Incident Reports

छठमा छुवाछूत

2018-11-14

Madhes, Rautahat, Chandrapur

रौतहटको चन्द्रपुर–५ स्थित चाँदी नदी किनारमा बनाइएको टेन्टभित्र तीन खण्ड छन्। छठपूजाका लागि एक खण्डमा गैरदलित र अर्कोमा मुसहर समुदाय बसेका छन्। दक्षिणतर्फ चमार समुदायका दुई महिला छन्। यस्तो दृश्य यहाँ मात्र होइन, जिल्लाका धेरैजसो पोखरी, नहरका डिल तथा नदी किनारमा देख्न पाइन्छ।

गैरदलित र दलितले यो वर्ष पनि जातअनुसार अलग–अलग स्थानमा बसेर छठपूजा गरेका हुन्। कटहरिया, बौधीमाई, मौलापुर, गढीमाई, गुजरा, फतुवा विजयपुर, माधोनारायणलगायत ठाउँका घाटमा अलग–अलग बसेर पूजा गर्ने गरिएको स्थानीयले बताएका छन्। छुवाछूतको भावना कायमै रहेकाले छुट्टाछुट्टै स्थानमा बसेर छठ मान्ने गरिएको नेपाल राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको भनाइ छ। केही गाउँमा भने सबै जातिले एकै स्थानमा बसेर छठ मानेको उनले सुनाए।

पासवान, चमार, डोम, मुसहरबीच पनि छुवाछूत कायमै छ। एकै स्थानमा बसेर उनीहरू पूजा गर्दैनन्। ‘केही स्थानमा अझै दलितलाई अलग्गै राखेर पूजा गर्ने चलन बाँकी नै छ’, नेपाल राष्ट्रिय दलित कल्याण समाज रौतहटका अध्यक्ष सुखाडी बैठाले भने, ‘दलित–दलितबीच पनि छुवाछूतको भावना देखिन्छ तर पहिलेभन्दा धेरै कम छ।’ गुजरा नगरपालिकाको दलित समन्वय समितिले एकै ठाउँमा छठपूजाका लागि पहल गरेको थियो।

गरुडाका शिक्षक सञ्जय साहले छठ जातीय विभेदमुक्त पर्व रहेको बताए। तर, दलित जनसंख्या कम रहेका बस्तीमा छुवाछूतको अवस्था देखिएको उनको भनाइ छ।

National/Online Media

0 Comments