Incident Reports

राजकोट हत्याकाण्डको १२ वर्ष द्वन्द्वपीडितले भने-'छिटो न्याय देऊ’

2015-08-02

Lumbini, Dang, Tulsipur

देशको व्यवस्था फेरियो, नेतृत्व पनि फेरिए तर १२ वर्षबित्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै दाङ कौवाघारी सामूहिक हत्या काण्डका पीडितहरूले छिटो न्याय दिन सरकारसँग माग गरेका छन् । दाउरा लिन स्थानीय जङ्गल गएका दाङ गोल्टाकुरी-८ कौवाघारीका ११ सहित १२ जना सर्वसाधारणलाई माओवादीको आरोपमा ०५९ साल साउन १६ गते तत्कालीन शाही नेपाली सेनाले राजकोट जंगलमा सामूहिक हत्या गरेको थियो । ०७२ साउन १७ गते गोल्टाकुरीमा आयोजित १२ औँ स्मृतिसभामा बोल्दै द्वन्द्वपीडितहरुले भने, 'सरकार हामीलाई छिटो न्याय देऊ ।’ निहत्था व्यक्तिको हत्या गर्दा राज्यले पनि अझै आतङ्ककारीकै रूपमा व्यवहार गरेको आफ्ना तीन छोरा गुमाएकी ५५ वर्षीय बिजुली नेपालीको गुनासो छ । पेट पाल्नका लागि दाउरा लिन गएकाहरूलाई मारिएको जान्दा जान्दै पनि राज्यले राजकोट सामूहिक हत्याकाण्डको कुनै छानबिन नगरेकोमा पीडितहरूले गुनासो गरे । हाम्रा छोराहरू माओवादी थिएनन् भक्कानिँदै बिजुली नेपालीले भनिन्, सर्वसाधारण मार्नेलाई पनि छुट हुन्छ - छोराहरू मारिँदा तिनका थुप्रै सन्तानको भविष्य अन्धकार भएको उल्लेख गर्दै पीडितहरुले सरकारले निःशुल्क शिक्षा, रोजगारको व्यवस्था गर्नुपर्ने माग गरे । स्मृति सभामा द्वन्द्वपीडितहरु लक्ष्मी नेपाली, सुशील नेपाली, सीता नेपाली, विजुली नेपालीलगायत १२ जनालाई सम्मान गरिएको थियो । कौवाघारीका सर्वसाधारण भूपाल नेपाली, मंगल नेपाली, रमेश नेपाली 'ए’, रमेश नेपालीँबी’, जोगबहादुर नेपाली, नेवबहादुर सार्की, रामप्रसाद नेपाली, रामलाल नेपाली, सोमराज नेपाली, रेशम नेपाली, देविराम नेपाली र फूलबारीका खडकबहादुर विकको राजकोट जंगलमा सेनाले सामूहिक हत्या गरेको थियो ।

0 Comments

Related Reports