Incident Reports

पत्रकार डेकेन्द्र हत्या प्रकरण : पुनरावेदनबाट जिल्लाको फैसला सदर

2015-09-18

Karnali, Dailekh, Narayan

एघार वर्षअघि माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ । यसअघि जिल्ला अदालत दैलेखले अभियुक्तहरुलाई अधिकतम दुई वर्षसम्म कैद सजाय सुनाउने फैसलालाई नै पुनरावेदन अदालतले सदर गरिदिएको हो । दुवैपक्षले पुनरावेदन गरेको यो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय रमेशराज भण्डारी र राजेन्द्र पोखरेलको संयुक्त इजलासले यसअघि जिल्ला अदालत दैलेखले गरको फैसलालाई सदर गरेको हो । २०७१ वर्ष मंसिर २१ गते जिल्ला अदालत दैलेखले डेकेन्द्रको हत्यामा संलग्न रहेको ठहर गर्दै पाँच जना माओवादी कार्यकर्तालाई कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलामा अभियुक्तहरु हरिलाल पुन, निरकबहादुर घर्ती र जयबहादुर शाहीलाई दुई–दुई वर्ष कैद सजाय तोकिएको थियो । यस्तै माओवादी कार्यकर्ताहरु लक्षिराम घर्तीलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय हुने जिल्ला अदालतले फैसला गरेको थियो । सोही फैसलालाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । उनीहरु सबैलाई सर्वश्वसहित जन्मकैदको माग गरिएको थियो । अहिले पनि घटनाका मुख्य आरोपीहरु फरार नै रहेका छन् । दैलेखका केशव खड्का, बमबहादुर खड्का, मुक्ति भन्ने बमबहादुर खड्का र बाँकेका भक्तिराम लामिछाने हालसम्म फरार नै रहेका छन् । उनीहरूको हकमा भने सम्पत्ती रोक्का गर्दै मुद्दा मुल्तबीमा राखिएको छ । जिल्ला अदालतले कैद सजायको फैसला गरेको भएपनि पुर्पक्षका क्रममा थुनामा रहेका बेला वीरबहादुर केसी र लक्षिराम घर्तीले उनीहरूलाई तोकिएको कैद भुक्तान गरिसकेकाले जिल्ला अदालतकै फैसला अनुसार उनीहरू थुनामुक्त भएका थिए । दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती पनि कैद भुक्तान गरेर छुटिसकेका छन् । तत्कालिन विद्रोही नेकपा (माओवादी) का कार्यकर्ताहरुले २०६१ साउन २७ गते दैलेखको द्धारी गाविस–१ मा पत्रकार थापाको हत्या गरेका थिए । हत्या भएको चार वर्षपछि मात्र पत्रकार थापाको शव भेटिएको थियो । सदरमुकाममा माओवादीले खानेपानीको आपूर्ती वन्द गरेपछि त्यसको समाधानका लागि सक्रिय बनेका पत्रकार थापालाई माओवादीले अपहरण गरेर हत्या गरेका थिए । हत्या भएको ४ वर्षपछि २०६५ भदौ १२ गते डेकेन्द्रकी पत्नी लक्ष्मीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । पुनरावेदन अदालत सुर्खेतको आदेशपछि २०६९ पुसमा प्रहरीले पाँच जना अभियुक्तलाई पक्राउ गरेको थियो ।

0 Comments

Related Reports