2018-12-26
सार्वजनिक धारामा पानी छोएकै निहुँमा सुर्खेतको साटाखानीमा टीकाकुमारी मिजारमाथि आक्रमण भयो। स्थानीयको निर्घात कुटपिटपछि उनी गम्भीर घाइते भइन्। जातीय विभेदविरुद्धको उजुरी दर्ता भएपछि अधिकारकर्मीको दबाबमा प्रहरीले कुटपिटमा संलग्न गाउँकै मनकुमारी र उनका छोरा मनबहादुर राईलाई पक्राउ गर्यो।
उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भयो। तर, अघिल्लो वर्ष असारको यो घटनामा पीडकलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दियो। पीडकहरू उल्टै शिर ठाडो बनाएर गाउँ फर्किएपछि न्याय पाउने आसमा रहेका पीडित नै गाउँबाट विस्थापित हुनुपर्ने अवस्था आयो। न्यायका लागि अदालत पुगेका टीका र उनका आफन्त निरास छन्। पीडित टीका भन्छिन्, ‘मलाई कुट्नेहरू अहिले गाउँमा शिर ठाडो पारेर घुमिरहेका छन्, मैले कानुनी न्याय पाउन सकिनँ। सजाय नहुँदा पीडकहरू उल्टै हामीलाई धम्की दिन्छन्, पहुँच नहुनेले त अन्याय सहेर बाँच्नुपर्ने रहेछ।’
सुर्खेतकै बराहताल गाउँपालिकाको दमारमा गैरदलितकी छोरी बिहे गरेका कारण एक दलित परिवारमाथि मध्य रातमा आक्रमण भयो। स्थानीय बलबहादुर विकले दैलेखकी रम्मा शाहीसँग प्रेम विवाह गरेका थिए। अन्तरजातीय बिहे गरेकै कारण बलबहादुर, उनका बाबु भक्तबहादुर र आमा अमृता विकमाथि आक्रमण मात्र भएन, उनीहरूलाई गैरदलितहरू मिलेर घरको छतबाटै खसालिदिए। अस्पतालमा लामो उपचारपछि नयाँ जीवन पाएको यो दलित परिवारले पनि न्याय पाएन। आर्थिक चलखेल र राजनीतिक दबाबमा घटनाका दोषीलाई पक्राउसम्म नगरिएको र राज्यले नै आफूहरूलाई न्याय नदिएको गुनासो पीडित परिवारको छ।
भान्सा छोएको आरोपमा बराहतालमै बालक भीमबहादुर विकमाथि मरणासन्न हुनेगरी कुटपिट भयो। प्रहरीले कुटपिटमा संलग्न बाटु शाहीलाई पक्राउ गर्यो। जातीय विभेदअन्तर्गत जिल्ला अदालतमा मुद्दा पनि दायर भयो। तर, केही दिनमै पीडक बाटुलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दियो। स्थानीय अगुवाको दबाब र राजनीतिक हस्तक्षेपमा मुद्दाको बयान नै कमजोर बनाएर पीडकलाई उम्काउने काम भयो। पीडित बालकले पनि कानुनी न्याय पाउन सकेनन्। दलित सेवा संघ सुर्खेतका कार्यवाहक अध्यक्ष टेकेन्द्र विश्वकर्मा भन्छन्,‘दलितले न्याय पाउन सक्ने अवस्था छैन, अदालतसम्म पहुँच नहुँदा पीडितलाई पीडकले नै प्रभावित पारिरहेका छन्। कानुनी सजाय र दण्ड नहुँदा जातीय विभेदका घटना बढेका छन्, जबसम्म पीडितले कानुनी न्याय पाएको नजिर स्थापित हुँदैन, तबसम्म दलितमाथिको विभेद कायमै रहन्छ।’
अहिले पनि जातीय छुवाछुतका घटनामा प्रहरीमा जाहेरी नै दर्ता नहुने समस्या छ। अर्कोतर्फ अदालतमा मुद्दा दर्ता भए पनि पीडकहरू धरौटीमा छुट्न थालेपछि पीडितहरू थप दबिएर बस्न बाध्य छन्। पछिल्लो समय भएका जातीय छुवाछुतका घटना अदालतसम्म पुगे पनि पीडकहरू धरौटीमा छुट्ने गरेका छन्। यसकारण पनि कानुनी न्याय पाउने आसमा रहेका पीडित थप पीडित बनेका हुन्। जाहेरी दिनेदेखि अदालतमा मुद्दा दर्ता गराउँदासम्म अनेकौं दबाब थेग्नुपर्ने भएकाले पनि पीडितका लागि न्याय पाउन सहज छैन। ‘जातकै आधारमा विभेद हुनु त अपराध नै हो, अपराधीले कानुनबमोजिम सजाय पाउनुपर्छ’, विश्वकर्मा भन्छन्, ‘तर अहिले पीडितले न्याय पाउने अवस्था छैन, जाहेरी दर्ता गराउनै हम्मे हुन्छ। आर्थिक प्रलोभनमा पीडितलाई मिलापत्र गराइन्छ, अनि पीडितले न्याय कसरी पाउँछन् ? ’
सहमतिमै टुंगिन्छन् मुद्दा
दुल्लु नगरपालिका–१० निवासी बालकुमारी नेपालीलाई गाउँकै जितबहादुर सिंह र उपेन्द्रबहादुर सिंहले पानी छोएको निहुँमा दुव्र्यवहार गरे। आफूमाथि जातीय विभेदको हिंसा भएको भन्दै बालकुमारीले प्रहरीमा उजुरी दिइन्। तैपनि, उनले कानुनी न्याय पाइनन्। कारण स्थानीय अगुवा र नेताहरूको दबाबमा अघिल्लो वर्ष माघमा यो मुद्दामा मिलापत्र गरियो।
महावु गाउँपालिका–३ निवासी सुक्मा सुनारलाई अघिल्लो वर्ष चैतमा स्थानीय खगु विष्टले खानेपानीको ट्यांकी छोएको आरोपमा कुटपिट गरे। न्यायको माग गर्दै सुक्माले गैडावाज प्रहरी चौकीमा उजुरी दर्ता गरिन्। पीडितलाई न्याय दिलाउनुको साटो प्रहरीले उल्टै यो घटनामा सहमति गराएर पीडकलाई उम्काउने काम गर्यो। यी घटना त केवल उदारण मात्र हुन्। जिल्लामा हुने जातीय छुवाछुतका घटना सहमतिमै टुंगिने गरेका छन्। अधिकारकर्मी अमर सुनार भन्छन्, ‘दलका नेता तथा कार्यकर्ताको दबाब र चेतनास्तर कमजोर भएका कारण जातीय विभेद बढ्दो छ, कतिपयमा कानुनी न्याय पाइन्छ भन्ने जानकारी नहुँदा पनि पीडित मेलमिलाप गर्न तयार हुन्छन्।’
चोख्याएर मात्र मन्दिर प्रवेश
डोल्पामा दलितलाई मन्दिरमा प्रवेश गर्न विभेद गरिएको छ। मन्दिरमा प्रवेश गर्नुअघि पानीले चोख्याउने गरिन्छ। पानीले नचोख्याएसम्म मन्दिरमा दलितले प्रवेश पाउँदैनन्।
दलितले मन्दिर प्रवेश गर्दा छुइछिटो हुने भन्दै कथित माथिल्लो जातिले पानीले चोख्याएर मात्र मन्दिरमा प्रवेश दिने गरेका हुन्। त्रिपुरासुन्दरी नगरपालिकास्थित जिल्लाकै ठूलो मष्टो देवताको मन्दिरमा दलितलाई नजिकै बस्न पनि दिइँदैन। आफूहरूले मन्दिरमा दर्शन गर्न नपाउँदा आत्मग्लानि हुने गरेको स्थानीय रत्नकली कुलालको भनाइ छ। उनले भनिन्, ‘हामीले मन्दिरमा सहज प्रवेश पाउन सकेका छैनौं, पानीले चोख्याएर मात्र हामीलाई मन्दिरको नजिक जान दिन्छन्।’
डोल्पासहित छिमेकी जिल्लामा मष्टो पुज्ने चलन छ। यहाँका दलितले पनि मष्टो देवताको पूजा गर्दै आएका छन्। तर, दलितलाई मन्दिरमा भने पस्न दिँदैनन्। दलितलाई पानीले नचोख्याएर मन्दिरमा प्रवेश दिए अनर्थ हुने भएकाले चोख्याउने गरिएको स्थानीय पुजारीको भनाइ छ।
Trends of Violence and Contestation in Nepal, September - November 2020
December 29, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
Trends of Violence And Contestation In Nepal, June - August
October 11, 2020
GBV / Political / Dalit / Human Rights / Governance / Covid-19
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance