Incident Reports

बाँदरमुढे घटनाका पीडित र दाहालबीच तीन बुँदे सहमति

2017-12-03

Bagmati, Chitawan, Madi

चितवनको बाँदरमुढे घटनाका पीडितहरु एकापसमा विभाजित भएका छन्। सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पीडितहरुले सहमति गरी माडीमा स्वागत गरेको भनेर विज्ञप्ति जारी भएलगत्तै अर्को समूहले हालसम्म कुनै सहमति नभएको र यसबारे आफूहरुलाई जानकारी नभएको बताएको छ। २०६२ जेठ २३ मा तत्कालीन माओवादी विद्रोहीले चितवनको माडीस्थित बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ४३ जनाले ज्यान गुमाएका थिए। आफ्ना परिवार गुमाएको पीडालाई १२ वर्षसम्म बेवास्ता गर्ने तर निर्वाचनमा पराजित हुने देखेपछि पार्टीनिकट व्यक्तिलाई बोलाएर हस्ताक्षर गराएको आरोप अर्को पक्षले लगाएको छ। माडी नगरपालिकाको कार्यालयमा केही पीडितलाई मात्र बोलाई सामान्य मिलेमतो गरेको सूचना आएको तर समितिका कुनै पनि पदाधिकारी उक्त कार्यक्रममा उपस्थित नरहेको बाँदरमुढे घटनापीडित समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेको हस्ताक्षरमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘चुनावको मुखमा प्रचण्डले भोटका निम्ति केही व्यक्तिलाई प्रभावमा पारी गरेको सहमतिमा हाम्रो घोर आपत्ति छ।’ तीनबुँदै मुख्य माग अघि सार्दै उनीहरुले माग सम्बोधन नभएसम्म कुनै पनि कुरामा सहमति नहुने अडान राखेका छन्। पीडितको जिउज्यानको सुरक्षा, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन बमोजिम दोषीलाई कारबाही, घटनास्थलमा ऐतिहासिक संग्राहलय, घाइते र मृतक परिवारलाई उचित परिपुरणको व्यवस्थाका लागि सरकारको तर्फबाट ग्यारेन्टी भएमात्र सहमति हुने असन्तुष्ट पक्षले जनाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाँदरमुढे घटनाका पीडितसँग भएको सम्झौतामा पाँच जना पीडितको मात्र हस्ताक्षर छ। सो पत्रमा प्रचण्डले तीनबुँदे सहमति गरेका छन्। सम्झौताको पहिलो बुँदामा मृतकका परिवारमा काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने उल्लेख छ। त्यस्तै, घाइतेको औषधोपचारको व्यवस्था गर्ने र घटनामा ज्यान गुमाएकाको सम्झनामा १० बिघा क्षेत्रमा पार्क बनाउने उल्लेख छ। पार्कलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने पनि भनिएको छ। पीडितहरु पार्टीगत गुटमा विभाजित बाँदरमुढे घटनामा यसअघि एकजुट रहेका पीडितहरु निर्वाचन आउनै लाग्दा प्रचण्डको सहमतिपछि भने विभाजित देखिएका छन्। पहिलो संविधानसभामा नेकपा माओवादी पहिलो पार्टी भएलगत्तै बाबुराम भट्टराईले सो स्थानमा सहिद स्तम्भको डिजाइन समेत निर्माण गरेका थिए। तर पीडितहरुले एकै स्वरमा दोषीमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि उक्त कार्य रोकिएको छ। तर अहिले आएर पीडितहरु नै दुई धुव्रमा विभाजित भएका हुन्। प्रचण्डसँगले सम्झौता गरेको खबरबाट असन्तुष्ट समितिका उपाध्यक्ष कृष्ण अधिकारीले कुनै र कसैसँग समितिले सहमति र हस्ताक्षर नगरेको बताए। ‘प्रचण्ड पीडकका नेतृत्वकर्ता हुन्। उनीसँग कसरी र केका आधारमा सहमति गर्ने? ’ अधिकारीले भने, ‘विभिन्न समयमा सरकारमा हुँदा यहाँ आएर माफीसमेत नमागेका उनले निर्वाचनको मुखमा गरेको कुरामा विश्वास गर्न सकिन्न।’ प्रचण्ड सरकारको प्रतिनिधि वा मानवअधिकारवादी जस्ता संस्थाका जिम्मेवार व्यक्ति पनि नभएकाले उनीसँग गरिएको सहमति जालझेल मात्र भएको अधिकारीको टिप्पणी छ। बाँदरमुढेमा भएको सो दुर्घटना जनयुद्धकै ठूलो गल्ती भएको भन्दै प्रचण्डले माफी माग्दै आएका छन्। सोमबार दाहाललाई माडीमा स्वागत गर्नेहरु पीडितहरुभन्दा पनि जनमोर्चा, एमाले र माओवादी कार्यकर्ता भएको आरोप अर्को पक्षले लगाएको छ। उक्त सहमतिमा गएका पीडितहरु नेपाली कांग्रेस र राप्रपा लगायत दलका कार्यकर्ता नभएको पनि असन्तुष्ट पक्षले जनाएको छ।

0 Comments

Related Reports