Incident Reports

जातीय भेदभाव : न्यायको भिख माग्दै यामकला

2020-08-17

Province 1, Ilam, Mai, Ward 2

इलाम । जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् ।

११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर सोमबार घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई मुद्धा दर्ता गरेकी हुन् । 

विवाहपछि आफ्नो माईती पक्षबाट पटक–पटक विभेद र अपमान सहनुपरेको स्मरण गर्दै यामकला भन्छिनु–‘माइती घरमा सँगै बसेर काजकिरिया गर्ने त कुरै छाडौं, मरेर मुडोजस्तो लडाएर राखिएको बुवाको अनुहार समेत हेर्न दिएनन् । दलितसँग विवाह गरेकै कारण मैले जे सहनु र भोग्नु प¥यो त्यो भावी पुस्ताले भोग्नु नपरास्, उनले भनिन् ‘म यहाँसम्म न्यायको भिख माग्न आएकी हुँ ।’ 

आफूलाई न्याय दिन र पींडितलाई हदैसम्मको कानूनी कारबाहीको मागसहित यामकलाले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय इलामले सोमबार नै दर्ता गरेको प्रहरी उपरिक्षक नवीनराज राईले बताए । घटनाको सत्यतत्य अनुसन्धान गरेर जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने उनले बताए । जिल्ला प्रहरी कार्यालय इलामको दर्ता नं. २२ मा यामकलाको जाहेरी दर्ता गरिएको प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताए ।

अधिकारकर्मीको आपत्ति

यामकला आचार्य (विश्वकर्मा) लाई दलितसँग विवाह गरेको भन्दै परिवारका सदस्यसँग वुवाको काजकिरिया गर्न नदिएकोमा अधिकारकर्मीले आपत्ति जनाएका छन् । आचार्यलाई मृत्युपछि वुवाको अनुहार हेर्न समेत नदिएको र श्रीमानको घरमा एक्लै काजकिरिया गर्न बाध्य बनाइएको प्रति आपत्ति जनाएका हुन् ।

२१ औं शताब्दीमा पनि जातीयताको आधारमा भेदभाव गरेको भन्दै कारबाही माग गर्दै मानव अधिकार मञ्च नेपाल, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा इलाम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् इलाम र उत्पीडित जातीय अधिकार मञ्च इलामले विज्ञप्तीमार्फत अनुरोध गरेका हुन् ।

मानव समाजको कलङ्कको रुपमा रहेको जातीय भेदभाव र छुवाछूतको अपमान भोग्न बाध्य बनाइएकी यामकलाको न्याय तथा दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही होस् भन्दै आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती निकालेका थिए ।

जातीय विभेद गर्ने तीनजना पक्राउ

दलितसँग विवाह गरेका कारण छोरीलाई बुबाको मृत्युपछि अन्तिम संस्कार गर्न नदिने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई नगरपालिका– २ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेकै कारण बुबा चन्द्रप्रसादको अन्तिम संस्कार गर्न नदिएको आरोपमा यामकलाका भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगाललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका टीकाराम र पार्वतीले अन्तिम संस्कार गर्न नदिएको र दंगालले मृत्युपछि यामकला बुबाको मुख हेर्न जाँदा अपमान गरेको आरोप छ । यामकलाको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक नवीनकुमार राईले जानकारी दिए । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाम लगिएको छ । पक्राउ परेका उनीहरूविरुद्ध जातीय छुवाछुतको अभियोगमा अनुसन्धान हुने उनले बताए ।

उनीहरूलाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राईले बताए । १९ साउनमा मृत्यु भएका बुबा चन्द्रप्रसादको अन्तिम संस्कार दलितसँग विवाह गरेकै कारणसँगै बसेर गर्न नदिएको समाचार २२ साउनमा नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि दलित अधिकारकर्मीहरूले यो घटनालाई गम्भीरताका साथ लिएका थिए ।

अधिकारकर्मीकै सक्रियतामा उनीहरूविरुद्ध जाहेरी दर्ता भएको थियो । मृतक माई नगरपालिकाकी उपप्रमुख विष्णुमाया रिमाल आचार्यका जेठाजु हुन् । उपमेयरकै परिवारमा छुवाछुतको घटना भएको भन्दै अधिकारकर्मीले चासोका साथ हेरेका थिए । ‘यो घटना विभेद र अपमानको पराकाष्ठा हो । यस्ता घटनाले हाम्रो समाज कस्तो छ भन्ने देखाउँछ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘जातीय विभेदको घटनाका पीडितले कमै न्याय पाउँछन् । तर, यो घटनाका पीडितले न्याय पाउँछन् भन्ने आशा छ ।’

यामकलाले १२ वर्षअघि माइती घरदेखि पाँच सय मिटर उत्तरका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् । विवाहपछि नजिकै रहेका माइती पक्षले अहिलेसम्म उनलाई बोलाएका छैनन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
National/Online Media

0 Comments