Incident Reports

इन्धन कालोबजारीमा निगमकै कर्मचारी, निगमका थानकोट डिपो प्रमुख पक्राउ

2015-12-13

Bagmati, Kathmandu, Kathmandu

इन्धन अभावको मौका छोपेर अनियमितता गरेको आरोपमा मुछिएका नेपाल आयल निगम थानकोटका डिपो प्रमुख रविन शर्मा पक्राउ परेका छन् । प्रहरी, दमकल र सेनालाई बाँड्नुपर्ने इन्धन आफन्तलाई बाँडेको वाणिज्य तथा आपूर्ति मन्त्रालयको छानबिनमा परेका शर्मालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो । उनलाई महाशाखाले आइतबार पम्प सञ्चालकसँग मिलेर उपभोक्ता ठगी गरेको आरोपमा पक्रेको हो । कालोबजारीमा संलग्न रहेको आरोपमा उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । निगमले अपारदर्शी रुपमा इन्धन वितरण गरेर कालोबजारी गरेको आक्षेप लागेपछि पछिल्लो समय गोरखापत्रमा सूचना निकालेर इन्धन वितरण थाले पनि शर्माले यस्तो सूचनामा परेको पम्पलाई इन्धन नदिएर आफू निकटका पम्प सञ्चालकलाई इन्धन दिएको खुलेपछि आयल निगमले उनलाई प्रष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो । डिजिटल नोजलमा चिप्स प्रयोग गरी उपभोक्ता ठगी गर्ने पम्प सञ्चालक र प्राविधिकलाई पक्राउ गरी प्रहरीले उपभोक्ता ठगीविरुद्ध विशेष अप्रेसन चलाउँदा थानकोट डिपोका एक कर्मचारी हेमविक्रम बरालसमेत पक्राउ परेका थिए । महाशाखाले पम्प मर्मतको जिम्मेवारी लिएका भारतीय नागरिकले पम्प सञ्चालकसँगको मिलेमतोमा चिप्स जडान गरी तोकिएभन्दा कम परिमाणको तेल दिएर उपभोक्ता ठग्ने गरेको खुलेपछि त्यस्ता १३ पम्पमा छापा मारेर सञ्चालक र उनीहरुलाई सघाउने भारतीय प्राविधिकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । उनीहरुको बयानबाट शर्माको नाम आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए । महाशाखा स्रोतका अनुसार तोकिएभन्दा कम परिमाणमा तेल दिएर ठगी गरेको भन्दै शर्माविरुद्ध गुणस्तर तथा नापतौल विभागमा समेत उजुरी पुगे पनि विभागले कारबाही प्रक्रिया अगाडि बढाएको थिएन । १२ हजार लिटर क्षमताको ट्यांकरमा तेल पठाए पनि परिमाण भने ११ हजारभन्दा बढी नभेटिएपछि उनीविरुद्ध उजुरी परेको स्रोतले जानकारी दियो । अत्यावश्यक सेवाका लागि निगमले छुट्याएको कोटाको इन्धन आफूनिकटका पम्प सञ्चालकलाई पठाएर कालोबजारी गरेको भन्दै शर्माविरुद्ध प्रहरीमा समेत गुनासो आएको स्रोतले जानकारी दियो । प्रहरीले पेट्रोल, डिजेल वितरण गर्ने डिजिटल नोजलमा चिप्स जडान गरी रिमोटमार्फत आफू अनुकूलको परिमाण देखाएर उपभोक्ता ठगी गरेको आरोपमा प्राविधिक भारतीय नागरिक मोहम्मद अबरार, नसिम सिद्धिकी, आयुब आलम, शेख इम्तिहाज र हमिद हुसेनलाई पक्रेको थियो । उनीहरुले खुलाएको पम्पमा छापा मार्दा चिप्स र रिमोट फेला परेपछि प्रहरीले गायत्रीदेवी आयल स्टोर्सका शैलेन्द्रनाथ बादे, श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्स, चापागाउँका शिव तिमल्सिना, युनिक फ्युल सेन्टर, बालकुमारीका गोपाल महर्जन, त्रिशक्ति फ्युल सेन्टर, सानेपाका युनुष प्रधान, क्रिस्टल फ्युल सप्लायर्स, बालाजुका कल्याण खड्का, भक्तपुर फ्युल सेन्टर, आदर्श बस स्टपका पुण्यराम बखाडेया र न्यु बगलामुखी आयल स्टोर्सका सञ्चालक सीताराम घिमिरेलाई पक्रेको थियो । राजधानी आयल, गोपीकृष्ण, न्यु पुष्पाञ्जली आयल ट्रेडर्स प्रालि, जयबागेश्वरी, पूजाकोठी आयल स्टोर्स, नयाँ बसपार्क, दिव्या सप्लायर्स, सामाखुसीमा समेत छापा मारेर ठगीमा प्रयोग भएको उपकरण बरामद गरे पनि सञ्चालक पक्राउ परेका थिएनन् । एसएसपी खनालले अगाडि कालोबजारीमा पक्राउ परेका पम्प सञ्चालक र भारतीय प्राविधिकले ठगी सञ्जालमा शर्माको नामसमेत लिएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको र कालोबजारीको अभियोगमा अनुसन्धान अगाडि बढाउने जानकारी दिए । 'अहिले हामीले पक्राउ गर्नुको कारण यसअगाडि पक्राउ परेकाहरुको बयान नै हो,' उनले नागरिकसँग भने, 'अनुसन्धान क्रममा अन्य विषय खुले त्यसबारे पनि अनुसन्धान हुन्छ ।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments