Incident Reports

बैंकक जान लागेका पूर्वमाओवादी लडाकु विष्टलाई सरकारले एयरपोर्टमा रोक्यो

2018-08-26

Bagmati, Kathmandu, Kathmandu

बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका एक पूर्वमाओवादी लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको छ। शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका काभ्रेका युवा लेनिन विष्टलाई विभागले रोकेको हो। विष्टका अनुसार सुरूमा विभागले राहदानीमा छाप लगाएर पठाइसकेको थियो। पुनः बोलाएर पासपोर्ट खोसेर प्रस्थान रोकेको हो। विष्ट बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। पासपोर्ट र टिकट लिएर अध्यागमनको डेक्समा पुगे। उनको पासपोर्ट जाँचेर अध्यागमनका कर्मचारीले ‘डिपार्टटेड’ अर्थात् नेपालबाट बाहिर गएको भन्ने छाप लगाइदिए। ‘पाँच पाइला हिँडेपछि बोलाए,’ लेनिनले भने, ‘तपाईंको केही कागजात बुझ्नु छ भनी पासपोर्ट मागे र मलाई एक घण्टा कुराएर प्रस्थान रद्ध गरेको छाप लगाए।’ आफ्नो उडान रद्ध गरिएकोबारे लेनिनले जानकारी मागेपछि कर्मचारीले ‘माथिको आदेश’ भनेका थिए। अध्यागमन विभागले लेनिनलाई शुक्रबारै ‘अस्थायी कालोसूची’मा राखेको बतायो। ‘कालोसूची पनि अस्थायी त नहुनुपर्ने हो,’ लेनिनले भने, ‘मेरो पृष्ठभूमि केही उल्लेख पनि गरिएन।’ लेनिनले अध्यागमनको भनाइ चित्त नबुझेपछि लिखित कारण मागे। अध्यागमन विभागले लिखित दिँदा कारण फेर्‍यो। चिठीमा जुन कार्यक्रमका लागि भनी जान लागेको त्यसमा नेपाल सरकारको सिफारिस वा स्वीकृति नदेखिएकाले प्रस्थान अनुमति नदिएको दाबी गरिएको छ। चिठीमा भनिएको छ, ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएकाले प्रस्थान अनुमति नदिएको।’ नेपाली नागरिक विदेश घुम्न वा कुनै कार्यक्रममा भाग लिन जाँदा सरकारको कुनै निकायको स्वीकृति वा सिफारिस लिनुपर्ने कुनै कानुनी व्यवस्था छैन। ‘म एउटा सामाजिक अभियनता हुँ, मेरो कुनै पनि किसिमको आपराधिक पृष्ठभूमि थिएन, फेरि म कुनै संस्थाको कार्यक्रममा जान लाग्दा नेपाल सरकारको सिफारिस पनि चाहिने थिएन,’ उनले भने, ‘सरकारले मलाई अन्यायपूर्वक विदेश जान रोक लगायो, यो मेरो मानव अधिकार उल्लंघन हो।’ लेनिनलाई ‘युथ इन कन्फ्लिट : हेलिङ एन्ड पिस-विल्डिङ थ्रो सोसिएल इङ्गेजमेन्ट’ विषयक कार्यक्रममा भाग लिन जुलाई २७ मा निमन्त्रणा आएको थियो। बैंककस्थित ‘एसिएन रिसोर्स फाउन्डेसन’ले भिसा र खाने बस्ने व्यवस्थासहित आमन्त्रण गरेपछि नेपालबाट लेनिन र अर्का एक जना सो कार्यक्रममा भाग लिन हिँडेका थिए। अध्यागमन विभागले भने लेनिनलाई किन रोकेको भन्ने जानकारी नभएको बताएको छ। ‘मलाई अहिलेसम्म जानकारी छैन,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले सेतोपाटीसँग भने। पौडेलका अनुसार विमानस्थलमा कसलाई प्रस्थान दिने वा फर्काउने भनी अधिकारसम्पन्न कर्मचारीहरू छन्। त्यहाँ सह-सचिवकै नेतृत्वमा कर्मचारी छन्। ‘म कहाँ रिपोर्ट आइसकेको छैन,’ पौडेलले भने। लेनिनसँगै हिँडेकी नम्रिता सुवेदीले भने प्रस्थान पाइन्। उनी माओवादीद्वारा विस्थापित परिवारकी सदस्य हुन्। लेनिन पूर्वमाओवादी लडाकु हुन्। ११ वर्षको छँदा पाँच कक्षा पढ्दा-पढ्दै माओवादी युद्वमा होमिएका लेनिन बाल सेना हुन्। २०५९ सालमा उनी माओवादी बाल सेना बनेका थिए। शान्ति प्रक्रिया सुरू भएपछि उनी शिविरमा राखिए। पछि संयुक्त राष्ट्रसंघको मिसन अनमिनले प्रमाणिकरण गर्दा उनी बाल सेना भनेर शिविरबाट फिर्ता पठाइएका थिए। त्यसयता उनी युद्धमा बालबालिकाको प्रयोग नहोस् भनी अभियान चलाइरहेका छन्। उनी युद्धमा बालबालिका प्रयोग गर्न नपाइने कानुन आओस् र पहिले प्रयोग भएका बालबालिको व्यवस्थापन राज्यले गरोस् भनी विभिन्न मञ्चहरूमा बोलिरहेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा समेत त्यस्तो विषय उठाउन सक्ने आशंकाले गृह मन्त्रालयले नियोजितै आफूलाई रोकेको उनले बताए। जबकी यसपालि बैंककमा हुने कार्यक्रम युवाहरूको सामाजिक दायित्वमा केन्द्रित थियो र बाल सेनासँग यसको कुनै सरोकार थिएन। लेनिनका गतिविधिमा गृह मन्त्रालयले चासो राख्ने गरेको थियो। बैंककको कार्यक्रम तय भएपछि पनि लेनिनलाई गृह मन्त्री रामबहादुर थापाका सल्लाहकार सूर्य सुवेदीले सो कार्यक्रमा उनले बोल्ने विषयवस्तुबारे मन्त्रालायमा पठाउन खबर गरेका थिए। ‘बैंककमा दिने प्रस्तुति मागिएको थियो, मैले साथीमार्फत पठाएको थिएँ,’ लेनिनले भने। लेनिनका अनुसार सुवेदीले लेनिनलाई ‘जहाँ पनि रोक्न सक्ने’ चेतावनी दिएका थिए। ‘मैले चाहे भने एयरपोर्टमै रोक्छु,’ सुवेदीले लेनिनलाई खबर पठाएका थिए। ‘मलाई रोक्न जे पनि गर्नसक्ने धम्की गृहबाट आएको हुनाले म आफू सुरक्षित महसुस गरिरहेको छैन,’ लेनिनले भने। ‘पहिले माओवादीले नै अधिकारका लागि बन्दुक बोक्नुपर्छ भनेर सिकाए,’ उनले भने, ‘अहिले आवाज उठाउँदा दु:ख दिरा’छन्।’ आफू रोकिएको र अध्यागमनले दिएको कागजात लिएर राष्ट्रिय मानवअधिकार आयोग र सर्वोच्च अदालत जाने लेनिनले बताए। ‘नेपालको कुनै पनि नागरिक स्वतन्त्र तरिकाले देश-विदेश हिँड्न पाउनुपर्छ, माओवादीसँग जोडिएको युद्धको बारेमै कुरा गर्न जाँदा पनि सरकार मलाई रोक्न पाउँदैन,’ उनले भने।

0 Comments

Related Reports