Incident Reports

अग्नि सापकोटाविरुद्ध सर्वोच्चले मगायो सत्य आयोगमा परेको उजुरी

2019-07-11

द्वन्द्वकालको समयमा मारिएका काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका पूर्वमन्त्री अग्नि सापकोटाविरूद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरी मगाउन असार २५ गते सर्वोच्च अदालतले आदेश दिएको छ ।

लामा हत्याको घटनामा सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त घटनाको उजुरी लामाकी पत्नीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा दिएको भए उक्त निवेदनको प्रतिलिपि मगाउन आदेश दिएको हो ।

उनको हत्यामा संलग्नताको आरोपमा माओवादी नेता सापकोटाविरूद्ध लामाकी पत्नी पूर्णीमाया लामाले २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दा पुनरावेदन हुँदै सर्वोच्चसम्म आइपुगेको हो । सर्वोच्च अदालतमा यसअघि २०७२ चैत १२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासले टुंगो लगाउनुपर्ने आदेश दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आयोगमा निवेदन दिएको भए त्यसको प्रतिलिपी मगाउन असार २५ गते सर्वोच्चले आदेश दिएको हो ।

२०६२ वैशाख १६ गते तत्कालिन विद्रोही माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव भेटिएको थियो ।

इन्सेकको अभिलेखमा अर्जुन लामा


विमला पौडेल

0 Comments

Related Reports