Incident Reports

पालभित्र बालिका र युवतीहरू असुरक्षित, एउटा बलात्कार, पाँचवटा प्रयास

2015-05-28

Bagmati, Kathmandu, Kathmandu, Ward 10

” राजधानीको लैनचौरस्थित भूकम्पपीडितको अस्थायी शिबिरमा बसेकी ५ वर्षकी बालिका गत साता ४२ वर्षे व्यक्तिबाट बलात्कृत भइन् । महाभुकम्पपछि लैनचौरस्थित अस्थाइ शिबिरमा बाबुआमासंगै आश्रय लिइरहेकी ती बालिकालाई कोही नभएको मौका छोपी ती व्यक्तिले पालभित्रै बलात्कार गरेका थिए । पीडकलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । तनहुँका ३५ वर्षे धुब्र भण्डारीले टुँडिखेलमा खेलिरहेकी ९ वर्षकी बालिकालाई हातमा समातेर तान्दै लगिरहेको त्यहाँ खटिएका सुरक्षाकर्मीले देखे । 'सोधपुछ गर्दा बलात्कारको प्रयास भएको पाइयो,' नेपाली सेनाका कर्णेल प्रयोग जंगबहादुर राणाले भने, 'ती बालिकालाई ३/४ दिनदेखि लगातार पिछा गरिरहेका रहेछन् । बाबुआमा नभएको मौका पारी लाँदै गरेको देखेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएका हौं ।' भुकम्पपछि पालमा आश्रय लिइरहेका बेला ५ वटा बलात्कार प्रयासका घटना भएको प्रहरीले जनाएको छ । यो काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको मात्रै तथ्याङ्क हो । हालसम्म प्रहरीलाई आएको उजुरी अनुसार बसुन्धरा, थानकोट, टुँडिखेल, ठिमी, महाराजगञ्जमा रहेका शिबिरमा बालिकामाथि बलात्कारका प्रयास भएका छन् । उपत्यकाभन्दा बाहिरका जिल्लामा यसभन्दा धेरै दुव्र्यवहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । 'उपत्यका भित्र शिबिर वरिपरि प्रहरी र सुरक्षाकर्मी घुमिरहेकै अवस्थामा यस्ता घटना भएका छन्,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी नायब उपरिक्षक तारा थापाले भनिन्, 'भुकम्पले बढी प्रभाव पारेका दुर्गम जिल्लाका शिबिरमा बसेका युवतीहरुमाथि यस्ता घटना हुन सक्छन् ।' उनका अनुसार भुकम्पको त्रास नहटिसकेको अवस्थामा पीडितहरु उजुरी गर्न आउँदैनन् । हालसम्म प्राप्त तथ्याङ्कमा पनि धेरैजसो हामी आफैले देखेका घटना हुन् । राजधानीका विभिन्न ठाउँमा राखिएका घरजस्ता पालमा २० जनासम्म बस्नु पर्ने बाद्यता छ । कोचाकोच गरेर चिन्दै नचिनेको व्यक्तिसंग बस्नुपर्दा असहज भएको युवतीहरुको गुनासो छ । 'चिन्दै नचिनेका युवकहरुले रक्सी खाएर राती झगडा गर्ने, युवती सुतिरहेको ठाउँमा जाने गर्छन्,' टुँडिखेलमा बसिरहेकी २० वषर्ीया रोश्नी राइले भनिन्, 'एउटै पालभित्र ४/५ परिवार बस्दा सुत्ने ठाउँ नपुगेकै विषयमा झगडा भइरहन्छ । जति सुकै असहज भएपनि बस्नै पर्ने वाध्यता छ ।' अस्थायी शिबिरमा युवाहरुले अश्लिल बोल्ने, युवतीलाई जिस्क्याउने गरेका घटना पनि भएको प्रहरीले जानकारी दिएको छ । 'त्यस्ता घटनामा युवालाई सम्झाइ/बुझाइ गर्ने, नमान्नेलाई चेतावनी दिइरहेका छौं,' प्रहरी थापाले भनिन्, 'युवती र किशोरीहरुसंग अन्तरक्रिया गर्दै सजग रहन भनेका छौं ।' उनका अनुसार यस्ता घटना भए तुरुन्त प्रहरीलाई फोन गर्नु भन्दै नम्बर दिइएको छ । उपत्यका भित्र २४ सै घण्टा प्रहरीको मोवाइल भ्यान चलिरहन्छ । बाहिर जिल्लामा भएको घटनाबारे हालसम्म तथ्याङ्क आउन सकेको छैन । किशोरीहरुको सुरक्षामा सचेत हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पनि बिभिन्न सञ्चारमाध्यम मार्फत सचेत रहन आग्रह गरेको मन्त्रालयले जनाएको छ । 'पालभित्रै यौन दुव्र्यवहारका घटना भएको जानकारी आउन थालेपछि जिल्ला/जिल्लाका अस्थाइ शिबिरमा खटिएका सुरक्षाकर्मीलाई चनाखो रहन भनिएको छ,' मन्त्रालयकी सहसचिब राधिका अर्यालले भनिन्, 'टेलिभिजन र स्थानीय रेडियोमार्फत सजग गराउँदै सुचना प्रसारण गरिएको छ । कुनै घटना भए तत्काल प्रहरीमा खबर गर्न पनि भनिएको छ ।'

0 Comments