Incident Reports

दश वर्षअघि मारिएका पाँच युवाको अवशेष हस्तान्तरण, शवोत्खनन् प्रतिवेदन सार्वजनिक l

2014-07-23

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timilsina जनकपुर नगरपालिका-४ धनुषाबाट सुरक्षाकर्मीले ०६० असोज २१ गते गिरफ्तार गरी मारिएका तथा गएको चारवर्षदेखि त्रिवि शिक्षण अस्पतालको शव गृहमा राखिएका जनकपुरका पाँच जना युवाको अवशेष साउन ७ गते सरकारले परिवारजनलाई हस्तान्तरण गरेको छ । माओवादी द्वन्द्वका समयमा प्रहरीले उनीहरूको हत्या गरी लास खोला किनारको झाडीमा गाडेकोमा उत्खनन् गरी डीएनए परीक्षणका लागि फिनल्याण्ड पठाइएकोमा डीएनए प्रमाणित भएपछि अन्तिम संस्कारका लागि आफन्तलाई नेपाल सरकारका तर्फबाट नेपाल प्रहरीले राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा जिम्मा लगाएको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए । झण्डै एक महिनाअघि मात्रै उनीहरूको डीएनए परीक्षण प्रतिवेदन आएको थियो । फिनल्याण्डको हेलसिन्की विश्वविद्यालयले ती युवाहरूको हड्डी र उनीहरूका आमाबाबुको रगत जाँच गरी डीएनए प्रतिवेदन पठाएको हो । उत्खनन गरिएका मानव अवशेषको परीक्षण त्रिविवि महाराजगन्ज क्याम्पस, फरेन्सिक विभागमा गरिएको थियो भने मानव अवशेषको डिएनए परीक्षण हेलन्सिकी, फिनल्यान्डमा भएको थियो । धनुषा जिल्लाको तल्लो गोदारमा ०६७ भदौ २७ देखि असोज २ गतेसम्म उत्खनन गरिएका शवको पहिचानका लागि मारिएका व्यक्तिहरूका बाबु, आमासहित १९ जना आफन्तजनको रगतको नमुना सङ्कलन गरिएको थियो । सो क्रममा ६४ ओटा ट्रेन्च, नौओटा एक्स्टेन्सन र चारओटा ब्लक खनेर आशङ्कित स्थानमा उत्खनन कार्य भएको थियो । डीएनए परीक्षणबाट शवका अवशेषहरू तिनै युवाको भएको पुष्टि भएपछि आयोगको नेतृत्वमा जनकपुरमा पत्रकार सम्मेलन गर्दै साँस्कृतिक परम्परा अनुसार अन्तिम संस्कार गर्न मृतकका आफन्तलाई शवका अवशेषहरू जिम्मा लगाइएको कामु सचिव भट्टराईले जानकारी दिएका छन् । धनुषा जिल्ला जनकपुर नगरपालिका-१० का २४ वर्षीय सञ्जीवकुमार कर्ण, सोही ठाउँका २३ वर्षीय दुर्गेश लाल, सोही नपा-४ का २१ वर्षीय जितेन्द्र झा, कुर्था गाविस-१ का १७ वर्षीय प्रमोदनारायण मण्डल र दुहवी गाविस-७ का १७ वर्षीय शैलेन्द्र यादव समेत ५ जनालाई ०६० असोज २१ गते जनकपुर नगरपालिका-४ बाट सुरक्षाकर्मीले पक्राऊ गरी बेपत्ता पारिएको भनि आयोगमा उजूरी दर्ता भएको आयोगले जनाएको छ । आयोगले साउन ७ गते जारी गरेको धनुषा जिल्लाको तल्लो गोदारमा गरिएको शवोत्खनन्को संक्षिप्त प्रतिवेदनमा शव उत्खनन् गरिएका स्थानमा गोली र गोलीका खोकाहरू भेटिनुले मारिएका व्यक्तिहरूलाई शव गाडिएको स्थलमा नै गोली प्रहार गरी मारेर गाडिएको पुष्टि भएको जनाइएको छ । त्यसैगरी प्रतिवेदनमा भनिएको छ- 'टाउकोसहित फेला परेका चार ओटा मानव अवशेषहरूमा आँखामा पट्टि बाँधिएको (Blindfold) गरिएको पाइएकोले ती सबै व्यक्तिहरूलाई मनसायपूर्वक नै हत्या गरिएको कुरा स्पष्ट हुन आई गम्भीर मानवअधिकार हनन्को अवस्था रहेको पुष्टि हुन आएको छ र यस्तो कार्य मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन बमोजिम मानवता विरूद्धको जघन्य अपराध अन्तर्गत पर्ने देखिन्छ ।' प्रहार गरिएका गोलीका खोकाहरूको परीक्षणबाट एसएलआर हतियारको प्रयोग भएको पुष्टि भएको छ, र सशस्त्र द्वन्द्वको क्रममा त्यसबखत त्यस्तो हतियार नेपाल प्रहरीले नभई नेपाली सेनाको प्रयोगमा रहेको स्पष्ट भएको हुँदा उक्त घटनामा तत्कालीन शाही नेपाली सेनाको प्रत्यक्ष संलग्नता देखिन आएको पनि आयोगको निष्कर्ष रहेको छ । 'यी तथ्यहरूले शवोत्खनन् हुनुअघि नै आयोगलाई प्राप्त प्रमाणहरूको विश्लेषण गरी यस आयोगले नेपाल सरकारलाई ०६४ माघ १५ गते गरेको सिफारिशको थप पुष्टि गरेको हुँदा उक्त घटनामा संलग्न दोषीहरूलाई अविलम्ब फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने देखिन्छ ।'-आयोगले भनेको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports