकोट), बाँकामलाङ् गाविसका नदी तटका बासिन्दा त्रसित बनेका हुन् । ती गाविसका नदी तटमा रहेका बस्तीलाई राति २ बजेदेखिनै सचेत गराउन नजिकका प्रहरी चौकीलाई निर्देशन दिइसकेको सूचना अधिकृत प्रहरी नायव निरीक्षक प्रकाश सिम्खडाले जानकारी दिए । ‘राति नै सबै प्रहरी चौकीबाट स्थानीय नदी तटका बस्तीलाई सतर्क रहन खटाइएको छ,’ उनले भने । तर, कालीगण्डकी जलविद्यूत् आयोजनाको मिर्मिमा ठूलो जलाशय भएको र मिर्मिमा माथिल्लो क्षेत्रबाट आउने पानीको आधारमा मिलाएर ढोका खोल्ने हो भने ठूलो असर नपर्ने प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । ‘पानीको सतह घटेको भन्ने जानकारी आएपनि त्यस्तो हन सक्दैन,’ उनले भने । यसैगरी स्याङ्जाको, कारिकोट चण्डीभन्ज्याङ्, आलमदेवी, श्रीकृष्णगण्डकी, तुलसीभन्ज्याङ्, मालुङ्गा, चापाकोट नगरपालिका लगायतको नदी छेउका बस्ती जोखिममा छन् । ती बस्तीलाई प्रहरीले नदी छेउ नजान र घाँस दाउरा गर्न नजान आग्रह गर्दै हिडेको स्थानीय मालुङ्गाका कृष्णप्रसाद बस्यालले बताए । राम्दी प्रहरी चौकीका अनुसार पाल्पा र स्याङ्जाको समन्वयमा नदी तटीय क्षेत्रमा सचेत गराइएको छ । कतिपय जोखिमयुक्त बस्तीका बासिन्दालाई माथिल्लो क्षेत्रमा जानसमेत आग्रह गरिएको छ ।

0 Comments