Incident Reports

अस्पतालको विषयलाई लिएर जनप्रतिनिधिमाथि ढुंगामुडा, वडाअध्यक्ष घाइते

2019-05-14

अस्पताल निर्माणको विषयलाई लिएर सुनवल नगरपालिका ७ र ८ का स्थानीयले जनप्रतिनिधिमाथि ढुंगामुडा प्रहार गरेका छन्। त्यस क्रममा प्रहरीको गाडी र एक वडाअध्यक्षको गाडीमा क्षति पुगेको छ। ढुंगा प्रहारबाट वडा- १३ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कृष्ण देवकोटा घाइते भएका छन्।

नगरपालिकाको चौथो नगरसभा सञ्चालन भइरहेको अवस्थामा वडा- ७ का अध्यक्ष वसन्तराज दाहाल र वडा -८ का अध्यक्ष नीलकण्ठ गैरेको नेतृत्वमा पुगेको स्थानीयको जुलुसले नगरसभा परिसरमा पुगेर अस्पताल अन्यन्त्र सार्न लागेको भन्दै विरोध गरेको थियो।

उनीहरुले वडा- ८ मा निर्माण हुनुपर्ने अस्पताल अन्यन्त्र सार्न लागेको जनाउँदै विरोध गरेका हुन्।नगरसभा सकिएर बाहिर निस्केका नगरप्रमुख भीमबहादुर थापा, उपप्रमुख दधिराम अर्याल र प्रवक्ता देवकोटालाई सुरक्षा दिएर प्रहरीको गाडीमा लैजाने क्रममा स्थानीयले ढुंगामुडा गरेका हुन्।

त्यसक्रममा वडाअध्यक्ष एवं प्रवक्ता देवकोटा घाइते भएको नगरपालिकाले जनाएको छ। ढुंगा प्रहारबाट प्रहरीको गाडीसमेत क्षतिग्रस्त भएको छ। आक्रोशित स्थानीयले वडा-१२ का अध्यक्ष यमलाल पाण्डे र महिला सदस्य चढेको गाडीमाथि समेत ढुंगा प्रहार गरी क्षतिग्रस्त बनाइदिएको नगरपालिकाले जनाएको छ।                                   

वडा ७ र ८ का स्थानीयले वडा ८ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल निर्माणका लागि आएको बजेट अन्य वडामा सारेको आरोप लगाएका छन्। नगरपालिकाले भने सबै नगरवासीका लागि पायक पर्ने स्थानमा अस्पताल निर्माण गर्न लागेको जनाएको छ। वडा ३ र ५ मा पर्ने वनकट्टीमा १५ शैयाको अस्पताल निर्माण गर्न नगरपालिकाले कार्यपालिकाको बैठकमार्फत प्रकृया अघि बढाएको नगरप्रमुख भीमबहादुर थापाले बताए।

 नेपाल सरकारले देशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेअनुसार नगरपालिकाले अस्पताल निर्माण गर्न लागेको नगरप्रमुख थापाले बताए। नगर कार्यपालिकाको २०७५ असोज १ गतेको बैठकले वडा ३ र ५ मा रहेका २ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रचार गरेको र अस्पताल निर्माणको प्रकृया अघि बढाइएको नगरप्रमुख थापाले जानकारी दिए।

केही व्यक्तिले स्थानीयलाई अनावश्य रुपमा उचालेर अस्पताल निर्माण कार्यलाई अवरुद्ध गर्न खोजेको थापाको आरोप छ।  जुलुसको नेतृत्व गरेका वडाअध्यक्षद्वयले आक्रोशित स्थानीय मध्येका केहीलाई रोक्न खोज्दा खोज्दै गाडीमाथि आक्रमण भएको भन्दै दुःख व्यक्त गरेका छन्।

जनताको मागअनुसार अस्पताल निर्माण अन्यन्त्र सार्न नहुने उनीहरुको जोड छ। यसैबीच अस्पताल निर्माणको विषयलाई लिएर भएको घटनाप्रति नगरपालिकाकाले विज्ञप्ती निकालेर तोडफोड र आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग माग गरेको छ।

नगरपालिकाका प्रवक्ता देवकोटाद्वारा जारी विज्ञप्तिमा अस्पताल निर्माणका बारेमा स्थानीयलाई सबै जानकारी गराए पनि केही स्थानीयले नगरसभा नै विथोल्ने गरी जनप्रतिनिधि र सवारीसाधनमाथि तोडफोड गरेको कार्यप्रति भर्सना गरिएको छ।

विरोधका बाबजुद आइतबार सम्पन्न नगरसभाले सम्झौता हुन नसकेका र समयमा काम हुन नसकेका योजनालाई रकमान्तर गरी अन्य योजना सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
Totally damaged Vehicles 2
National/Online Media

0 Comments