Incident Reports

‘पीडितलाई न्याय खोइ ?’

2017-06-07

Bagmati, Chitawan, Madi

बाँदरमुडे घटना भएको मंगलबार १२ वर्ष पूरा भयो । तर, घटनामा संलग्न आरोपित अझै पक्राउ परेका छैनन् । घाइतेमध्ये केहीले मानसिक रोगको औषधि सेवन गरिरहेका छन् । अपांग भएका राम्रो हिँडडुल गर्न सक्दैनन् । घटनाको एक दशक बित्दासमेत दोषीलाई कारबाही नहुँदा पीडितले न्याय नपाएको दु:खेसो गरेका छन् । २०६२ जेठ २३ गते बाँदरमुडे खोलामा तत्कालीन विद्रोही माओवादीले थापेको विद्युतीय धरापमा यात्रुले खचाखच बस पर्दा ३८ सर्वसाधरणको ज्यान गएको थियो । उपचारका क्रममा थप ४ जनाको मृत्यु भयो । ७२ जना घाइते भए । घटनाका घाइते अहिले पनि साहारामा बाँच्न बाध्य छन् । ‘मैले श्रीमान् र छोरी गुमाएँ,’ ३९ वर्षीया सीता सुवेदीले भनिन्, ‘म बाँचें’, उनको दाहिने खुट्टा ४ ठाउँमा भाँचिएको थियो । ढाडमा चोट लागेकाले सीधा उभिन समस्या हुन्छ । ‘अहिले पनि चोट लागेको ठाउँमा दुख्छ, दुखाइ कम गर्न औषधि खाइरहेकी छु ।’ उनले भनिन्, ‘तर घाइतेको लिस्टमा नाम छैन, पटक–पटक सम्बन्धित निकायमा धाए पनि हुन्छ मात्र भने, पीडितको आवास सुन्ने कोही भएनन् ।’ उनले भनिन्, ‘हाम्रो सिन्दुर पुछ्नेहरू अहिले पनि सडकमा खुल्लम खुला हिँडिरहेका छन्, तिनलाई कारबाही गरेपछि मात्र हामीले न्याय पाएको महसुस हुनेछ ।’ यो माग उनको मात्र होइन मृतकका परिवार र घाइतेको यही माग छ । सरकारले दोषीलाई कारबाही गरेर पीडितलाई न्याय दिनुपर्छ । देवेन्द्रपुरकी ३६ वर्षीया यमकला चुवाई गर्भवती थिइन् । उनी घरबाट वसन्तपुरतर्फ जाँदै गर्दा बस धरापमा पर्‍यो । उनको दाहिने खुट्टा भाँचियो । आँखामा छर्रा लागेकाले राम्रोसँग देख्दिनन् । छोरी अशक्त जन्मिइन् । ‘राहतको नाममा ४० हजार मात्र पाइयो,’ दुखाइ कम गर्न औषधि सेवन गरिरहेकी उनले भनिन्, ‘यति ठूलो पीडा खेपिरहेका छौं तर सरकारले उपेक्षामा गर्छ ।’ पीडितको चाहनाअनुसार घटना भएको दिन मंगलबारबाट उक्त स्थानमा १ सय ८ विराट महायज्ञ सुरु गरिएको छ । सप्ताहका रूपमा सुरु भएको महायज्ञको वाचक पण्डित देव नयन नारायण लामिछाने रहेका छन् । ‘घटना भएको लामो समय भयो,’ बाँदरमुडे घटनापीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले भने, ‘पितृलाई वायु बनाएर उडाउन बाँकी थियो, त्यसैले पितृ उद्धारका लागि घटना भएको ठाउँमै महायज्ञ सुरु गरेका हौं ।’ घटना माओवादीले गराए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल एकपटक मात्र माडी आए । ०६९ सालमा माडी महोत्सव उद्घाटन गर्न आएका दाहाल लगत्तै फर्किएका थिए । उनी आउने दिन पीडितलाई प्रहरी घेरामा राखियो । सरकारले ६० लाखको प्याकेज ल्याउने आश्वासन दिए पनि पीडितले केही पाएनन । ‘माओवादीले घटना बिर्सिए हुन्छ भने झैं गर्छन्,’ उनले भने, ‘चुनावमा भोटबाट जित–हार हुन्छ, माडीमा माओवादीले मेयर जिते भन्दैमा हामीले पीडा बिर्सनु पर्छ भन्ने छैन, माओवादीले हामीलाई कहिल्यै नबिर्सने पीडा दिएको छ ।’ महायज्ञमा सहभागी हुन मृतकका आफन्त, घाइते उपस्थित भएका छन् । घटनास्थलमा घाइते तथा मृतकको नाममा बनाइएको स्तम्भ छेउमा मृतकका तस्बिर राखिएका छन् । ‘दोषीलाई कारबाही हुनुपर्छ, पीडितलाई परिपूरणको व्यवस्था गर्नुपर्छ,’ बाँदरमुडे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले भने, ‘यो भनेको पनि वर्षौं बितिसक्यो, तर सरकारबाट कुनै सुनुवाइ भएको छैन ।’ सरकारले मृतकका परिवारलाई लामो समय लगाएर ५ लाख दियो । उनका अनुसार सत्य निरुपण तथा मेल मिलाप आयोगमा १ सय २२ जनाले उजुरी दिए पनि आयोगलाई काम गर्न नदिँदा न्याय पाउने कुरामा शंका लागेको बताए । कार्यक्रममा माओवादी केन्द्रबाट माडी नगरपालिकाको मयेरमा निर्वाचित ठाकुरप्रसाद ढकाल ढिला गरी महायज्ञमा पुगेका थिए । उनले पीडित सामु नगर समिति, सबै दलका प्रतिनिधिसँग सहमति गरेर घटनास्थलमा नमुना बाटिका निर्माण गर्ने आश्वासन दिए । ‘घटनाको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्षले क्षमा मागिसक्नु भएको छ,’ उनले भने, ‘अब सबै दलसँग सहमति गरेर यो ठाउँमा नमुना बाटिका बनाउनेछौं ।’

0 Comments

Related Reports