Incident Reports

हतियारसहित भारतीय प्रहरी पक्राउ

2016-04-24

Sudurpashchim, Achham, Mellekh

हातहतियारसहित नेपाल पसेका भारतीय पाँच प्रहरी डोटीमा पक्राउ परेका छन्। डोटी र अछामको सीमामा रहेको चौखुट्टे बजारबाट उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, डोटीबाट गएको प्रहरी निरीक्षकको टोलीले ती पाँच जनालाई पक्रेको स्थानीय व्यापारीले बताएका छन्। तर, यसबारे नेपाल प्रहरीले भने आधिकारिक सूचना दिन मानिरहेको छैन। 'पक्राउ परेकोसम्म खबर मकहाँ आएको छ। तर, ती प्रहरी हुन् वा होइनन् त्यो भने अझै पत्ता लागेको छैन,' सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विजयराज भट्टले भने, 'म अहिले धनगढी छु। यतै ल्याउन भनेको छु। यतै ल्याएपछि थाहा हुन्छ।' भारतीय नम्बर प्लेटकै गाडीमा आइतबार बिहान करिब ६ बजे उनीहरू चौखुट्टे पुगेका थिए। त्यहाँबाट अछामको पायल र सोकट गाविसतर्फ जाने शाखा सडकतर्फ अगाडि बढिरहेका बेला उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्रेको सम्बद्ध स्रोतले बतायो। उनीहरूले एक थान एके–४७ राइफल, २५ थान त्यसमा लाग्ने गोली, एक थान रिबल्भर र त्यसमा लाग्ने १२ वटा गोली बोकेका थिए। सादा पोसाकमा रहेका ६ जनामध्ये एक भारतीय प्रहरी इन्स्पेक्टर रहेको बुझिएको छ। भारतमा एक चिकित्सकको हत्या गरी फरार अभियुक्त खोज्दै उनीहरू नेपाल पसेको स्रोतले बतायो। भारतीय प्रहरी हतियारसहित पक्राउ विषयमा नेपाल प्रहरीले पूरै तथ्य लुकाउन खोजिरहेको छ। पक्राउमा खटिएका प्रहरी निरीक्षक बोधराज ओझाले 'यसबारेमा आफूलाई कुनै कुरा थाहा नभएको' बताउँदै थप जानकारी लिन डोटी प्रहरी उपरीक्षक दिल्लीराज विष्टलाई फोन गर्न सुझाए। प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले पक्राउ विषयमा अनभिज्ञता प्रकट गरे। 'यसबारे म पनि बुझ्छु,' उनले भने। केही समयपछि 'केही बुझ्नुभयो?' भन्ने नागरिकको प्रश्नमा उनले 'आफूले कुनै कुरा बुझ्न नसकेको' प्रतिक्रिया दिए। प्रहरी उपरीक्षक विष्टले पनि यस विषयमा जानकारी दिन चाहेनन्। 'कुरा सत्य हो वा होइन भन्नुस् न' भन्दा उनी हाँसिमात्र रहे। 'केही कुरामा तपाईंले मलाई पनि बचाउनुपर्ने हुन्छ,' उनको जवाफ थियो। अभियुक्त वा अपराधी पक्रन कुनै पनि देशको प्रहरीले अर्को देशको सीमा नाघेर आउजाउ गर्न पाइँदैन। अपराधीलाई ऊ जहाँ छ, त्यही देशको प्रहरीले पक्रेर सपुर्दगी गर्ने अन्तर्राष्ट्रिय प्रावधान छ। नेपाल र भारतबीच २०१० सालमा सपुर्दगी सन्धि भएको थियो। तर, भारतीय प्रहरीले नेपाली सीमाभित्र पसेर पटकपटक उक्त सन्धिको 'खिल्ली' उडाउँदै आएको छ। नेपाल प्रहरीले विभिन्न दबाबमा त्यसरी नेपाल पसेका भारतीय प्रहरीलाई बिनाकारबाही भारत पुर्यापइदिन्छ। 'सम्भवतः भोलि (सोमबार) नै उनीहरूलाई सीमापारि पठाइनेछ,' स्रोत भन्छ। प्रहरी नायब महानिरीक्षक भट्टले पनि सोही कुराको जनाउ गरे। 'नेपाल र भारतका प्रहरीबीच छुट्टै मित्रवत सम्बन्ध छ,' उनले भने, 'सानातिना कुराले त्यसमा खलल पुग्ने काम गर्नुहुन्न। खुला सीमाक्षेत्र भएकाले यस्ता घटना हुन सक्छन्। कम गराउन पहल गर्ने हो।' 

0 Comments