Incident Reports

चुल्हो छोएको निहुँमा कुटपीट

2017-01-27

Province 1, Sunsari, Barah, Ward 1

५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मा स्थानीय आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययनरत छिन् । दुई भाई र बहिनीमध्ये जेठी सन्तानको रुपमा रहेकी शारदाका बावु चुनबहादुर विश्वकर्मा गाउँघरमा डकर्मी काम गरेर परिवार पाल्दै आएका छन् भने आमा गृहिणी हुन् । जाडोको मौसममा आगो सल्काउन कठीन हुने भएकाले घरमा आगो बाल्नका लागि कोइला लिन शारदा मिति २०७३ माघ १४ गते साँझ करिब ४ बजेतिर छिमेकी कितावसिंह राईको घरमा गएकी थिइन् । कितावसिंह बुहारीकी आमा अर्थात् सम्धीनीसँग घरभित्रबसी कुराकानी गर्दै थिए । कुराकानीमा करिब वर्ष ६० का ‘कुण्डले बाजे’ भनेर चिनिने कृतीमान राई पनि सहभागी थिए । आँगनमा कितावसिंहकी छोरीले बेलुकाका लागि भात पकाउँदै थिइन् । आगो लिन आएकी शारदाले सरासर चुल्होबाट भुङ्ग्रो उठाउँदै थिइन्, त्यसैबेला कृतीमान राई आएर ‘तिमीहरु कामी भएर हामी राईले पकाउँदै गरेको चुल्हो छुने भन्दै कराउन लागे । शारदाले ‘किन दलित भनेर हेप्नुहुन्छ भनेर सम्झाउन खोजिन् । तर, राईले जातीय रुपमा अपमानजनक शब्दहरु प्रयोग गर्दै कपालमा समाएर लतार्दै शारदाको गालामा झापड हाने । कुटाइका कारण शारदा भुइँमा पछारिइन् । कुटपिट हुँदा छिमेकी र गाउँलेहरु रमिता हेरेर बसिरहे । कृतिमान राई र शारदाको परिवारबीच कुनै छिमेकीबाहेकको कुनै नातासम्बन्ध छैन । तर, कितावसिंहको परिवार र शारदाको परिवारबीच मितेरी साइनो थियो । नाताले कितावसिंह शारदाका मित मामा पर्छन् । शारदाका अनुसार अरु समयमा पनि कितावसिंहको घरमा गएर विश्वकर्मा परिवारले खाना खाने, कुराकानी गर्ने र सुख, दुःखमा सहयोग गर्दै आएको थियो । यसअघि पनि कृतीमान र उनको परिवारले कितावसिंहको परिवारलाई समेत दलितसँग सम्बन्ध राखेको भन्दै बेलाबेलामा अपमान गर्दै आएका थिए । कृतीमानका छोरीहरु र कितावसिंहका छोरी–बुहारीहरु शारदाका मिल्ने साथीहरु पनि हुन् । कुटपिट भएपछि शारदा रुँदै घरमा आइन् । बेलुका करिब ६:३० बजे शारदाका बाबु चुनबहादुर विश्वकर्मा कामबाट फर्किए । शारदाकी बहिनीले बाबुलाई घरभित्र नपस्दै घटनाको विषयमा जानकारी गराएपछि उनी सिधै कृतीमानको घरमा गएर ‘मैले आजसम्म हातसम्म नउठाएकी मेरी जवान छोरीलाई हातपात र कुटपिट गर्ने अधिकार कल्ले दियो’ भन्दै कृतीमानलाई गाली गरे । तर, कृतीमानले आफ्नो गल्ती स्वीकार्नुभन्दा उल्टै जातीय रुपमा अपमानजनक र अश्लिल शब्दहरु प्रयोग गर्दै चुनवहादुरलाई धम्क्याए । घटना भएको अर्को दिन विहान करिब १० बजेतिर चुनबहादुरले नाताले भान्जा पर्ने धरानस्थित औजार दैनिकका सम्पादक रणध्वज लोहारलाई घटनाबारे जानकारी गराएपछि घटनाले चर्चा पायो । तर, 'जातीय विभेद भएमा कसरी कानुनी उपचार खोज्न सकिन्छ' भन्नेबारे जानकारी नपाएका चुनबहादुर प्रहरी चौकीसम्म जान सकेनन् । घटना भएको पाँच दिनपछि जागरण मिडिया सेन्टरले पीडित परिवारलाई सम्पर्क गरी ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार ईलाका प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दियो । सोही दिन करिब पाँच बजेतिर पीडित परिवारले दलित सेवासंघका जिल्ला अध्यक्ष लङ्कमान विश्वकर्माको सहयोगमा ईलाका प्रहरी कार्यालय बराहक्षेत्रका इन्चार्ज रामदेव चौधरी समक्ष उजुरी पेश गरेका छन् । जागरण मिडिया सेन्टर पीडितको आत्मसम्मानको रक्षाका लागि घटनामा संलग्न कृतीमान राईलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार हदैसम्मको कारवाही गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ । विशेषगरी दलित समुदायसँग सम्बन्धित घटनामा राज्य र प्रहरी प्रशासनले देखाउने उदासीनताका कारण यो घटनाका पीडित विश्वकर्मा परिवारले न्याय पाउँछन् भन्नेमा शंका छ । त्यसैले पीडितलाई न्याय दिलाउनका लागि आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुहुन हामी पत्रकार, नागरिक समाज, मानवअधिकारवादी सङ्घसंस्थालगायत सबैसँग हार्दिक अपील गर्दछौ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments