Incident Reports

सार्वजनिक पोखरीमा माछा मार्दा जनप्रतिनिधिबाट कुटपिट

2020-09-16

Madhes, Saptari, Chhinnamasta, Ward 6

सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ को सार्वजनिक पोखरीमा माछा मारेको भन्दै वडा सदस्यसहितको संलग्नतामा स्थानीय मुसहर समुदायमाथि कुटपिट भएको छ। कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै दिइएको जाहेरी दर्ता गर्न सप्तरी प्रहरीले मानेको छैन। कुटपिटबाट ४० वर्षीय शीतल सदाय, २७ वर्षीय देवलाल सदाय, ३७ वर्षीय शिवकुमार सदाय, २७ वर्षीय प्रमोद सदाय, १८ वर्षीय जग्गा सदाय, २७ वर्षीया भिखनीदेवी सदाय घाइते भएका छन्।

घाइतेको गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालमा मलमपट्टी गरिएको छ। शीतलको टाउकोमा चोट लागेकाले सिटीस्क्यान गराउन सल्लाह दिइएको छ। अस्पतालमा यो सेवा छैन। देवलालको दायाँ पाखुराको हाड भाँचिएकाले थप उपचारका लागि सुविधायुक्त अस्पतालमा जान भनिएको छ। शिवकुमारको बायाँ हातको औला भाँचिएको छ। प्रमोदको पाखुरामा गम्भीर चोट छ। सगरमाथा अस्पतालमा टाँका लगाएका उनलाई थप उपचारका लागि अन्त जान सल्लाह दिइएको छ। मुसहर समुदायका अगुवा बालकुमार सदायका अनुसार सिटी स्क्यान गराउन चाहिने पैसा जोगाड नहुँदा उनीहरू घरमै रोकिएका छन। अहिलेसम्मको उपचारमा खर्च भएको करिब १५ हजार रुपैयाँ आफूले जुटाइदिएको जनता आधारभूत विद्यालय कोचाभकारीका प्रधानाध्यपकसमेत रहेका सदायले बताए। सिटीस्क्यान, प्लास्टरलगायतको उपचार खर्च जुटाउन गाह्रो परिरहेको उनले बताए।

‘प्रहरीमा मुद्दा दर्ता गराउन जाँदा प्रमाण खोज्छन्,’ घाइते शीतल सदायले भने, ‘फुटेको टाउकोलाई प्रमाण नमानेपछि मुद्दा दर्ता हुन सकेको छैन। जाँच तथा उपचार गराएको कागज माग्छ।’ सरकारी अस्पतालमा उपचार गराउने क्रममा ५० रुपैयाँको रसिदबाहेक केही नपाइएको उनले बताए। ‘घाउजाँच फाराम माग्छ, हामीले कहाँबाट ल्याउने ?’ उनले भने।

चोट र घाउ खत देखाउँदा पनि प्रहरीले जाहेरी लिन नमानेको घाइते देवलालले बताए। ‘डाक्टरसँग लेखाएर ल्याएपछि मात्रै जाहेरी लिन्छु भनेर फर्काए। डाक्टरले त उपचारका लागि बाहिर जान भनिसक्यो,’ उनले भने, ‘हामीसँग पैसा भए पो उपचारका लागि बाहिर जानु ?’ सार्वजनिक पोखरीको माछा अरूले खान हुने हामीले खान खोज्दा कुटाइ खानुपर्ने भन्दै घाइते प्रमोदले प्रश्न गरे। ‘धनीका लागि एउटा र गरिबका लागि अर्कै कानुन त छैन होला नि। हामीले कुनै अपराध गरेका थिएनौं,’ उनले भने, ‘वडा सदस्यले रजाइँ गर्दै आएको सार्वजनिक पोखरीको माछा हामीले पनि खाने साहस देखायौं। दलित भएर हाम्रो पोखरीको माछा लुट्ने भन्दै वडा सदस्यसहितका समूहले हामीमाथि लाठी बर्साए।’

शीतल सदायको टाउकोमा ६ टाँका लगाइएको छ। घरिघरि रिँगटासँगै वाक्वाक् लाग्ने गरेको उनले बताए। ‘टाउकोमा गम्भीर चोट छ भन्दै सिटीस्क्यान गराउन भनेको छ,’ उनले भने, ‘भोक कसरी मेट्ने भएको बेला जाँचका लागि कहाँबाट पैसा ल्याउनु ?’ बजारबाट महँगोमा किनेर माछा खान नसक्ने उनल बताए। ‘गाउँकै सार्वजनिक पोखरीबाट मारेर खान खोज्दा कुटाइ खाएँ,’ उनले भने। प्रहरीले पनि आफूहरूको कुरा नसुनेको गुनासो उनले गरे। ‘गरिबको घाउ प्रमाण नहँुदो रहेछ, पहुँचवालाको बोली पनि प्रमाण हुँदो रहेछ,’ उनले भने, ‘दलित मारिँदा त कारबाही हुँदैन भने हामी अझै जिउँदै छौं।’

झडप हुँदा दुवै पक्षका मानिस घाइते भएको वडा सदस्य दुलारीदेवी साहका पति मिश्रीलाल साहले बताए। दुलारीदेवीलाई पनि चोट लागेको उनको भनाइ छ। ‘सार्वजनिक पोखरीमा माछा हामीले हालेका हौं,’ उनले भने, ‘सदायहरूले लुटेपछि हामी सम्झाउन मात्र गएका थियौं। उनीहरूले गालीगलौज गरेपछि झडप भयो।’ वडाध्यक्ष वीरेन्द्र साहका अनुसार दुलारीदेवी यसै वडाका महिला सदस्य हुन। उनका अनुसार दुलारीदेवीले पदको दुरुपयोग गरेर सार्वजनिक पोखरी आफूखुसी उपभोग गर्दै आएकी छन्। सार्वजनिक पोखरीमा माछा हालेर आफूखुसी उपभोग नगर्न सम्झाउँदा पनि अटेर गरेको उनको भनाइ छ। ‘माछा मारि नै हाले पनि सदायमाथि कुटपिटमा उत्रिनुहुँदैनथ्यो,’ उनले भने, ‘महिला सदस्यले दलित कुटेर अपराध गरेकी छन्।’उनले जनप्रतिनिधिजस्तो जिम्मेवार व्यक्तिले मदजुरी खोसिएका समुदायलाई कुटेर बहादुरी प्रदर्शन गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिए।

‘घाइते सदायहरूको उपचार गराउनेसम्म सामथ्र्य छैन,’ उनले भने, ‘सकेजति सहयोग गरेर उनीहरूको उपचार व्यवस्था मिलाउँदै छु,’ उनले भने। पीडितहरूले वडाध्यक्षविरुद्ध कानुनी कारबाहीमा जान चाहे आफूबाट हुने सबै सहयोग गर्न तयार रहेको वडाध्यक्ष साहले बताए। जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर सन्तोष खड्काले प्रमाणसहित आए जाहेरी दर्ता हुने बताए। ‘ज्यान मार्ने उद्योगको मुद्दा डाक्टरको प्रतिवेदन नभई दर्ता हुँदैन,’ उनले भने।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Secondary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Injured 6
Female Injured 1
National/Online Media

0 Comments

Related Reports