Incident Reports

अधिकारीको अन्येष्टिको वातावरण बनाऊः आयोग

2014-12-22

Bagmati, Kathmandu, Kathmandu

Ramesh Prasad Timalsina राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनका क्रममा निधन भएका गोरखा फुजेलका द्वन्द्वपीडित नन्दप्रसाद अधिकारीको तत्काल अन्तेष्टि र काजक्रिया गर्ने वातावरण बनाउन सरकारलाई भनेको छ । आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी घटनाका दोषीहरूलाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै वीर अस्पतालमा नै अनशनमा रहेका अधिकारीको ०७१ असोज ६ गते निधन भएको थियो । उनका छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको र सो घटनापछि उनको परिवार आन्तरिकरूपमा विस्थापित भई न्याय प्राप्तिका लागि लामो समयसम्म सङ्र्घषरत् रहेकै अवस्थामा नन्दप्रसादको मृत्यु हुनु र हालसम्म सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार हुन नसक्नु मानव अधिकारको दृष्टिकोणले दुःखद् र दुभाग्यपूर्ण अवस्था रहेको आयोगले जनाएको छ । सरकारले ०७१ असोज ३१ गते अधिकारीकी पत्नी गङ्गामाया अधिकारीसमक्ष उनको पतिको ससम्मान दाहसंस्कार गर्ने र छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई अविलम्ब कारबाही गर्नेलगायतका पाँचबुँदे लिखित प्रतिबद्धता गरेको थियो । प्रतिबद्धतापछि गंगामायाले झोलकुरा मात्रै खाने शर्तमा अनशन तोडेकी थिइन् । आयोगले नेपालको अन्तरिम संविधान, २०६३' को धारा २३ को धर्मसम्बन्धी हक र 'नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि'को धारा २७ मा उल्लिखित धार्मिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रावधानअनुरूप नन्दप्रसादको धार्मिक परम्पराअनुसार दाहसंस्कारका लागि आवश्यक वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता मोहना अन्सारीले जानकारी दिएकी छन् । आयोगले सो घटनाको दोषीमाथि कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई ०६४ चैत २३ गते सिफारिस गरेको र सो हत्या प्रकरणसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिँदै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ०७० साउन २८ गते पत्राचार गरेको पनि स्मरण गराएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports