Incident Reports

न्यायको लडाइँ छाडेकी छैनः गङ्गामाया

2015-03-09

Bagmati, Kathmandu, Kathmandu, Ward 22

न्याय प्राप्तिका लागि लामो समयदेखि वीर अस्पतालको क्याबिन रहेकी गोरखा फुजेल-­७ की ५४ वर्षीया गङ्गमाया अधिकारीले न्यायको लडाइँ छाडिनसकेको बताएकी छन् । नारी दिवसको अवसर पारेर पीडित अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पुगेका मानवअधिकारकर्मीको टोलीसँग फागुन २४ गते कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् । भेटघाट टोलीका एक सदस्य तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष सुबोधराज प्याकुरेलका अनुसार अधिकारकर्मीहरूसँग कुराकानी गर्दै अधिकारीले न्याय नपाएसम्म आफूले कसैको पनि कुरो नसुन्ने बरु न्यायका लागि पति नन्दप्रसाद झै मृत्युवरण गर्न तयार रहेको बताएकी छन् । भेटघाटमा अधिकारीले भनिन् "न्याय बाहेक केही चाहिँदैन, मेरो लोग्ने र छोराले न्याय पाउन्, तपाईँहरू न्याय दिने कुरामा लाग्नुस्"। यसैबीच इन्सेक अध्यक्ष प्याकुरेलले एक दशक पुरानो घटनामाथि अनुसन्धान गरी दोषीलाई कानुनी कठघरमा उभ्याउन आलटाल गर्नु राज्यको गैरजिम्मेवारी भएको बताए । शङ्काको भरमा कुनै पनि राजनीतिक दलले कसैमाथि पनि अन्याय गर्न नपाउने भन्दै अध्यक्ष प्याकुरेलले गल्ती गरेका राजनीतिक दलहरूले आफ्ना गल्ती स्वीकार गनुपर्ने बताए । न्यायको प्राप्तिको माग गर्दै मृत्युवरण गरेका नन्दप्रसाद अधिकारीको शवको हालसम्म सद्गत हुन नसक्नु गम्भीर विषय भएको बताउँदै अध्यक्ष प्याकुरेलले मृतक अधिकारीको शवको सद्गतका लागि सरकारले आवश्यक पहल गनुपर्ने बताए । अध्यक्ष प्याकुरेलले भने "गङ्गामायाको मागलाई राज्यले एकमुष्ट सम्बोधन गनुपर्दछ । पीडितलाई दिने राहत र सुविधालाई न्यायसँग सौदावाजी गर्न उसले पाउँदैन ।" छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गङ्गामाया र उनका पति नन्दप्रसाद अधिकारी दश वर्षेखि चरणगतरूपमा अनसनरत थिए । नन्दप्रसाद अधिकारीको आमरण अनसनकै क्रममा ०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । अनसन तोडे पनि हाल गङ्गामाया वीर अस्पतालमा उपचारकै क्रममा रहेकी छन् । उनलाई हात खुट्टा दुख्ने समस्या देखिएको छ । चिकित्सकहरूले उनको फिजियोथेपारी गरिराखेका छन् । तर "न्याय नपाई आफू कसैले भनेको नमान्ने बरु पति नन्दप्रसाद झैँ आफू पनि यही मर्ने" गङ्गामायाको भनाइ छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports