Incident Reports

सटगनसहित समातिए विश्वक्रान्ति

2016-04-06

Bagmati, Lalitpur, Lalitpur

प्रहरीले अवैध हतियारको आडमा धम्काएर रकम असुलीमा संलग्न रहेको आरोपमा विश्वक्रान्ति सिंहलाई पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगको घटनामा खोजी गरिएका विश्वक्रान्तिलाई महानगरीय प्रहरी परिसर ललितपुरले मंगलबार हतियार, गोली, लागुऔषध खैरो हेरोइन र समुद्री घोडासहित पक्राउ गरेको हो। प्रहरीले उनलाई सटगन र त्यसको २८ राउन्ड गोली, १२ बोरको राइफल र त्यसको १ सय ३० राउन्ड गोली, प्रतिबन्धित समुद्री घोडा, तमसुक, खैरो हेरोइनसहित ललितपुर, सानेपामा पक्राउ गरेको हो। सट गन र १२ बोर राइफल लाइसेन्स लिएर राख्न सकिने हतियार हुन्। परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार सिंहले ती हतियारबारे कुनै कागजपत्र पेस गरेका छैनन्। 'उनीबाट बरामद हतियार लाइसेन्स लिएर राख्न सकिने प्रकृतिका भए पनि उनले हतियारबारे कुनै कागजपत्र देखाउन सकेका छैनन्,' अधिकारीले भने, 'वैध या अवैध हामी अनुसन्धानमै छौं।' केही दिन अगाडि ललितपुर, झम्सीखेलको मिरर बारमा झगडा हुँदा हतियार प्रहार भएको थियो। प्रहरीले सोही घटनाको अनुसन्धान क्रममा सिंहको खोजी गरेको थियो। डेरामा रहेको सूचनापछि मंगलबार बेलुका सिंह बस्ने डेरामा छापा मारेर पक्राउ गरेको हो। प्रहरीले उनीविरुद्ध बुधबार लागुऔषधको अभियोगमा अनुसन्धान अगाडि बढाएको छ। मकवानपुर हेटौंडाका सिंह प्रहरी सूचीमा संगठित अपराधका गतिविधिमा संलग्न नाइके हुन्। उनी पछिल्लो समय ललितपुरको सानेपा क्षेत्रमा बस्दै आएका थिए। परिसरका एसपी अशोक सिंहले सिंहविरुद्ध विभिन्न अपराधबारे उजुरी परेको जानकारी दिए। 'गुन्डागर्दी र पैसा असुलीदेखि लागुऔषध कारोबारसम्म उनको संलग्नता रहेको प्रमाण भेटिएको छ, अनुसन्धान हुँदैछ,' एसपी अशोकले भने। हतियार देखाएर सिंहले अपराध नै आफ्नो व्यवसाय बनाएको एसपी अशोकको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। एसएसपी अधिकारीले सिंहविरुद्ध ९ वटा आपराधिक घटनामा अनुसन्धान हुने बताए। सिंहबारे परेको उजुरी र बरामद सामग्रीका आधारमा उनीविरुद्ध अनुसन्धान हुने अधिकारीले बताए। सिंहविरुद्ध अवैध हातहतियार राख्ने, ठेक्कापट्टाबाट रकम असुली गर्ने, व्यवसायी धम्क्याएर पैसा असुल्ने, लेनदेनको रकम असुली गरी कमिसन लिने, गुन्डागर्दी गर्ने, लागुऔषध कारोबार गर्ने, र जनमानसमा डर त्रास फैलाइ आतंकित पार्ने गरि ९ अपराधमा संलग्नता रहेको प्रहरीको दाबी छ। 'लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरेका छौं,' अधिकारीले भने, 'बिस्तारै अन्य आपराधिक घटनामा संलग्नता खुल्दै जानेछ।' २०५६ देखि अपराधमा संलग्न सिंह पक्राउ पर्दै छुट्दै आएका थिए। काठमाडौंका यातायात व्यवसायी शेखर गुरागाईको अपहरण तथा फिरौती लिएको आरोपमा उनी २०६४ मंसिर ११ मा पक्राउ परेका थिए। प्रारम्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालनिकट रहेका सिंह हाल मधेश केन्द्रित दलका लागि तराईमा सक्रिय छन्। पछिल्लो समय ललितपुरका डिएसपी दयानिधी ज्ञवालीसहित तीन प्रहरी पक्राउमा बिचौलियाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरी हिरासतमा राखे पनि पछि मुक्त गरेको थियो।

0 Comments