Incident Reports

महिलामा आश्रित खेती- ज्यालामा विभेद

2017-11-01

Bagmati, Bhaktapur, Bhaktapur

सूर्यविनायक नगरपालिका ६, नयाँबस्तीकी गंगा दुवाललाई यतिखेर खेतमा पहेंलिएको धान काट्न भ्याइनभ्याइ छ । उनका पति वैदेशिक रोजगारका लागि कतारमा छन् । उनी करिब ५ रोपनीमा लगाएको धान साताभित्रै भित्र्याउने चटारोमा छिन् । ‘एक्लैले खेती गर्न गाह्रो छ, खेताला पनि पाउन मुस्किल,’ उनले भनिन्, ‘देउरानी/जेठानी, छिमेकीसँग अर्मपर्म गर्दै खेती धान्दै आएका छौं । भएको खेत बाँझै राख्न पनि त भएन ।’ ४ छोरीकी आमा गंगाले उब्जाएको धानले वर्ष दिनभर खान पुग्ने बताउँछिन् । भक्तपुर नगरपालिका १, दूधपाटीकी उर्मिला सिन्ताकलका कपडा सिउने काम (टेलर) सँगसँगै खेतबारीमा पनि उत्तिकै समय दिन्छिन् । पति सजनप्रकाश फार्मेसी सञ्चालक हुन् । ‘अहिले धान भित्र्याउने मौसम छ, पतिले भ्याउनुहुन्न,’ उनले भनिन्, ‘धानको बीउ राखेदेखि सुकाएर भण्डारण गर्ने काम आफैं गर्छु । घरका लोग्ने मान्छेलाई खेतबारीमा काम गर्ने फुर्सदै हुँदैन ।’ दूधपाटीकै श्यामसुन्दर शिल्पकार फर्निचर व्यवसायी हुन् । परम्परागत पेसा फर्निचरको जिम्मा श्यामसुन्दरले लिएका छन् भने कृषि उनकी पत्नी नानीछोरीले जिम्मा लिएकी छन् । यत्तिखेर किसानहरू धान काट्ने, झार्ने र भित्र्याउनमै व्यस्त छन् । पुरुषहरू व्यवसाय तथा जागिरमा व्यस्त रहँदा महिलाहरू भने कृषिमै संलग्न छन् । ‘धानको बीउ राख्नेदेखि भित्र्याउनेसम्म महिलाकै हात छ,’ नानीछोरीले भनिन् । पछिल्लो केही वर्षयता परम्परागत अन्नबाली तथा तरकारी खेती महिलामै आश्रित हुँदै गएको स्थानीय नारायण सिन्ताकल बताउँछन् । पछिल्लो समय व्यावसायिक खेती गर्ने पुरुषहरूको संख्या बढे पनि महिलाहरूले परम्परागत खेती धानिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘अन्य रोजगारको विकल्प नभएको र व्यावसायिक खेतीतर्फ लागेका पुरुषहरू कृषिमा आबद्ध छन्,’ वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुंगानाले भनिन्, ‘परम्परागत अन्नबाली होस् या तारकारी खेती महिलामै आश्रित देखिन्छ । घरायसी काम, बालबच्चा हुर्काउने र खेती किसानीको काममा महिला आबद्ध छन् ।’ लिकुवापोखरी खोटाङकी सीता र उनका पति धर्मरत्न बस्नेत भक्तपुरमा ज्यालादारीको कामबाटै दैनिकी चलाएका छन् । सीता बिहान उठेदेखि राति नसुतेसम्म खटिएकी हुन्छिन् । ‘बिहान उठयो, घरआँगन सरसफाइ गर्‍यो, खाना पकाइवरी बालबच्चा विद्यालय पठाएपछि काममा जान हतार हुन्छ,’ उनले भनिन्, ‘दिनभर पतिपत्नी सँगै काममा व्यस्त हुन्छौं । दिनभरको ज्याला मजदुरीबाट फर्किएपछि बेलुकाको चुलोचौको पनि मेरै हातमा छ । पुरुषलाई त्यो जिम्मेवारी छैन ।’ दिनभर सँगै काममा खटिएका पतिपत्नीले पाउने ज्यालामा भने ठूलो अन्तर छ । ‘मौसमअनुसारको काम गर्छौं, आजकल धान काट्ने, चुट्ने, बोक्ने नै हो,’ उनले भनिन्, ‘हामी दुवै काममा उत्तिकै खटिन्छौं तर, पाउने ज्यालामा विभेद छ । पतिले खेतमा काम गर्दा दैनिक ८ सयदेखि हजार रुपैयाँ पाउनुहुन्छ, मैले ५ सयदेखि ७ सय मात्र पाउँछु ।’ बालुवाखानीमा काम गर्न खोटाङबाट भक्तपुर छिरेका उनीहरू खानी बन्द भएयता (साढे २ वर्ष) घर बनाउने, खेतबारीमा काम गर्ने गर्छन् । जुनसुकै काममा पनि महिलाको ज्याला आधा प्रतिशत नै कम भएको उनी बताउँछिन् । ‘बालुवा बोक्दा पनि महिला/पुरुषले पाउने ज्यालाको अन्तर त्यति नै हो,’ उनले भनिन् । सिन्धुपाल्चोक चौताराकी रीना स्याङतानको कथा पनि उस्तै छ । ज्याला मजदुरीबाटै तीन जनाको परिवार धान्दै आएकी उनी र उनका पति विक्रमको कामको प्रकृति एउटै हो । दुवै जना धान पाक्ने मौसममा धान काट्छन्, गहुँ भित्र्याउने बेला गहुँ काट्छन् । जसले जे काममा बोलाउँछ त्यही काम गर्छन् । ‘काम गर्दा दुवै काँधमा काँध जोडेर खट्छौं । तर, के गर्नु महिला भएकै कारण ज्याला थोरै पाउँछु,’ उनले भनिन्, ‘जति नै समानताको कुरा गरे पनि गुजाराको कुरामा समान हुन नसकेपछि महिलालाई कमजोरीकै रूपमा लिइन्छ ।’ अझ ज्याला वा ठेक्कामा काम गर्दा महिला नआओस्जस्तो व्यवहार देखिने उनीहरूको गुनासो छ । ‘पुरुषले भन्दा महिलाले दोब्बर खटेर काम गरेको हुन्छ,’ दोलखा दूधपोखरीकी राधिका तामाङले भनिन्, ‘घरधन्दा गर, लुगा धोऊ, सरसफाइ गर, छोराछोरी स्याहारसुसार गर, सासूससुरा स्याहार अनि पतिसँगै ज्याला मजदुरी पनि गर । समानता त पहुँचवाला महिलाका लागि मात्रै रहेछ, ज्याला मजदुरीमा लागू हुने कहिले ?’

0 Comments

Related Trend Analysis