Incident Reports

आन्दोलनलाई खुकुलो पारेपछि तराईमा जनजीवन सहज

2016-01-30

Madhes, Parsa, Birgunj, Ward 2

आन्दोलनरत मधेस केन्द्रित दलले आन्दोलनलाई केही खुकुलो पारेपछि मध्य तराईका जनजीवन अहिले सहज भएको छ। जनजीवन सहज हुन थालेपछि मध्य तराईका बारा, पर्सा र रौतहटका सर्वसाधारणलाई राहत भएको छ। विगत साढे पाँच महिनादेखिको निरन्तर बन्द, हडताल र नाकाजामका कारण यस क्षेत्रका जनजीवन त्रसित बनेको थियो। आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले जिल्लास्तरमा उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिएपछि स्थिति सहज भएको हो। बाराका सदरमुकाम कलैया, पर्साको वीरगन्ज र रौतहटको गौर बजारमा सर्वसाधारणको भीडभाड बढ्न थालेको छ । मुख्य बजारमा बिहानैदेखि पसल निर्बाध खुल्न थालेका छन्। सदरमुकाम कलैया, वीरगन्ज र गौरबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन चल्न थालेका छन् । यसअघि काठमाडाँै, पोखरा, विराटनगरलगायतका सहरमा आउन जानका लागि बाराको सिमरा र रौतहट चन्द्रनिगाहपुर पुग्नुपर्ने बाध्यता थियो। मानवीय समवेदनालाई ध्यानमा राखी नाका अवरुद्ध गर्नेबाहेक उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिने मौखिक सहमति दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक स्थानीय नेताले बताए । तर औपचारिक रुपमा आन्दोलन फिर्ता नलिएकाले व्यवसायीले सुरक्षित महसुस भने गर्न सकेका छैनन् । स्थानीय व्यवसायीका अनुसार वीरगन्ज रक्सौल नाका बन्द हुँदा अन्य नाकाबाट आएका सामानको ढुवानी लागत बढी परेको छ। लागतअनुसारको मूल्य नपाउँदा व्यवसाय सङ्कटमा पर्न थालेकाले यो भन्सार नाका सुचारु गर्नका लागि सरकार र आन्दोलन दुवै पक्षसँग व्यवसायीले माग गरेको छ । गत शनिबार संविधानमा भएको संशोधनले केही माग सम्बोधन गरिसकेकाले बाँकी अन्य मागको हकमा वार्ता र संवादमार्फत सम्बोधन गराउनका लागि स्थानीय बुद्धिजीवीले सरकार र आन्दोलनकारी दुवै पक्षसँग आग्रह गरेको छ । रासस

0 Comments

Related Trend Analysis