Incident Reports

१७ वर्षीया युवतीले गरिन् जबरजस्ती बिहेविरुद्ध विद्रोह

2016-04-06

उमेर नपुग्दै अभिभावकले जबरजस्ती बिहे गरिदिन लागेपछि वीरगन्जकी रिंकु ठाकुर लोहारले विद्रोह गरेर घर त्यागेकी छन्। बुधबार बिहान घरपरिवार छाडेर निस्किएकी रिंकुलाई वीरगन्जस्थित माइती नेपालले आफ्नो आवधिक गृहमा संरक्षण दिएर राखेको छ। 'आज मलाई गलत भन्ने मेरा बुबाआमा र समाजलाई भोलिका दिनमा म सही थिएँ भनेर देखाउनु छ', आवधिक गृहमा बुधबार भेटिएकी १७ वर्षीया रिंकुले भनिन्,'यो कुरालाई मैले इखकै रूपमा लिएको छु। म अझै पढ्छु। मधेसी समाजका लागि नमुना बनेर देखाउँछु।' वीरगन्ज उपमहानगरपालिका १ छपकैयाका नागेन्द्र ठाकुर लोहारकी जेठी छोरी हुन् रिंकु। उनले १२ कक्षा पास गरेकी छन्। उनका एक बहिनी र भाइ छन् । उनी हाल वीरगन्जकै तराई एफएममा समाचार वाचन गर्छिन्। मधेसी दलित परिवारकी रिंकुको उनका अभिभावकले उमेर नपुग्दै भारत घोडासहनका सात कक्षा पढेका युवकसँग बिहेको कुराकानी छिनेका छन्। वैशाख १३ मा उनको बिहे तय भएको छ। बिहेका लागि रिंकुका अभिभावकले केटा पक्षलाई नगद एक लाख ३० हजार रुपैयाँ दाइजो बुझाइसकेका छन्। उमेर नपुगेकाले अहिले बिहे नगर्ने र अझै पढ्ने इच्छा बारम्बार सुनाउँदा पनि बुबाआमाले जबरजस्ती बिहेको कुरा छिनेको रिंकुले बताइन्।'मेरो उमेर पनि भाको छैन, अझै पढ्न चाहन्छु। अहिले म बिहे गर्दिनँ भनेर धेरै रोइकराइ गरें', रिंकुले भनिन्,'मलाई घरमै बन्धक बनाएर राखियो। शारीरिक र मानसिक यातना दिइयो।' घरमै बस्दा अभिभावकले बलजफ्ती अन्माएर पठाइदिने निश्चित भएपछि विद्रोह गरेर घर छाडेको उनले बताइन्। उनले भनिन्,'मधेसी समाजमा उमेर नपुगेका चेलीबेटीको करकापमा बिहे गर्ने विकृति धेरै छ। अब पनि कति बलिदानी गर्ने, कहिलेसम्म यसरी सहने भनेर मैले यो कदम उठाएकी हुँ।' 'बिहेको कुरा चल्दादेखि नै मैले हुन्न भन्दै आएँ। मेरो कुरा कसैले सुनेनन्। त्यसैले आज मैले घर छाडें', उनले भनिन्,'मैले यो विद्रोह आफ्ना लागि मात्र होइन, मधेसी समाजका अरू दिदीबहिनीका लागि पनि गरेकी हुँ।' बलजफ्ती बिहेका लागि अभिभावकले यातना दिन थालेपछि रिंकु गत बिहीबार पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठसँग गुहार माग्न पुगेकी थिइन् । उनले भनिन्,'मलाई यो पनि थाहा छ, यो विद्रोह मेरा लागि त्यति सहज छैन तर विश्वाससाथ भन्छु आज मेरो घरपरिवार र समाजले गलत भने पनि भोलिका दिनमा उनीहरूले नै मलाई सम्मान गर्नेछन्। त्यसका लागि मैले यही समाजमा केही गरेर देखाउनु छ।' प्रहरी उपरीक्षक श्रेष्ठले बिहे गर्ने उमेर नपुगेकाले रिंकुको इच्छाविपरीत बिहे नगरिदिन भन्दै रिंकुका बुबा र आमालाई सम्झाइबुझाइ गरेर पठाएका थिए। प्रहरीले सम्झाएर पठाए पनि रिंकुका बुबाआमाले शुक्रबारदेखि नै उनलाई शारीरिक यातना दिएर घरमै बन्धक बनाएर राखेका थिए। आफ्नै घरमा बन्धक बनाइएको खबर पाएपछि रिंकुलाई प्रहरीले मंगलबार बेलुकी उद्धार गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो। मंगलबार बेलुकी प्रहरी कार्यालयमा रिंकुसँगै आएका उनका फुपाजु र फपूलाई जिम्मा लगाएर प्रहरीले पठाएको थियो। मंगलबार बेलुकी उद्धार गरेर प्रहरी कार्यालयमा ल्याइएकी रिंकुले आफू अब घरमा बस्न नसक्ने र घरमा बस्दा ज्यान पनि जान सक्ने भन्दै पटकपटक भनेपछि बुधबार बिहान प्रहरीकै सहयोगमा उनले घर छाडेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। रिंकुले गुहार मागेपछि उनलाई उद्धार गर्न बुधबार बिहान प्रहरी उपरीक्षक श्रेष्ठ, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी, माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीका साथै सञ्चारकर्मीको टोली उनको घरमा पुगेको थियो। उनले भनिन्,'म अब घरमा बस्न सक्दिनँ, घरमा बसे भने कि त जबरजस्ती मेरो बिहे गराइदिन्छन् कि मेरो ज्यान लिन्छन् ।' प्रहरी उपरीक्षक श्रेष्ठले भने,'पटकपटक घर छाड्ने कुरा गरेपछि रिंकुलाई उनकै इच्छामा बुधबार प्रहरीको सहयोगमा उद्धार गरेर माइती नेपालको जिम्मा लगाइएको हो।' रिंकुको खाना र बसोबासको प्रबन्ध माइती नेपालको आवधिक गृहमा गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक बोगटीले उनको शिक्षाका लागि पनि वीरगन्जका कलेज सञ्चालकसँग कुरा भइरहेको बताए। 'रिंकुको खानपान, बास र शिक्षाको प्रबन्ध प्रहरी र माइती नेपालले गर्छ', उनले भने,'आजदेखि रिंकुको जीवनले नयाँ मोड लिएको छ, यस्ता साहसी मधेसी किशोरीलाई म सलाम गर्छु । रिंकुजस्तै अन्य युवतीले पनि समाजमा विकृतिका रूपमा रहेको बालविवाह र जबरजस्ती विवाहको विरोध गर्न सके समाजमा यस्ताखाले विकृति न्यूनीकरण गर्न सकिन्छ।' माइती नेपाल वीरगन्जकी प्रमुख पुरीले रिंकुलाई माइती नेपालको आवधिक गृहमा संरक्षण दिएर राखिएको बताइन्। उनले थपिन्,'आजदेखि यिनी मेरै छोरी भएकी छन् । यिनको पढाइलाई निरन्तरता दिन्छौं।' मधेसी समाजमा उमेर नपुग्दै बिहे गर्न अस्वीकार गरेर परिवारबाटै विद्रोह गरेर घर छाड्ने रिंकु उदाहरणीय बनेको पुरीले बताइन् ।'मधेसी समाजमा यो पहिलो घटना हो। रिंकुको साहस र हिम्मतलाई सबैले सलाम गर्नुपर्छ, उनले भनिन् ,'रिंकुको यो कदमले मधेसका अरू पनि चेलीबेटीलाई बाटो देखाएको छ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments