Incident Reports

हतकडीसहित भागेका अभियुक्त पक्राउ

2016-02-05

नौं वर्षअघि हतकडिसहित फरार मानवबेचविखन मुद्दाका आरोपिलाई नुवाकोट प्रहरीले बिहीबार पक्राउ गरेको छ । दाङसिङ-५ का ३८ वर्षका लालबहादुर तामाङलाई प्रहरीले उनकै घरबाट प्रक्राउ गरेको हो । दाङसिङ-५ का २२ वर्षकी र १९ वर्षकी दुई युवतीलाई २०६४ साल कात्तिक ९ गते भारततर्फ बेच्न लैजाँदै गर्दा पर्सा जिल्लाको इनर्वाबाट पीडितहरुलाई उद्धार गरि पीडक तामाङलाई पक्राउ गरेको थियो । पीडितको जाहेरीमा पर्सा जिल्ला अदालतले नुवाकोट क्षेत्र पर्ने भन्दै मुद्दा नुवाकोटमा लैजान आदेश दिएपछि २०६४ साल कात्तिक २३ गते नुवाकोट आउनेक्रममा विदुर नपा–४ बट्टारबाट अभियुक्त तामाङ हतकडीसहित फरार भएका थिए । फरार प्रतिवादी तामाङलाई जिल्ला अदालते १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । फरार तामाङ भारतमा लुकीछिपी बस्दै आएको र बेलाबेलामा घरसमेत आउने गरेको सुराकीको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सिद्धीविक्रम शाहले बताउनुभयो । फरार अभियुक्त तामाङलाई बिहीबार नै जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ । अभियुक्त ताामाङ फरार भएपछि उनलाई नुवाकोट ल्याउने प्रहरी हबल्दार रामशरण राई र प्रहरी जवान रामकृष्ण ओझालाई तत्काल निलम्बन गरि जिल्ला प्रहरी कार्यालय पर्साले विशेष अदालत गठन गरि कारवाही हुँदा १५ हजार रुपैयाँ जरिवाना र सेवाबाट वर्खास्त गरिएको थियो । फरार अभियुक्तहरुलाई पक्राउ गर्नै अभियान नै सञ्चालन गरिरहेको प्रहरीले यो वर्ष हात हतियार खरखजाना मुद्दामा ४ जना र मानवबेचविखन मुद्धाका ८ जनालाई पक्राउ गरिसकेको छ ।

0 Comments