Incident Reports

कर्णाली-भेरीमा नयाँ प्रदेशको स्वागत, जुम्लामा विजय जुलुस, प्रदेशको नाम कर्णाली राख्न माग

2015-08-22

Karnali, Jumla, Chandannath, Ward 5

मुख्य दलहरुले कर्णाली र सुर्खेतको माग सम्बोधन हुने गरी नयाँ प्रदेश थपेपछि मध्यपश्चिमका पहाडी जिल्लाका आन्दोलन टुंगिएका छन् । प्रस्तावित नयाँ प्रदेशले समेटेका जिल्लाहरुमा शनिवार स्वागत जुलुस निस्केका छन् । बाँके, बर्दिया र दाङका थरुहट आन्दोलनकारी भने आफ्नो माग सम्बोधन नभएकोमा बेखुस देखिएका छन् । सुर्खेतमा नयाँ प्रदेश को स्वागत गर्दै आन्दोलनकारीहरुले खुशीयाली र्‍याली निकाले । उनीहरुले प्रादेशिक राजधानी घोषणा नहुदासम्म दबाब दिईरहने बताएका छन् । कांग्रेस कार्यवाहक सभापति उपेन्द्रबहादुर थापाले शीर्ष नेताहरुले सुरुमा ल्याएको अवैज्ञानिक सीमांकन मध्यपश्चिमबासीको आन्दोलनले सच्चिएकोमा खुशी व्यक्त गरे । एमाले अध्यक्ष धु्रवकुमार शाहीले हिमाल, पहाड र तराई मिसाएर अखण्ड मध्यपश्चिम बनाउनुपर्ने मागमा बाँके र बर्दियालाई छुटाइएकाले आंशिक सफलता हासिल भएको बताए । 'हरेक हिसाबले सहज प्रदेश बनाउनुपर्नेमा दलहरुले अमिल्दो खाका ल्याए । जनताको आन्दोलनले त्यो सच्चिएको छ' उनले भने । एमाओवादीका अध्यक्ष नरबहादुर विष्टले शहीदको बलिदानीलाई खेर जान नदिने प्रण गर्दै मध्यपश्चिम प्रदेशको राजधानी बनाउन सबै तहबाट लाग्नुपर्ने बताए । सुर्खेत आन्दोलनमा ज्यान गुमाएका टिकाराम गौतमका छोरा अमृतले मध्यपश्चिम छुट्टै प्रदेश भएकोमा खुशी व्यक्त गर्दै अव सुर्खेतलाई प्रादेशिक राजधानी बनाईए बुवाको सपना पूरा हुने धारणा राखे । 'शान्तिपूर्ण आन्दोलनमा गोली हान्नेमाथि छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ' उनले भने । मध्यपश्चिमलाई छुट्टै प्रदेश बनाइएपछि सुर्खेतबासीले खुशीयाली प्रकट गरेको र सुर्खेत नै प्रादेशिक राजधानी बन्ने दावी क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले गरे । उनले पूर्वाधार, विकास निर्माणलगायत अन्य विविध कारणले सुर्खेत नै यो प्रदेशको राजधानी बन्ने भएको उल्लेख गर्दै कर्णालीलाई विशेष अधिकार दिन आवश्यक रहेको बताए । जनदवावपछि दलहरुको शीर्ष नेतृत्वले कर्णालीको जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा, भेरीको सुर्खेत, दैलेख, जाजरकोट र राप्तीको सल्यान र रुकुम गरी १० जिल्ला समेटेर छैठौं प्रदेश बनाउने शुक्रबार निर्णय गरेका थिए । त्यसअघि साउन २३ गते मध्यपश्चिम टुक्राएको विरोधमा भएको आन्दोलनमा सुर्खेतमा तीन जनाको मृत्यु भएको थियोभने दर्जनौ घाइते भएका थिए । आन्दोलनबाट निजी तथा सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको थियो । जुम्लामा खुशीयाली र्‍याली कर्णालीबासिहरुले आफ्नो जायज माग राज्यले सम्बोधन गरेकोभन्दै खुसियाली मनाइरहेका छन् । विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै साउन २४ गतेदेखि कणर्ालीबासी आन्दोलनमा उत्रेका थिए । कर्णालीलाई प्रदेश ६ वनाएर त्यसभित्र सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र आधा रुकुम राखेकोमा जुम्लामा खुसियाली मनाइएको हो । एमाओवादीका जिल्ला अध्यक्ष विरबहादुर कुवरले मागको पूर्ण सम्बोधन हुन बाँकी रहेको बताए । 'कर्णालीलाई सुदुपश्चिमबाट अलग्याइ प्रदेश ६ बनाईएकोमा स्वागत गरेका हौ' उनले भने,- विशेष अधिकारसहितको प्रदेशको माग यथावत छ । युवा संघर्ष समितिका संयोजक लक्ष्मण शाहीले कर्णाली आन्दोलनको सम्बोधन भएकोमा मुख्य दलहरुलाई धन्यवाद दिएका छन् । 'आन्दोलन सार्थक भएको छ । तर, विशेष अधिकारसहितको प्रदेशको माग पुरा नभएकाले शान्तिपूर्ण दबाब कार्यक्रम भने जारी रहनेछन्' उनले भने । आन्दोलनका अगुवा एमाले पूर्वसचिव रतननाथ योगीले कर्णाली संघर्ष नगरेसम्म केही नपाउने नेतहरुको प्रवृत्तिले देखाएको बताए । 'पहिलो प्रस्तावमै अहिलेको खाका आउने आशा थियो । तर, नेताहरुले कर्णाली संघर्ष नगरेसम्म केही नदिनेझै गरे' उनले भने,-आखिर जनताले उनीहरुलाई सही निर्णय गर्न बाध्य बनाएरै छाडे । स्वागत एवं खुसीयालि र्यालि निकालेर जिल्ला प्रशासन कार्यालयअगाडि कोणसभा गरिएको छ । पूर्वमन्त्री भक्तबहादुर रोकायले आन्दोलनको पहिलो चरण समाप्त भए पनि अधिकारको माग पूरा नभएसम्म शान्तिपूर्ण संघर्ष गरिरहने बताए । आन्दोलनका अगुवाहरुले शान्तिपूर्ण आन्दोलनमा गोलि चलाउनेलाई कारवाहीको माग गर्दै घाइतेहरुको निःशुल्क उपचारको समेत माग गरेका छन् । मुगुमा अबिर जात्रा र दीपावली सिमसिमे झरी परिरहे पनि मुगुमा नयाँ प्रदेशको घोषणाको खुशी साट्न छेकिएन । आन्दोलनकारीले अबिरजात्रा गर्दै गमगढी बजार परिक्रमा गरेका छन् । यस्तो लाग्थ्यो, मध्यबषर्ामा मुगुमा फागुपूणिर्मा हुदैछ । खुशीयालीमा युवादेखि बुद्धसम्म सहभागी थिए । १३ दिन लामो आन्दोलनको समापन गर्दै राजनीतिक दल, नागरिक समाज, ब्यापारी कर्मचारीहरुले शनिबार मध्यान्ह हर्ष उल्लासका साथ खुशीयाली मनाएका हुन् । र्‍यालीमा सहभागी युवा तथा महिलाहरु बाजा टोली लिएर अबिरजात्रा गरेका छन् । शनिबार बेलुका गमगढी बजार क्षेत्र र आसपासका गाउँबस्तीमा दिपावली पनि गरिएको छ ।समग्र कर्णालीबासीको माग सरकारले पुरा गरेकोमा खुशी व्यक्त गर्दै संर्घष समितिका संयोजक हस्तबहादुर मल्लले भने,- यो प्रदेशमा बाँके र बर्दिया पनि मिलाई दिएको भए सुनमा सुगन्ध हुने थियो । दैलेखमा पनि स्वागत प्रस्तावित ६ प्रदेशको सीमांकन पुनरावलोकन गर्दै मध्यपश्चिमका १० जिल्ला समेटेर बेग्लै प्रदेश बनाउने सहमतिको यहाँका बासिन्दाले स्वागत गरेका छन् । साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित राजनीतिक दल, नागरिक अगुवा, व्यवसायी लगायतले प्रमुख राजनीतिक दलहरुबीच शुक्रबार भएको सहमतिले आफूहरुको माग सम्बोधन भेरी-कर्णाली प्रदेशको माग राखी १२ दिनदेखि आन्दोलित दैलेखबासीले प्रस्तावित नयाँ प्रदेशमा बाँके र बर्दिया जिल्लासमेत समेट्नुपर्ने बताएका छन् । पछिल्लो प्रस्तावित ६ नम्बर प्रदेशमा बाँके-बर्दियालाई प्रदेश नम्बर ५ मै राखिएको छ । कांगे्रस जिल्ला सभापति कृष्णकुमार वीसीले नयाँ प्रदेश थप्ने पछिल्लो सहमतिको सबैले स्वागत गर्नुपर्ने विचार व्यक्त गरे । १० जिल्ला समेटेर बनाइएको ६ नम्बर प्रदेश प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणबाट सम्बृद्ध रहेको बताए । एमाले अध्यक्ष रविन्द्रराज शर्माले भेरी, कर्णाली र राप्तीका केही जिल्लाहरु समेटेर बनाइएको नयाँ प्रदेशले आफूहरुको माग पुरा गरेको धारणा राखे । 'अखण्ड मध्यपश्चिमको मागले संविधान निर्माणमा अवरोध पुर्‍याउँछ' शर्माले भने, आन्दोलनबाट एउटा महत्वपूर्ण उपलब्धी हात लागेको छ । धेरै माग्नुभन्दा यसैलाई संस्थागत गर्नुपर्छ ।' त्यस्तै, एमाओवादी सचिव छवि सुवेदीले प्रदेशको सीमांकन पुनरावलोकन भएकामा खुसी व्यक्त गरे । जिल्लाका व्यवसायीले बाँके-बर्दियालाई समेत ६ नम्बर प्रदेशमा समेट्न पहल गर्न स्थानीय राजनीतिक नेतृत्वसमक्ष आग्रह गरेका छन् । १२ दिनदेखिको बन्दले प्रभावित जिल्लाको जनजीवन शनिबारबाट सामान्य बन्दै गएको छ । पसल व्यवसाय खुलेका छन् भने यातायात सुचारु भएको छ । सल्यानमा बन्द फिर्ता प्रदेश बिभाजनका क्रममा सुदुरपशिचममा परेपछि लगातार बन्द रहेको सल्यान भेरी-कर्णालीसहितको नयाँ प्रदेशमा परेपछि बन्द फिर्ता भएको छ । अघिल्लो सिमांकनप्रति असन्तुष्टि जनाउदै उद्योगी व्यवसायी र राजनीतिक दलहरुले गरेको अनिश्चितकालिन बन्द फिर्ता लिएका छन । सल्यानलाई पायक पर्ने प्रदेशमा राखिएपछिसर्बदलिय बैठकले बसेर बन्द फिर्ता भएको हो । यातायातका साधन चल्न थालेका छन भने लामो समय बन्द रहेका पसलहरु पनि संचालनमा आएका छन । आईतवारदेखि बिद्यालयसमेत संचालनमा आउने भएका छन । (साथमा, मोतीलाल पौडेल/सुर्खेत, एलपी देवकोटा/जुम्ला, राजबहादुर शाही/मुगु, प्रकाश अधिकारी/दैलेख र विप्लव महर्जन/सल्यान)

0 Comments