Incident Reports

काठमाडौं केन्द्रित आन्दोलन सुरु भयो: गठबन्धन

2016-04-19

संघीय गठबन्धन आबद्ध २४ दलका नेताले काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम आयोजना गर्दै गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत आदिवासी जनजाति पार्टीका नेताहरूले त्यसको घोषणा गरेका हुन् । छ महिनासम्म मधेसमा शान्तिपूर्ण आन्दोलन गर्दा पनि काठमाडौंको सत्ता प्रतिक्रियाविहीन भएको भन्दै अब राजधानीमै विस्तृत आन्दोलन गर्ने गरी मंगलबारको बैठकबाट खाका सार्वजनिक गरिने संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले जनाए । ‘अब जनआन्दोलन सुरु भयो, भोलिदेखि गठबन्धनको बैठक राखेर विस्तृत कार्यक्रम ल्याउनेछौं, समुदायहरुलाई फुटाएर राज गर्ने राज्यसत्ताको नीति अब समाप्त हुन्छ,’ यादवले भने, ‘कुनै जातीय क्षेत्रीय नभई राज्यबाट उत्पीडित सबै क्षेत्र, जाति, भाषाका शोषित जनताको एकमुष्ट राष्ट्रिय आन्दोलन हुनेछ ।’ गठबन्धन, मधेसी मोर्चा अझै वार्ताविरोधी नभए पनि ३६ पटक भएका पछिल्ला वार्तामा सरकार एक इन्च पनि आफ्नो अडानबाट पछि नहटेकाले समस्या समाधान नभएको यादवले बताए । मधेसीहरु नेपालका संस्थापक भए पनि कुमाउ गढवालबाट भागेर आएकाले आफूहरुलाई राष्ट्रियताको पाठ सिकाउन खोजिरहेको भन्दै उनको आपत्ति थियो । ‘यो संविधान विभेदकारी छ, ८० प्रतिशत उत्पीडितहरुलाई सम्बोधन गर्न नसक्ने संविधान काम लाग्दैन,’ उनले थपे, ‘माफियातन्त्र र कालाबजारीलाई यो राज्यले प्रोत्साहन दियो, मधेसमा मानवअधिकारविरोधी गतिविधि राज्यले गरेकाले अब अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्छ ।’ मधेसी मोर्चाले मधेसमा आन्दोलन चकाउदा क्षेत्रीयतावादी, जातिवादी भन्ने सरकारले काठमाडौंको प्रदर्शनमा सबै जाति, क्षेत्र सहभागी भएको देखेपछि अब के भन्ला भनी उनले प्रश्न समेत गरे । कार्यक्रमको अध्यक्षता गरेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीको बोलीमा विश्वसनीयता नभएको आरोप लगाए । वार्ताका लागि बोलाएर आफैं डेढ घण्टा ढिलो आउने ओलीले वार्ताका लागि अझै आह्वान गरे पनि सहमतिका लागि प्रतिबद्ध नभएको उनको भनाई थियो । ‘उहाँ मधेसमा कुनै समस्या छैन, संविधान उत्कृष्ट छ भन्नुहुन्छ भने के का लागि वार्ताको आह्वान गरिराख्नुभएको छ ?’ ठाकुरले प्रतिप्रश्न गरे, ‘हामी मधेसी( पहाडी सबै यो राज्यका पीडित पक्ष हौं । भूकम्पपीडितका लागि हिउदभरि केही नगर्ने सरकारले वर्षायाम, हुरी बतासका लागि पनि केही तयारी गरेको छैन । मधेसमा बचाउन सकिने प्रदर्शनकारीलाई पनि जुत्ताले ताकिताकि हानिएको छ ।’ मधेसीको रगतबाट रंगिएको संविधान कुनै पनि हालतमा स्वीकार गर्न नसकिने ठाकुरले बताए । सत्ताधारीमात्रै नेपाली राष्ट्रियताका प्रतीक नभएको उनको भनाई थियो । ‘अहिले हामीलाई विखण्डनको आरोप लगाइएको छ, हाम्रो आन्दोलन राष्ट्रिय एकताको आन्दोलन हो,’ उनले थपे । कार्यक्रममा मोर्चा, गठबन्धनका नेतासहित नागरिक अगुवा सुन्दरमणि दीक्षित, दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, प्राध्यापक ओम गुरुङलगायतले बोलेका थिए । दीक्षितले आफ्नो चिकित्सक पृष्ठभूमि सम्झाउदै भने, ‘चिकित्सामा बच्चा कमजोर, अपांग जन्मने भयो भने त्यसलाई ‘एबोर्सन्’ गर्न सल्लाह दिइन्छ, तर यहाँ त अपांग संविधान आउने जानीजानी केही नेताको स्वार्थमा जबर्जस्ती जन्माइयो ।’ ढुंगानाले संविधान निर्माणमा ठूलो त्रुटि भएको बताउदै लक्ष्यमूखी वार्ता आवश्यक भएको, त्यसका लागि आफूलगायत नागरिक अगुवाले मध्यस्तताको पहल गर्नुपरे तयार भएको बताए । संग्रौलाले थपे, ‘मधेसलगायत उत्पीडित समुदायको मुक्ति न सिंहदरबारबाट हुन्छ, न दिल्ली दरबारबाट । आफैं लड्नुपर्छ ।’ कार्यक्रममा रामसपा अध्यक्ष शरतसिंह भण्डारी, लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङेन, संयुक्त मगर मञ्चका नवीन रोका, तमुवान संघर्ष समितिका गणेशमान गुरुङ, जनमुक्ति पार्टीका परशुराम तामाङ, खस पार्टीका प्रेम खातीलगायतले पनि आफ्नो भनाई राख्दै संघर्षका लागि ऐक्यबद्धता जनाए । जनमुक्तिका नेता तामाङले दहमा ढुंगा हान्दा बीचमा लागे मात्रै सबैतिर छाल उठ्ने भएकाले आन्दोलन राजधानीमा केन्द्रित गर्नुपरेको बताए । नेपाल सद्भावना पार्टी नेतृ डिम्पल झाले भने अधिकांश वक्ता पुरुषमात्रै हुन पुगेको भन्दै आलोचना गरेकी थिइन् । महतो बोलेनन् यसैगरी, कार्यक्रमको आयोजकमा मधेसी मोर्चाको पनि समावेश गर्नुपर्छ भन्ने माग राख्दै आएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो भने कार्यक्रममा बोलेनन् । मधेस आन्दोलनको नेतृत्व मोर्चाले गरेको अवस्थामा राष्ट्रिय आन्दोलनको नेतृत्व गठबन्धनसँगै त्यसै भित्रको घटक मधेसी मोर्चाको पनि मान्यता हुनुपर्ने उनको मत रहे पनि संघीय समाजवादी फोरम पक्षले त्यसलाई अघि नबढाएको उच्च स्रोतले बताएको थियो । यसअघि मधेस आन्दोलन चल्दै गर्दा महतोले बृहत् मधेसी महागठबन्धन बनाउनुपर्ने माग अघि बढाएका थिए भने पहाडका दुई जनजाति र खस पार्टीसग एकता गरेका यादवले भने संघीय गठबन्धनकै एजेन्डामा जोड दिएका थिए । यस मुद्दाले मोर्चाभित्र केही समय विवाद समेत भएको थियो । महतोले भने कार्यक्रम अवधि लम्बिएकाले सोमबारको सभामा आफू नबोलेको प्रष्टीकरण दिए । आफू बोल्ने कार्यक्रम नै नरहेको उनको दाबी थियो । सभागृह हलमा भने महतो नबोलेको बारे गाइँगुइँ भएको थियो । फोरम अध्यक्ष यादव बोलुन्जेल उनी सेलफोन खेलाएर बसिरहे । ‘यसबारे खासै त्यस्तो विवाद छैन, विवाद गरेर पनि कही आन्दोलन हुन्छ ? चित्त नबुझे पनि आन्दोलनमा जानुपर्छ,’ महतोले कान्तिपुरसँग भने, ‘मलाई पनि सुरुमा यो आन्दोलन मोर्चाबाटै गरौं भन्ने लागेको थियो । तर अहिले राष्ट्रिय स्वरुपमा आन्दोलन बिस्तार गर्न गठबन्धनमा जाने भइयो ।’ कार्यक्रममा साना दल प्रतिनिधिले भने बोल्ने समय पाएका थिए ।

0 Comments

Related Trend Analysis