Incident Reports

ऋण असुल्न राहतै कब्जा

2016-01-21

Bagmati, Dhading, Benighat Rorang

लैताप गाउँका भीमबहादुर चेपाङले भूकम्पपीडितलाई दिएको न्यानो कपडा किन्ने १० हजार रुपैयाँको चेक बुझे । छेउमै राखिएको एभरेस्ट बैंकको काउन्टरमा गएर त्यसको नगद बनाए । फोकस नेपाल नामक गैरसरकारी संस्थाका कर्मचारीले उनलाई च्याप्प समातेर ताने । एकान्तमा लगेर ५ हजार रुपैयाँ जबर्जस्ती लिए । ‘न्याना कपडा किनिदिन साथमा ल्याएका चार जना बालबालिकालाई बचेको ५ हजारले दु:खसुख लुगा किनिदिएर रित्तो हात फर्किएँ,’ भीमबहादुरले सुनाए । मझिमटारस्थित जोगिमारा गाविस भवनमा सोमबार फाया नेपाल नामको संस्थाले ‘न्यानो कार्यक्रम’ को पैसा लगेको थियो । जाडोमा भूकम्पपीडितलाई दिने सरकारी घोषणाअनुसार यस गाविसमा फायाले जिम्मा लिएको थियो । उसले दिने चेक साट्न सजिलो होस् भनेर बैंक काउन्टर छेउमै राखिएको थियो । त्यही राहत बुझ्न लाइनमा थिए लैताप–२ का सिद्धिलाल चेपाङ पनि । उनले पनि चेक बुझे । काउन्टरमा साटे । फोकसका कर्मचारीको घेराउमा परे । बुझेको सबै रकम उनीहरूलाई बुझाए । र, हात टकटक्याउँदै घरतिर लागे । भूकम्पपीडितकै सहयोगार्थ धादिङमा कार्यरत रहेको दाबी गर्ने फोकसले भूकम्पपीडितले पाएको राहतलाई पुरानो ऋण उठाउने मौका छोपेको हो । ‘प्रहरी लगाएर भए पनि ऋण असुल्छौं भन्ने धम्की दिएपछि बुझाउन बाध्य भयौं,’ एक पीडितले भने । फोकसका कर्मचारी हातमा सूची बोकेर बसेका थिए । ज–जसको नाम आउँछ, तिनलाई छेउमा बोलाएर रकम असुल्थे । फोकसले पाँच वर्षअघि चेपाङ समुदायमा कसैलाई बाख्राका पाठा, कसैलाई बंगुर, कसैलाई तरकारीका बीउबिजन दिएको थियो । त्यसको १० हजार रुपैयाँका दरले ऋण लेखेको थियो । जबकि उक्त रकम सरकारकै गरिबी निवारण कोषले फोकसलाई उपलब्ध गराएको थियो । सरकारले गैससलाई कसरी छाडा छोडेको छ र अधिकांश गैससले दिने नाममा कसरी डसिरहेका छन् भन्ने यो उदाहरण हो । जोगिमारामा ६ सय ५० परिवार चेपाङ छन् । तीमध्ये अति विपन्न १ सय ५० परिवारलाई ऋण दिइएको थियो । गैससमार्फत दिइएको सरकारी रकमलाई सामूहिक जमानीमा ऋण भनिएको थियो । त्यसको ब्याज र हर्जाना जोडदै उठाउँदा–उठाउँदा गरिब चेपाङहरू उल्टै टाट पल्टिसकेका छन् । पाँच वर्षमा चक्रवर्ती ब्याजले ऋण दोब्बर पारिएको छ । लतापका चन्द्रबहादुर चेपाङले बाख्रा पाल्न सकेनन् । दृष्टिविहीन श्रीमतीको उपचार गर्न त्यसलाई बेचे । उपचारमै पैसा सकियो । श्रीमती र आफूलाई ताता कपडा किनेर बाँकी पैसाले केही महिना घर खर्च धान्ने आसमा उनी पनि राहत बुझ्न पुगे । ‘फोकसका कर्मचारीले पाँच हजार खोसेर लगे,’ उनले बिलौना गरे, ‘बिरामी श्रीमतीको उपचारमा ऋण सकियो । ब्याज बढदै गएर तिर्नै नसक्ने भएँ ।’ स्थानीय शिक्षक रामकुमार चेपाङका अनुसार सामाजिक परिचालनका अभावमा त्यति बेला आयमूलक कार्यक्रम असफल भएको थियो । ‘संस्थाले दिएको ऋणबाट चेपाङहरूले आयआर्जन गर्न सकेनन्,’ उनले भने, ‘उल्टै बाख्रा बंगुर बेच्दै ऋण तिरे । ब्याज बढदै गएकाले तिर्नै नसक्ने भए ।’ यहाँसम्म कि वितरण स्थलबाट असुली गर्न नसकेकालाई पछ्याउँदै फोकसका कर्मचारी चेपाङका घर–घरसमेत पुगेका थिए । नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले भने, ‘न्यानो कपडाको सरकारी राहत चेपाङका लागि कागलाई बेल पाकेसरह भएको छ ।’ फोकसले राहत वितरणस्थलका करिव सय जनाबाट ६ लाख रुपैयाँभन्दा बढी उठाएको छ । फोकसले वितरण स्थलबाटै रकम उठाएको स्वीकारेको छ । ‘स्थानीय समूहकै निर्णयमा सक्रिय सदस्य र हाम्रा कर्मचारी ऋण असुलीमा परिचालन भएका हुन्,’ फोकसको गरिबी निवारण कोषतर्फका कार्यक्रम संयोजक लालप्रसाद पोखरेलले भने । स्थानीय विकास अधिकारी भगवान अर्यालले भूकम्प पीडितहरूको नाममा वितरण भएको रकमबाट ऋण असुली गर्नु अन्यायपूर्ण भएको बताए । ‘यसबारे अनुसन्धान गरिने छ,’ जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य सचिवसमेत रहेका उनले भने ।

0 Comments