Incident Reports

स्वेच्छाले भोट हाल्न पाउँदैनन् दलित समुदाय- सुमन मल्ल

2019-01-30

खत्याड गाउँपालिका ४ हिगोठीका जयलाल सार्कीको परिवार पुस्तौंदेखि अर्काको जमिनमा घर बनाएर बसेको छ। सदियौंदेखि जमिनदार अर्थात् रिथी (काम गरेबापत जग्गा उपलब्ध गराउने व्यक्ति) ले दिएको जमिनमा घर बनाएर बसेका छन्। घर बनाएपनि लालपुर्जा भने उनको नाममा छैन। ‘बाजेको पालादेखि हामी यही जग्गामै बस्दै आएका छौं। लालपुर्जा छैन, अहिले आएर निकै समस्या भएको छ,’ सार्कीले गुनासो गरे।

सार्की मात्र होइनन, हिगोठी गाउँका ८० घर दलित परिवारको लालपुर्जा छैन। बिरामी पर्दा, पुरुष जति गाउँबाहिर जाँदा गाउँमा समस्या हुने गरेको छ। चुनावमा रिथीले भनेका उम्मेदवारलाई मत नदिँदा उनीहरूले घरबारविहीन बनाइदिने धम्की दिने गरेको हिगोठीकै धनमली विकले बताए। जिल्लाभरका एक हजार नौ सय ९ दलित घर मध्ये करिब दुई सय घर परिवारसँग लालपुर्जा नभएको पाइएको हो। जल्लाका सोरु गाउँपालिकाका फोतु, नार्थपु, जिमा, कालै, धैनकोट र खत्याड गाउँपालिकाका ह्याँग्लु, सुकाढिक, कोटडाँडालगायत बस्तीका दलितसँग जग्गा भएर पनि लालपुर्जा नभेटिएको हो।

आफुसँग पर्याप्त जमिन नभएका कारण हलिया हुनुपर्ने बाध्यता रहेको र दलित अधिकारकर्मी धीरज नेपालीले दुःख पोखे। गरिब भएकै कारण चुनावमा भोटसमेत आफूले भनेको ठाउँमा हाल्न नसकिएको उनीलगायतको गुनासो छ। उनी भन्छन्, ‘जसले घर बनाउन जमिन दिएको छ, उसैको निर्देशनमा मतदिनु पर्ने अवस्था छ, नत्र घर भत्काइदिने धम्की दिन्छन्।’ बिरामी भए, जरुरी काम परे जग्गाधनीको हलो जोत्ने काम परे अस्वीकार गर्ने अवस्था नै नरहने उनी दुःख पोख्छन्। केही जग्गा पाएर घर बनाएर बसेका उनीहरूले लालपुर्जा पाउने आसमा वर्षौंदेखि यसरी नै दुःख झेलिरहेका छन्।

National/Online Media

0 Comments